कलाकारिताको विकल्पमा व्यवसाय, को के गर्छन् ?

कलाकारिताको-विकल्पमा-व्यवसाय,-को-के-गर्छन्

 

नेपाली चलचित्र उद्योगमा कलाकार र निर्देशकको पारिश्रमिकबारे बेलाबेला चर्चा चल्ने गर्छ । चलचित्रको व्यापार ओरालो लागिरहेका बेला कलाकारको पारिश्रमिकको पारो भने चढिरहेको निर्माता गुनासो गर्छन् । कलाकारले पारिश्रमिक बढाएकै कारण चलचित्र निर्माण गर्ने आँट गर्न नसकेको पुराना निर्माताहरुले बताइरहेका छन् भने नयाँ निर्माताहरु पनि कमैमात्रै दोहोरिने गरेका छन् ।

बजार र व्यापारको तुलनामा कलाकारको पारिश्रमिक महँगो भएको गुनासो एक पक्षबाट आइरहेका बेला स्वयम् कलाकार भने वैकल्पिक पेसा अपनाइरहेका छन् । बजारमा रुचाइएका कलाकारहरु नै वैकल्पिक पेशा गरिरहेका छन् । वैकल्पिक पेशा अपनाउनेमा चलचित्रमा मुख्य अभिनय गर्नेदेखि चरित्र अभिनयमा जम्नेसम्म छन् ।

नायिका नम्रता श्रेष्ठ अहिलेकी रोजाइकी नायिका हुन् । उनी प्रतिचलचित्र १५ लाखसम्म पारिश्रमिक लिन्छिन् । उनीसम्म प्रशस्त स्क्रिप्ट आउँछन् । तर नम्रता कथा, निर्देशक र समग्र टिम हेरेर मात्रै चलचित्र खेल्ने–नखेल्ने निर्णय गर्छिन् ।अफरहरु आइरहने, पारिश्रमिक पनि राम्रो लिइरहेकी नम्रता पनि वैकल्पिक पेशा गरिरहेकी छन् । उनी रेष्टुराँ व्यवसायी हुन् । उनको एपिक रेष्टुराँ तथा बार छ ।

नायिका ऋचा शर्मा पनि अब्बल नायिकाहरुको सूचीमा पर्छिन् । उनी पनि चलचित्रसँगै अन्य व्यवसायमा छिन् । उनले पाङ्ग्रो नामक रेष्टुराँ सञ्चालन गरिरहेकी छन् । रेष्टुराँ खोले पनि उनी चलचित्र क्षेत्रबाट टाढिएकी भने छैनन् । भदौबाट सुरु हुन लागेको कमेडी च्याम्पियनमा उनी निर्णायकको भूमिका निभाउँदैछिन् ।

श्वेता खड्का पनि अभिनय र व्यवसाय दुवैलाई सँगै अगाडि बढाइरहेकी नायिका हुन् । पछिल्लो समय उनले अभिनय गरेको चलचित्र ‘कान्छी’ हो । नायिकासँगै निर्मात्रीसमेत रहेकी श्वेता हिमालयन जाभा कफी सप सञ्चालन गर्दै आएकी छन् ।वर्षा राउत र सञ्जोग कोइराला पनि कलाकारितासँगै व्यवसाय गरिरहेका कलाकार हुन् । चलचित्रमा वर्षाको राम्रै उपस्थिति र माग भइरहेका बेला उनी चिया अड्डा खोलेर बसेकी छन् । सञ्जोग र वर्षाले संयुक्त रुपमा चलाइरहेका छन् यो व्यवसाय ।

मोडल तथा कलाकार कृति भट्टराई पनि अन्य पेशा अपनाउनेमा पर्छिन् । कृतिले अर्ग्यानिक एसप्रेसो कफी सप खोलेकी छन् । सञ्चारकर्मीसमेत रहेकी उनको अर्ग्यानिक एसप्रेसोमा कफीसँगै मःमः, स्यान्डवीच तथा बेकरी आइटम पाइन्छ । उनी अहिले कलाकारिताबाट टाढिएकी छन् । नायक गौरव पहारी पनि कलाकारिता र व्यवसाय दुवैलाई सँगै अगाडि बढाइरहेका छन् । उनी रेष्टुराँ व्यवसायी हुन् ।

नायक सरोज खनाल पनि अभिनयसँगै अन्य पेशा व्यवसायमा संलग्न कलाकार हुन् । कुनै समय रोजाइका नायक रहेका सरोज अहिले चरित्र अभिनेतामा परिणत भएका छन् । उनी अहिले ह्याचरी उद्योग खोलेर बसेका छन् । हरेक दिन बिहान उनी ललितपुरको एकान्तकुना पुगेर ह्याचरी व्यवसायमा सक्रिय हुन्छन् ।

कलाकार कामश्वेर चौरसिया पनि अभिनयसँगै व्यवसाय गर्दै आएका छन् । करिब एक वर्ष कामका लागि कुनै पनि चलचित्रबाट प्रस्ताव नआएपछि उनले माछा–भुजा बेच्ने खाजा पसल खोले ।चरित्र अभिनेता उत्तम केसी सरकारी जागिरे हुन् । यद्यपि अहिले रिटायर्ड हुन् । कलाकार पूर्ण केसी पनि कलाकारितासँगै सरकारी जागिरे थिए । सञ्चारकर्मी उनी रेडियो नेपालमा काम गर्छन् ।

गायिका सुनिता दुलाल पनि गायनसँगै व्यवसायमा आवद्ध छिन् । सुनिताले डालो नामक फाष्ट फुड रेष्टुराँ सञ्चालन गर्दै आएकी छिन् । उनी केही समय पहिला अनलाइन बिजनेस पनि गर्थिन् ।गायक नारायण रायमाझी, गायिका राधिका हमाल रेकर्डिङ स्टुडियो खोलेर सञ्चालन गरिरहेका छन् । स्टुडियो खोलेर व्यवसाय गर्ने कलाकारको संख्या निकै ठूलो छ ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment