धान झुल्ने फाँट मरुभूमि बनेपछि

धान झुल्ने फाँट मरुभूमि बनेपछि

नेपालगन्ज —  धान झुल्ने फाँट मरुभूमि बनेपछि कुनै बेला बाह्रैमास खेतीपाती हुने खजुरा गाउँपालिका ७, सोनपुरस्थित फाँटमा मंगलबार बिहान धूवाँ उडिरहेको थियो ।

बालुवा उडेर कुइरीमण्डल थियो । त्यहाँ सिजन अनुसारका बाली देख्न पाइँदैन । खेतमा इँटा उद्योग खोलिएका छन् ।

इँटा बनाउन प्रयोग हुने बालुवा उडेर आसपासका खेतका गह्रा पुरिन थालेका छन् ।

लहलह धान झुल्ने फाँट अहिले मरभूमिमा बन्दै छन् ।
यहाँको जानकी गाउँपालिकामा पनि यस्तै समस्या छ । उब्जाउ खेतमा इँटा उद्योग सञ्चालन गरिएका छन् ।

खेतमा उद्योग सञ्चालन गर्ने होडले बाँकेका ८ वटै स्थानीय तहमा खेतीयोग्य जमिन घटिरहेको छ ।

कुन स्थानमा उद्योग सञ्चालन गर्ने भन्ने स्पष्ट सरकारी नीति छैन । त्यसैले जहाँ खाली जग्गा भेटियो, त्यहीं स्थापना गरिन्छ ।

त्यसैले यहाँका खेतमा धान, गहुँको साटो इँटा पाक्न थालेका हुन् । मनपरी उद्योग स्थापना गर्ने क्रम जारी छ ।

‘खेतीयोग्य जमिनमा उद्योग सञ्चालन गर्न पाइँदैन भन्ने नीति छैन ।

त्यसैले खेतमा उद्योग सञ्चालन भएको देखिन्छ,’ घरेलु तथा साना उद्योग कार्यालयअन्तर्गत उद्योग दर्ता शाखाका प्रमुख ऋषिराम पोखरेलले भने ।

सरकारले तोकेको मापदण्ड पुर्‍याएर उद्योग सञ्चालनका लागि अनुमति दिने गरेको उनले बताए ।

माटो र ठूलो क्षेत्रफल आवश्यक भएकाले इँटा उद्योगीको रोजाइमा खेतीयोग्य जमिन पर्ने गरेको उनले बताए ।

उनका अनुसार जिल्लामा ६० उद्योग छन् ।

एउटा उद्योगलाइ कम्तीमा ४ सय वर्गमिटर जमिन आवश्यक पर्छ । इँटा बनाउन खेतकै माटो प्रयोग हुन्छ ।

कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार जिल्लामा ५७ हजार २ सय ५२ हेक्टर खेतीयोग्य जमिन छ । त्यसमध्ये ५२ हजार ८ सय ३८ हेक्टरमा खेती हुँदै आएको छ ।

इँटा उद्योग सञ्चालन अनुमति लिँदा ४ सय वर्गमिटर जग्गा देखाउनुपर्छ । त्यस्तै घनाबस्ती, धार्मिक स्थल,

विद्यालय र सार्वजनिक स्थलबाट ५ सय मिटर टाढा उद्योग राख्नुपर्ने नीति छ । त्यसबाहेक उद्योग सञ्चालनका लागि स्पष्ट नीति छैन ।

‘खेतीयोग्य जग्गामा इँटा उद्योग सञ्चालन हुने प्रमुख कारण नीति नै हो ।

सञ्चालकले किसानका जग्गा लिजमा लिएर उद्योग खोल्ने गरेको पाइएको छ,’ प्रमुख पोखरेलले भने,

‘खेती गर्नेबाहेक उद्योगका लागि जग्गा पनि छैन ।’

बाँकेमा हाल ५ दर्जन इँटा उद्योग घरेलुको अनुमति लिएर सञ्चालनमा छन् ।

त्यसबाहेक कतिपय उद्योग अनुमति नै नलिएर चलिरहेका छन् ।

त्यस्तै किसानले उत्पादन गरेको कृषि वस्तुको राम्रो मूल्य नपाएपछि पनि खेतीयोग्य जमिन मासिँदै गएको हो ।

खेतीबाट आउने आम्दानीभन्दा बढी मूल्य इँटा उद्योग सञ्चालकले दिने गरेका छन् ।

उद्योगका लागि जग्गा लिजमा दिँदा परिश्रम पनि गर्न नपर्ने तर राम्रो रकम पाउने गरेको किसान बताउँछन् ।

उत्पादन गरेको अन्नबाली सस्तोमा बिक्री गर्नुपर्छ ।

जग्गा भाडामा दिने किसानले वार्षिक प्रतिकठ्ठा करिब ४ हजार पाउने गरेका छन् ।

खेतीबाट त्यति आम्दानी गर्न नसक्ने उनीहरूको अनुभव छ ।

बीउ, सिँचाइ, मल निकै महँगो पर्ने गरेका कारण किसानहरूले श्रमअनुसारको पारिश्रमिक पाउन नसकेका हुन् ।

‘एक क्विन्टल धानको मूल्य बढीमा २ हजार पाइन्छ ।

त्यसबाट १ बोरा मल पनि किन्न सकिँदैन,’ खजुरा गाउँपालिका सोनपुरका किसान रामदिन यादवले भने, ‘त्यसैले किसानले खेत भाडामा दिन थालेका हुन् ।’

इँटा उद्योगका कारण धूवाँको प्रदूषण पनि बढेको छ । गाउँ/सहर नजिकै ठूला इँटा उद्योग सञ्चालनमा छन् । चारैतिर धूवाँको मुस्लो देखिन्छ । इँटा उद्योगमा इँटा पोल्दा आसपासका खेतको चिस्यान घटेको छ । बालुवाका कारण आसपासका खेतमा उब्जनी घटेको छ ।

सीमासँगै जोडिएको भारतीय सरकारले इँटा उद्योग चलाउन कडाइ गरेपछि नेपालमा आएर सञ्चालन गर्न थालेका छन् ।

कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सागर ढकालका अनुसार इँटा उद्योगबाट निस्किने सल्फरडाइ अक्साइड ग्यासका कारण बालीनालीमा असर पुग्ने गरेको छ ।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment