पौष ४, काठमाडौं । एभरेष्ट प्रिमियर लिग : इलिमिनेटरमा चितवन र भैरहवा खेल्दै काठमाडौं । एभरेष्ट प्रिमियर लिग अन्तर्गत बुधबार इलिमिनेटरमा चितवन टाइगर्स र भैरहवा ग्लाडियटर्स प्रतिस्पर्धा गर्दैछन् ।
कीर्तिपुर मैदानमा एक बजे हुने खेलको विजेताले काठमाडौं किंग्स् इलेभेनसँग दोस्रो इलिमिनेटर खेल्ने मौका पाउनेछ ।
लिग चरणमा मात्र दुई खेल जितेर चितवनले इलिमिनेटरमा स्थान बनाएको थियो ।
अन्तिम खेलमा विराटनगर वारियर्स काठमाडौंसँग पराजित भएपछि रनरेटमा अघि रहँदै चितवन शीर्ष चारभित्र रहँदै इलिमिनेटरमा स्थान बनाउन सफल भएको थियो ।
लिग चरणमा चितवन भैरहवा ग्लाडियटर्ससँग १२ रनले पराजित भएको थियो ।
लिग चरणका अन्य खेलमा चितवन ललितपुर प्याट्रियोट्सँग ११ रनले र काठमाडौंसँग ६ विकेटले पराजित भएको थियो ।
समूहको अन्तिम दुई खेलमा विराटनगरलाई पाँच रनले र पोखरालाई सात विकेटले हराएपछि चितवनले नाटकीय रुपमा नकआउट चरणको यात्रा तय गरेको थियो ।
भैरहवाले भने सुरुकै तीन खेल जित्दै शीर्ष चारभित्र स्थान बनाउन सफल भएको थियो ।
पहिलो तीन खेलमा भैरहवाले पोखरालाई चार विकेटले हराएको थियो ।
जुन खेलमा उसले २१६ रनको लक्ष्य पनि प्राप्त गरेको थियो । उसका रवि इन्दर सिंहले शतकीय योगदान दिएका थिए ।
त्यसपछि चितवनलाई हराएको भैरहवाले विराटनगरमाथि चार विकेटको जित दर्ता गरेको थियो ।
त्यसपछिका दुई खेलमा भने भैरहवा ललितपुर र काठमाडौंसँग पराजित भएको थियो ।