दुप्चेश्वर दुर्घटनाका मृतकको आज सामूहिक दाहसंस्कार गरिने

दुप्चेश्वर दुर्घटनाका मृतकको आज सामूहिक दाहसंस्कार गरिने

पौष १, बेत्रावती ।दुप्चेश्वर दुर्घटनाका मृतकको आज सामूहिक दाहसंस्कार गरिने नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङडाँडामा शुक्रबार भएको मिनीट्रक दुर्घटनामा ज्यान गुमाएकाको शव पहिचान गरी आफन्तलाई जिम्मा लगाइएको छ ।

दुर्घटनामा ज्यान गुमाएकाहरुको शव शनिबार घटनास्थलमा नै चिकित्सकको टोलीले परीक्षण गरेपश्चात आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।

दुर्घटनामा शिखरबेँसीका १८ वर्षीय रितेश पण्डितको शनिबार नै अन्तिम संस्कार गरे पनि बाँकी १९ जनाको बौद्धधर्म परम्परानुसार आइतबार सामूहिक अन्तिम संस्कार गर्न लागिएको दुप्चेश्वर गाँउपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिए ।

दुर्घटनामा एकै परिवारका पाँच जना परेका सुने लामा उनको भाइ लक्ष्मणको मृत्यु भएको छ भने तीन गम्भीर घाइते भएर काठमाडौँमा उपचारारत् छन् । यसैगरी, टक्ले तामाङ उनको बुहारी बिबिमायाको दुर्घटनामा परी मृत्यु भएको छ भने बिबिमायाको नौ महिनाकी छोरी घाइते भएकाले काठमाडाँैमा उपचारारत् छिन् ।

दुर्घटनामा घाइते भएका १५ जना घाइतेको काठमाडौँको शिक्षण अस्पताल, बिपी स्मृति अस्पताललगायतमा उपचार भइरहेको छ ।

दुप्चेश्वर गाँउपालिका–६ सिम्टाङबाट घ्याङफेदीको सिसिपु भन्ने स्थानतर्फ गइरहेको बा३ख ३९१३ नंं. को मिनीट्रक शुक्रबार घ्याङडाँडा दुर्घटनामा भएको थियो । सिम्टाङस्थित आफन्त कहाँ आयोजित घेवामा सहभागी भएकासहित अन्य यात्रु बोकेको गाडी साँझ ५ बजे घ्याङडाँडाको मोहडामा उकालो नचढेपछि चालकले गाडी पछि हटाएर अघि बढाउने क्रममा दुर्घटना भएको घाइते कर्मा तामाङले बताए ।

कच्ची सडकमा उकालोतर्फ जाँदै गरेको मिनीट्रक दुर्घटनापश्चात पाँचसय मिटरभन्दा तल तादी खोलामा पुगेको थियो । दुर्घटनापश्चात गाडीका धनीसमेत रहेका चालक नुवाकोट महाकालीका रामभक्त थापा र सहचालक साने बुढाथोकी फरार रहेको प्रहरीले जनाएको छ ।

घटनाको प्रकृति निकै भयानक भएकाले उद्धार एवम् उपचारमा स्थानीय बासिन्दाको सहयोगमा स्थानीय सरकार परिचालन भएको थियो । घाइतेका उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोलीसमेत परिचालन भएको थियो ।

उपचारमा आर्थिक अभाव
मिनीट्रक दुर्घटनापश्चात घाइतेको उपचारमा आर्थिक अभाव भएको छ । मिनीट्रकमा सवार यात्रुको बीमा नहुने र यातायात समितिमा समेत आवद्ध नहुँदा घाइतेलाई उपचारमा आर्थिक अभाव भएकाले नेपाल सरकारमार्फत निःशुल्क उपचारको व्यवस्था मिलाउन उनीहरूले माग गरेका छन् ।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment