आफैँलाई प्रेम गर्ने साधना सासलाई जारिराख्ने मन्त्र

yoga

आफैँलाई प्रेम गर्ने साधना सासलाई जारिराख्ने मन्त्र उसले धेरै दिन मलाई अनलाइन देखेन । अनि मेसेज गरेको रहेछ ।ऊ – प्रेमकाजी ! कता हराउनुभयो ? उसले कहिले पठायो म्यासेज थाहा भएन । अनलाइन आउनेबित्तिकै रिप्लाई गरें।उसले मेसेज गर्‍याे । भुत… भुत…धेरै पछि रिप्लाई गर्दा ऊ यसै भन्छ मलाई । राति अनलाइन देखे पनि यसै भन्छ ।

म – मुसुक्क हाँस्दै लेख्छु हाहा ।

ऊ – यत्रो दिन कता प्रेमिका जी ?

ऊ प्रेमी हुनुको हक जोताउँदै भन्छ ।

म –विपश्यनामा थिएँ ।

ऊ – विपश्यना ? विपश्यना भनेको ?

म – मेडिटेशन ।

ऊ – आश्चर्यचकित भएको इमो पठाउँछ । मेडिटेसन गर्न कता जानुभाको थियो ?

म – खासमा मलाई यस्तो प्रश्नमा अल्झनुथिएन । लेखेँ । मिसिङ यु ब्याड्ली ।

ऊ – अलि खरो म्यासेज गर्छ । कता जानुभाथ्यो भनिराछु । कता जानुभाथ्यो मेडिटेशनका लागि ।

म – म उता शिवपुरी

ऊ – कोसँग गाको ?

म सायद प्रेमी हुनुको अस्तित्वबोध गरिराछ कि उसले । मनमनै सोच्छु । अनि गह्रौं मनले टाइप गर्छु एक्लै ।

ऊ – शिवपुरी भनेको कता हो ?

प्रश्नको झटारो फालिराख्छ मलाई ।

म – प्रभु ! हजुर आइस्यो न ल । म घुमाउँछु बरु । काठमाडौँ भित्रै हो ।

दिक्क लाग्छ उसको प्रश्नले ।

विपश्यना गरेपछि हामीले आफूले आफैँलाई माया गर्न थाल्छौं । आफैँभित्र सुध्रन्छौं हामी ।

आफैँभित्र अँध्यारो अनुभव गरेर बाहिर कहाँ पाइन्छ र प्रकाश ?

ऊ – मलाई लाग्यो पर छ होला । शिवपुरी नेशनल पार्क सुन्या छु के ।

 

ऊ दिमागमा रहेको रहलपहल सूचनाका आधारमा भन्छ ।

म – उम । त्यहीँ नजिकै ।

ऊ – ल ल । अब त धार्मिक अनि ध्यानस्थ हुनुभएछ ।

म – उम । तिम्रो मायाले यस्तो गरायो ।

ऊ – वैरागी जीवनप्रति लगाव बढ्यो होला नि अब त ।

म  प्रेमी टाढा भएसी बढ्ने भयो नै ।

ऊ – अब मान्छेप्रति माया जाग्दैन त तपाईलाई । ईश्वर र परमात्माप्रति मात्र माया, श्रद्धा र आस्था जाग्छ ।

म – अत्ति के । जेपिटी सोच्न नपाई ।

ऊ – हो के । हामीलाई नास्तिक नसम्झनु है ।

मलाई तनाव बढिराथ्यो दही खाएर । मैले उसलाई मख्ख पार्ने र छुट्टिने किसिमले म्यासेज गरे ।

म – हस् । माई लब । मिसिङ यु अ लट । टेक केयर ।

ऊ – अनि कि एउटा जिज्ञासा थियो । ध्यान गर्दा फेसबुक चलाउँन दिँदैनन् शिवपुरीमा ?

अनलाइन आइराख्ने मान्छेलाई बाह्र दिन अनलाइन नदेख्दा उसलाई हुटहुटी भएछ सायद ।

चलाउन दिएनन् या मैले चलाइनँ भनेर ।

म – नाई दिदैँनन् ।

दिक्क लागेर टाइप गर्छु म ।

ऊ – मलाई फकाउने हिसाबले हाँसेको इमो पठाउँछ र भन्छ । परम्परावादी रहेछ प्रेमिका जी !

म – हाहा । उम् के ।

ऊ – ल ल । जेसुकै होस् । यत्रो दिनपछि हाम्रो यो फेसबुकको संसारमा आइदिनुभो, हामी धन्य भएका छौं । अनि हजुरलाई स्वागत छ । बधाई छ ।

म – हस् । थ्याङ्क्यु ।

ऊ – वेलकम ।

म लामो सास फेर्छु । अब मज्जाले सुत्छु । टाउको दुखिराछ । म उसलाई लबको इमो पठाएर फेसबुक लग आउट गर्न खोज्छु ।

उसले फेरि म्यासेज गर्छ ।

ऊ – मरण अवश्यंभावी छ ।

 

म – उम ।

ऊ – किताबहरु पढ्दै हुनुहुन्छ ?

म – नाई । बल्ल त आउँदै छु ।

ऊ – हवस् । अनि त्यसरी मेडिटेशन गर्न किन जानुभयो ?

म – मन लाग्यो अनि ।

ऊ – कति दिन बस्नुभयो त्यहाँ ।

म – १२ दिन ।

ऊ – मेडिटेशन बाहेक अरु के गर्नुहुन्थ्यो त्यो ठाममा ?

म – मात्रै त्यही ।

ऊ – अब वास्तविकतामा ध्यान गर्न सक्नुहुन्छ ?

केटा मान्छे त झन् शंकालु । म बाह्र दिन ध्यानमा गएर आएँ भनेर उसलाई पत्याउनै मुस्किल परिराछ ।

म – उम ।

ऊ – एक प्रश्न सोधे है प्रेमिका जी ! त्यसो भए । छोटकरीमा ध्यान के हो ?

म – आफूलाई प्रेम गर्ने साधना ।

ऊ – आफूलाई अप्रेम गर्ने साधना पो ध्यान हो त । आफैँले आफैँलाई प्रेम गर्नुभयो भने त ध्यान गर्नै सकिदैँन नि ।

उसलाई लागिराथ्यो म बाझुम् । तर्कवितर्क गरुम् ।

मलाई ऊसँग तर्क गर्नु थिएन । म खुबै जान्ने छु भनेर देखाउनुथिएन । बस् त्यतिबेलाको आवश्यकता ओछ्यानमा पल्टनु थियो फेसबुक बन्द गरेर । मन त थियो लेख्न । हामी प्रेम आफैँलाई गर्छौं ।

तर, प्रेम गर्ने पनि तरिका हुन्छ । हामी आफूलाई पनि प्रेम ठीक तरिकाले गर्न जान्दैनौँ र त दुखी छौं । मनमा यिनै कुरा खेलाए । अनि लेखेँ ।

म – हवस् ।

ऊ – हैन कुरा के हो ? ध्यान मेरो सधैँ चासोको विषय हो भन्नु न ।

ऊ जानीजानी अटेर गर्छ । उसलाई पनि थाहा छ मलाई बोल्ने मन छैन । र, पनि तर्कवितर्क गरिदिम् म उसँग भन्ने चाहन्छ ।

म – भने त आफूलाई प्रेम गर्र्ने साधना ।

 

ठीकसँग आफैँलाई प्रेम गर्ने साधना लेखुम् जस्तो लागेर पनि लेखिनँ । फेरि ठीकसँग कसरी गर्ने भन्यो भने कुरा लामो भइजान्छ । म सकेसम्म छोट्याउने प्रयास गर्छु शव्दका भावहरु ।

ऊ – हवस् ।

ऊ जवरजस्ती हवस् भन्छ । सोध्न त उसलाई धेरै मन लागिराछ । म बुझ्छु । अनि लेख्छु ।

म – म तिमीलाई लामो म्यासेज लेखेर पठाउँछु बेलुकातिर । पर्खिए ।

ऊ – कस्तो म्यासेज ? ध्यानसम्बन्धी ?

फेरि आत्तुरी देखाउँछ ।

म – वेट न । अब चार घण्टा ।

मलाई सुत्न हतार थियो । ऊ अल्झाइराख्छ मलाई ।

ऊ – विषय पनि नभन्ने ।

म – नो ।

ऊ – एकैछिनमा भनिस्यो न त ल प्रेमिका जी !

म – उफ् । नो त्यतिबेलै ।

ऊ – ओके जस्ट वेटिङ ।

म – हासेँको इमो पठाउँछु ।

चारपाँच घण्टापछि ……………………..

म आफूलाई तनाव महसुस गर्छु । दही खान हुन्नथ्यो । कति लापरबाही गरेको आफ्नै स्वास्थ्यप्रति ।

आफैँलाई गाली गर्छु । फेसबुक खोल्छु, मन भुलाउने बाहानामा ।

ऊ – प्रेमिका जी ! तपाईले दिनुभएको चार घण्टाले डाँडा काटिसक्यो । अब पाऊँ त ।

म – सरी डियर । आज मलाई गाह्रो भाछ । स्टाटस त लेख्न सकिनँ दही खाथेँ दिउँसो । गाह्रो भयो ।

ऊ – के चाँहि लेख्नुहुन्छ र ? अघि लङ म्यासेज पठाइदिन्छु भनेको के चाँहि सब्जेक्ट हो ?

म – मेडिटेसन ।

ऊ – एई । स्टाटस राख्नलाई फेसबुकमा ?

म – नाई । तिम्रा लागि । तिम्लाई हो के ।

 

ऊ – पर्दैन । छोडिदिनु । टेक रेष्ट । टेक केयर ।

म – हस् ।

ऊसँगको यस्तो वार्तालापपछि मलाई लाग्यो विपश्यनाका बारेमा आफूले जानेको, बुझेको कुरा किन अरुलाई नसुनाउँ ? शान्ति त सबैलाई चाहिएकै छ । आज लेख्नपर्छ भन्ने लाग्यो । शुभ काममा किन ढिलो गर्नु ? उसको जिज्ञासा, कौतुहलले मलाई यति लेख्नैपर्छ भन्ने लाग्यो ।

विषय प्रवेश

विपश्यना भनेको विशेष प्रकारले हेर्नु भन्ने बुझिन्छ । विशेष प्रकारले हेर्नु भनेको के हो ? कसरी हेर्ने ? केलाई हेर्ने ? विपश्यना भनेको आफैँलाई हेर्ने एक कला हो ।

आफ्ना संवेदनालाई सचेतपूर्वक नियालिरहने अभ्यास हो । आफ्नो सासलाई जानिराख्ने मन्त्र हो ।

जिन्दगीको दौडमा हामी यति व्यस्त हुन्छाैं कि हामीले सास तानिराछाैं कि फालिराछाैं भन्ने थाहा पाउन बिरामी हुनैपर्छ । कि त सास फेर्न गाह्रो हुनुपर्छ । संसारको सबसे सजिलो काम सास फेर्नु हो ।

र गाह्रो काम पनि । जुन दिन सास फेर्दाफेर्दै सासले सास फेर्न रोकिन्छ, हाम्रो दौड पनि समाप्त हुन्छ । हामीले आफूलाई नहेरी आफूलाई गुमाउँछौ ।

विपश्यना आफैँलाई हेर्न सिकाउने अभ्यास हो । आफैँलाई प्रेम गर्ने साधना हो । प्रेम पनि ठीकसँग गर्न जान्नुपर्छ ।

खाना खानेबेला जसरी सबै खानेकुरा ताजा, स्वास्थवद्र्धक र शरीरलाई चाहिने मात्रामा खानु जरुरी छ ।

ठीक त्यसैगरी प्रेम पनि मिलाएर गर्न जान्न पर्छ । आफ्नै शरीरलाई आभाष दिलाउन सक्नुपर्छ । प्रिय शरीर ! म साँच्चै तिमीलाई प्रेम गर्छु ।

अब रह्यो । आफैँलाई प्रेम ठीकसँग कसरी गर्ने ?

हामीलाई आफ्नो बारेमा के थाहा छ ? हामी आफ्नो नाम भन्न सक्छौं ? आफ्नो परिवारका बारेमा भन्न सक्छौं ।

आफ्नो प्राप्तिका बारेमा भन्न सक्छाैं । प्रेमीले दिएको पीडा महसुस गर्न सक्छौ । बुवाले दिएको गाली सम्झेर रुन सक्छौं । हाम्रो मन कोमल छ । हामी आफुलाई मन नपर्ने चिज भयो कि रुन थाल्छौं । हामी त्यसबेला आफूलाई खुप माया गर्छौं ।

अरुले गर्दा म दुखी भएँ । यस्तै सोचेर मनलाई भुलाउँछौ ।

प्रेमीले छोडेको पीडाले रन्थनिएर खुप सराप्छौं उसलाई । साले ! मरे पनि हुने नि । प्रेमीले उसैगरी सराप्छ कस्ती राक्षस्नी रछे ।

मेरो सब पैसा खाइदिई । अहिले त मसँग बिहे गर्छु भनेर हत्ते गर्छे । सम्बन्धमा भएपछि त्यस्तो हुनु के नौलो भयो र ? जसको नि हुन्छ नि । प्रेम पो गर्छु भनेथेँ, बिहे गर्छु त भन्या थिइनँ नि । कि त्यो मरोस् । कि बिहे भैजाओस् त्यसको । अनि बल्ल आनन्द हुन्छ ।

हामी कतै बाइकमा हुइँकिरहेका हुन्छौं । एउटाले स्वाट्ठ बाटो काटिदिन्छ । हामी रिसले चुर हुँदै आफ्नो बाटो लाग्छौ । साला ! खुप हिरो पल्टदो रैछ । मिल्ने भए गएर झाप्पु हान्दिन्थेँ । कुन दिन मर्छ यो ।

 

हेर्नुस् त विचरा । आफैँसँग रिसाएर हानी गरिरहन्छौं हामी । र, भ्रम छर्छौं खुप माया गर्छौं आफूलाई ।

हामी रिसाको अर्को मान्छेलाई थाहै हुदैँन र पनि रिसाइरहन्छौं । बुवाममी टाढा हुनुहुन्छ र पनि बुवाममीको गाली सम्झेर पटकपटक रुन्छौं हामी । प्रेमिका बिहे गरेर बच्चासँग रमाइरहेकी हुन्छे । हामी यता उसैको फोटो हेरेर दाह्रा किट्छाैं ।

राक्षस्नी रछे, त्यसले छाडेसी अरु केटीहरु जिन्दगीमै आएनन् । के तन्त्रमन्त्र गरेर गइछे भन्छौं । विचरी, उसलाई थाहै हुँदैन उसको प्रेमी उसको फोटो हेरेर उसलाई सराप्दैछ ।

हामी दुखी कसका कारणले भइराछाैं ? एकचोटि आफैँलाई ननियाली, आफैँलाई नछामी कसरी थाहा हुन्छ ?

अब हामीले आफूले आफैँलाई कसरी छाम्ने ? आफूले आफैँलाई कसरी हेर्ने ?

हाम्रो सास आयो या गयो । बुझिराख्नपर्छ । जब तपाईलाई रिस उठ्छ । जब तपाई आफ्नी प्रेमिकालाई सुन्दर ड्रेसमा परैबाट देख्नुहुन्छ ।

या जागिरमा तपाईँको प्रमोसन हुन्छ । आफ्नै सासलाई हेर्नुस् त । आफनै सासलाई महसुस गर्नुस् त ।

जब तपाईले काम बिगार्नुहुन्छ । जब तपाई अध्याँरोमा एक्लै हिँड्दा कतै ठोक्किनुहुन्छ । त्यतिबेला आफ्नो चलिरहेको सासलाई हेर्नुस् त । अनि तपाई सामान्य अवस्थामा पढिरहँदा आफ्नै सासलाई हेर्नुस् त । यहीँबाट फरक पाइहाल्नु हुन्छ ।

फेरि, रिसाउँदा आफैँलाई छाम्नुस् त । रामराम कति तातो हुनुभाको हैन त ? जब सास स्वभाविक हुन्छ ।

फेरि आफैँलाई महसुस गर्नुस् । छटपटि छैन । बेचैनी छैन । कम्तिमा हामीले आफूलाई माया गर्छौं भने सासलाई त स्वाभाविक बनाउन पर्‍याे नि त ।

हामी हाम्रो मुटुलाई कति दुख दिन्छाैं । कहिले मुटुले लामो सास तान्नपर्ने हुन्छ । कहिले चिटचिट पसिना निकाल्ने गरी पम्प गर्न पर्ने हुन्छ ।

विपश्यना भनेको आफ्नो शरीरमा के भइराछ, कस्ताकस्ता संवेदनाहरु भइराछन् भनेर जान्ने अभ्यास मात्रै हो । यदि हामीले हामीभित्र के भइराछ भनेर खोजी नै गरेनौँ भने नियन्त्रण कसरी गर्न सक्छौं आफ्ना दुखलाई ।

हामी आफूलाई प्रेम गर्छौं भने यो तीन हातको शरीरभित्र कहाँकहाँ के के भइराछ बुझ्नैपर्छ । बुझिसकेपछि न किन भयो भनेर सोच्छाैं त हामी । कसैले स्वाट्ठ बाटो काटेको कारणले हामी रिसायौं । अनि हामीलाई मन परेन, शरीरले प्रतिक्रिया गरिहाल्यो ।

व्याकुल हुन्छ । सासले स्वभाविकता छोड्छ । शरीर तात्छ । विचरा हतार थियो होला ।

हतारमा उसको ज्यान नजाओस् । सोचम् त । फेरि शरीर चिसिन्छ । सास स्वभाविक भइहाल्छ । हामी दुखी पनि हुँदैनम् ।

विपश्यना गरेपछि हामीले आफूले आफैँलाई माया गर्न थाल्छौं । आफैँभित्र सुध्रन्छौं हामी ।

आफैँभित्र अँध्यारो अनुभव गरेर बाहिर कहाँ पाइन्छ र प्रकाश ? हामी आफैंभित्र दुखी भएर बाहिर अरु खुशी देखेर रमाउन कहाँ सक्छौं र ?

लेखक गनेस पौडेल बेलाबेलामा स्टाटस लेखिरहनुहुन्छ । उहाँको एउटा स्टाटस मलाई खुप मनपर्छ – कहिलेकाहीँ आफैँलाई देखेर अति माया लाग्छ । कहिले अति दया लाग्छ ।

कहिले अचाक्ली रीस उठ्छ आफैँसँग । कहिले बेस्मारी घीन लाग्छ । देख्छु, अरु मान्छेका सम्बन्ध अन्य व्यक्तिसँग तलमाथि भएका हुन्छन् । तर, मलाई भने आफैँसँगको सम्बन्ध सुधार्दैमा फुर्सद छैन । उफ् म र मेरो मसँगको सम्बन्ध ।

 

आफैंभित्र हराउने मान्छेलाई आफैसँगको सम्बन्ध सुधार्दैमा फुर्सद हुन्न । विपश्यना भनेको आफैँसँगको सम्बन्ध बलियो बनाउने साधना हो । अभ्यास हो । आफूसँग सम्बन्ध राम्रो हुने मान्छेको बल्ल अरुसँग पनि सम्बन्ध राम्रो हुन्छ । आफैँभित्र खुशी मान्छेले मात्रै अरुलाई खुशी बनाउन सक्छ ।

हामीले केही कुरा दिँदा हामीसँग जे छ त्यो पो दिन सक्छौं । नभएको कुरा कसरी दिन सकौँला र ? दुःखी मान्छेले अरुलाई पनि दुख बाँढ्छ । आफु पनि दुखी हुन्छ । अरुलाई नि दुखी बनाउन चाहन्छ ।

मान्छेको स्वाभाव फेरि अरुको दुख सुनेर खुब खुशी हुन्छ । यसलाई पनि त दुःख रैछ भनेर । हाय ! मनुष्य लीला ।

शिविरभित्र मेरो अनुभव

तीन साताअघि जब म विपश्यना गएँ । मैले आफैँलाई महसुस गर्न पाएँ । दश दिनसम्म आर्र्यमौन पालना गर्दा म आफैँभित्र खुप बोलिरहेकी थिए । आर्यमौन भनेको हातको ईशाराले, आँखाको ईशाराले, लेखेर, संकेत गरेर पनि अरुसँग बोल्न नपाउने भनेको हो । पूर्णरुपमा मौन ।

अरुसँग बोलेको पो देख्छन् मान्छेहरु । आफैँसँग बोल्न कसले रोकोस् ।

अरुसँग बोल्दाबोल्दा हामीलाई कहिल्यै फुर्सद हुन्न । जब हामी आफैँसँग बोल्न थाल्छौं, अनि थाहा हुन्छ । आफ्नो वास्तविकता । हामी कति नराम्रो सोच्छौं अरुका बारेमा, कति स्वार्थले भरिएका छौं थाहा पाउँछौं त्यतिखेर ।

म १० दिनसम्म खुप बोलें आफैँसँग । आफ्ना गुनासाहरु आफैँलाई सुनाएँ । आफ्ना पीडाहरु आफैँलाई बुझाएँ । आफ्ना बाध्यताहरु, असफलताहरु सबैसबै आफ्नै मनलार्ई सुनाएँ । खुप कुरा गरें आफैँसँग । साथमा सासलाई जानिराखें । आइराछ या गइराछ भनेर ।

जब रीसको कुरा सम्झन्थेँ । सास लामोलामो हुन्थ्यो । चिटचिट पसिना आउँथ्यो । जब बुबाममीको गाली सम्झन्थेँ सास छोटोछोटो हुन्थ्यो । मुटु कामेजस्तो हुन्थ्यो । फेरि म बुवाममीको माया सम्झन्थेँ कतिबेला भेटुम्जस्तो हुन्थ्यो । खुप ढुकढुक हुन्थ्यो मन । ब्याकुल हुन्थें । निसासिन्थेँ त्यो वातावरणमा । सास पनि खुब छिटो आउने जाने गरिरहन्थ्यो ।

सास आउँदा सासले स्पर्श गर्ने ठाममा पनि नियाल्थे । कहिले चिसो हुन्थ्यो । कहिले तातो । बस् जानिराख्थेँ । भनिएकै यही थियो । सासलाई जानिरहनू । सासलाई जानिरहनुलाई आनापाना भनिन्छ ।

तीनदिनसम्म आनापाना गरेपछि चौथो दिन विपश्यना सिकाइन्छ । विपश्यना गर्दा आँखा बन्द गरेर आफ्नो शीरमा के के भइराछ । अनुहारमा के के भइराछ भन्ने जान्नुपर्छ ।

यसैगरी शीरदेखि पैतालासम्म जान्नपर्छ के–के संवेदनाहरु भइराछन् । ती संवेदनाले हामीलाई पीडा दिइराछ कि सुविस्ता । त्यसरी बस्दा घरी टाउकोमा खस्य्राकखस्य्राक गथ्र्यो । घरी कमिलाले टोकेजस्तो लाग्थ्यो । टाउको छामी हेर्दा केही हुन्नथ्यो ।

 

यसैगरी अनुहारमा पसीना आएजस्तो कहिले सरसर भएजस्तो कहिले फटाफट भएजस्तो हुन्थ्यो ।

शरीरमा जेजे भए पनि चुपचाप केही प्रतिक्रिया नगरिकन संवेदना हेरिरहे । कतिबेला सकिएन र प्रतिक्रिया गरे । भनिएकै यही थियो ।

विपश्यना भनेको गौतम बुद्धले पच्चीस सय वर्ष अगाडि पत्ता लगाएको विद्या हो । जसको वर्णन पुरानो धर्मग्रन्थ ऋग्वेदमा पनि पाइन्छ । मान्छे आफैँभित्र प्रवेश गरेर भित्रको सत्य जान्नु नै विपश्यना हो

संवेदना हेर्दाहेर्दा कुनै संवेदना सुक्ष्म त कुनै स्थूल हुन्थे । पछि यी संवेदनाहरु धाराप्रवाहिक रुपमा महसुस हुन थाले ।

जब संवेदना हेर्दाहेर्दा मन दौडेर प्रेमीको काखमा अल्झन्थ्यो । या त प्रेमीले छोडेको पीडाले बल्झन्थ्यो । फेरि मन समातेर सास हेर्ने काममा लगाइरहन्थेँ । अनि जब सास हेरिरहन्थेँ फेरि संवेदना महसुस गर्थे । अनि संवेदना महसुस गरिरहन्थें । तीन हातको शरीरभित्र कहाँ कहाँ कता कता के के भइराछ भनेर ।

मन भड्कियो भने सास हेरिरहनु, सासलाई जानिरहनुपर्छ भनिएको थियो । त्यहीँ गरें ।

यसरी १० दिनसम्म विपश्यना गरेपछि दशौँ दिनको नौ बजेपछि मंगलमैत्री गर्न सिकाइन्छ । सबको मंगलको, भलोको कामना गरिन्छ । वातावरण नै खुशीले सुसेलीरहेजस्तो अनुभव भयो मलाई ।

दश दिन दश बजेपछि म आफैँभित्र यति शान्त भइसकेको थिएँ कि मलाई कसैसँग बोल्नु नै थिएन । बडो आनन्द महसुस गरिराथेँ । हल्का महसुस गरिराथेँ । अरुसँग बोलेर पो अशान्त हुन्छम् कि क्या हो जस्तै लाग्यो ।

शिविरपछिको परिवर्तन

म पहिले खुप रिसाउँथे । अहिले रीस एकदम कम उठ्छ । उठे पनि एकैछिनमा शान्त हुन सक्छु ।

अरुका कारणले आफैँलाई खुप सजायँ दिन्थें म । अरुको हानीका बारेमा सोची बस्थेँ । अहिले आफ्नै हानी हुन्छ भनेर सोच्छु । केही काम गर्न पर्‍याे  भने खुप आत्तिन्थेँ । अहिले त्यतिधेरै आत्तिन्नँ । रिसाएका बेला आफ्नै सासलाई हेर्छु ।

अनि अस्वाभाविक भयो भनेर फेरि शान्त हुन्छु । मैले पहिले पनि आफुलाई प्रेम त गर्थें । तर, ठीकसँग गर्दैनथेँ ।

अहिले आफैँलाई प्रेम गर्ने कला सिकेर आएजस्तो भइराछ । गुरु रविन्द्र आनन्दलाई म सोधिरहन्थेँ – मलाई थाहा छ, म गलत संगतमा छु । र, पनि म यो त्याग्न सक्दिनँ क्यारुम ? उहाँ भन्नुहुन्थ्यो – जे हुन्छ, हुन देऊ ।

तर, आफूलाई नबिर्सनू । नहराउनू । आफूलाई जानिरहनू ।

हामी कतिपय मान्छेहरु शान्त छौं । काममा यति व्यस्त हुन्छौं कि अशान्त रहन फुर्सद नै हुँदैन । त्यो भनेको मृत शान्ति हो । मसानघाटमा मान्छे उसै शान्त हुन्छ । असली शान्ति त्यो हो, जुन काम गर्दागर्दै पनि मिल्छ । खाँदाखाँदै मिल्छ । हिँड्दाहिँड्दै मिल्छ ।

हामीलाई पानीको प्यास लागेको छ । दही, मोही खाएर केहीछिनलाई प्यास त मेटिएला, तर पानी त चाहिन्छ नै ।

विपश्यना भनेको गौतम बुद्धले पच्चीस सय वर्ष अगाडि पत्ता लगाएको विद्या हो । जसको वर्णन पुरानो धर्मग्रन्थ ऋग्वेदमा पनि पाइन्छ । मान्छे आफैँभित्र प्रवेश गरेर भित्रको सत्य जान्नु नै विपश्यना हो ।

यो एकप्रकारको ध्यानविधि हो । ध्यान भनेको एकाग्र हुनु हो । आफैँभित्र लीन हुनु हो । आफैँभित्र हराएको मस्त मान्छेले जोडी खोज्दै हिँड्दैन । ध्यान भनेको आफैँलाई पूर्ण गराउने अभ्यास हो ।

 

धर्म भनेको सार्वजनिक हुन्छ । न त्यो बौद्ध हुन्छ । न हिन्दु । धर्म भनेको प्रकृतिको नियम हो ।

हामीले अरुको कुभलो सोच्नेबित्तिकै प्रकृतिले हामीलाई दण्ड दिन सुरु गरिहाल्छ । हामी व्याकुल हुन्छाैं । अरुको भलो सोच्नेबित्तिकै प्रकृतिले हामीलाई पुरस्कार दिन सुरु गरिहाल्छ । हामी आनन्दित रहन्छौं । त्यसैले प्रकृतिको नियमलाई बुझौँ ।

अन्तमा,

हामी कहिलेकाहीँ बडो खुशी हुन्छौं । बडो आनन्दित हुन्छाैं । जस्तै– परीक्षामा टप भइयो रे ।

त्यो खुशीको झिल्का कहाँबाट आउँछ र लुप्त हुन्छ फेरि ? जब आत्मा निर्मल हुन्छ । खुशीको प्रकाश हाम्रो मनसम्मै आइपुग्छ ।

विपश्यना मनलाई निर्मल बनाउने, आत्मालाई निर्मल बनाउने साधना हो । आफैँलाई खुशी राख्ने अभ्यास हो ।

हामी आफैँलाई प्रेम गरौँ । आफैँमा मस्त रहौँ । आफ्नो मंगल गर्नेले मात्रै अरुको मंगल गर्न सक्छ । भलो गर्न सक्छ ।

सबको मंगल होस् । भलो होस् ।

 

संम्बन्धित लिंक

खुशी काे खबर छोरी जन्मे वार्षिक रु १० हजार भत्ता

बेल्जियमलाई १-० ले स्तब्ध बनाउदै फ्रान्स फाइनलमा बेल्जियम बाहिरियो

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment