माटोमुनि गाडिएको अवस्थामा महिला यादवको शव भेटियो

माटोमुनि गाडिएको अवस्थामा महिला यादवको शव भेटियो

लहान, ९ भदौ । माटोमुनि गाडिएको अवस्थामा महिला यादवको शव भेटियो दुई साताअघि घरबाटै अपहृत सिरहाको गोलबजार नगरपालिका–१० की एकल महिला कारीदेवी यादवको शव आज माटोमुनि गाडिएको अवस्थामा फेला परेको छ ।

सिरहाको नरहा गाउँपालिका–१ स्थित बाँसघारीमा गाडिएको अवस्थामा ५५ वर्षीय यादवको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

 

शव कुहिएर गन्हाउन थालेपछि स्थानीय बासिन्दाले बाँसघारीमा शव गाडिएको हुनसक्ने भन्दै प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय विष्णुपुर र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले शव गाडिएको अवस्थामा निकालेको थियो ।

 

प्रहरीले शव निकालेपछि उक्त शव अपहृत कारीदेवीकै भएको निजका आफन्तजनले बताएका छन् ।

शव परीक्षणका लागि सिरहा जिल्ला अस्पताल पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खरेलले बताउनुभयो ।

गत साउन २५ गते आफ्नै घरबाट अपरिचित दुई जनाले तपाइँको भतिजा बिरामी रहेको भन्दै कारीदेवीलाई अपहरण गरी लगेको स्थानीय बासिन्दाले बताएका छन् ।

 

जेठाजुसँग चल्दै आएको घरजग्गा अंशको विषयमा कारीदेवीको विवाद चल्दै आएकोे र सोही विवादका कारण उनको अपहरण भएको हुनसक्ने भन्दै स्थानीय बासिन्दाले तीन दिनअघि यादवको दुई जना आफन्तलाई नियन्त्रणमा लिई प्रहरीमा बुझाएका थिए ।

 

यसैबीच आक्रोशित स्थानीय बासिन्दाले अपहृत यादवको खोजतलासमा प्रहरीले चासो नदिँदा अपहरणकारीले हत्या गरी गाडेको भन्दै आज पूर्व–पश्चिम राजमार्गअन्तर्गत चोहर्वा सडक खण्ड एक घण्टा अवरुद्ध गरेका छन् ।

स्थानीय बासिन्दाको अवरोधका कारण पूर्व र पश्चिमबाट आएका सवारी साधनहरु बाटोमै अलपत्र परेका थिए ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment