धरहरा पुनर्निर्माणमा ‘गोलमाल’: रमणलाई ठेक्का दिन भूमिका खेल्ने व्यक्ति उसैको कन्सल्ट्यान्ट !

धरहरा पुनर्निर्माणमा 'गोलमाल': रमणलाई ठेक्का दिन भूमिका खेल्ने व्यक्ति उसैको कन्सल्ट्यान्ट !

धरहरा पुनर्निर्माणमा ‘गोलमाल’: रमणलाई ठेक्का दिन भूमिका खेल्ने व्यक्ति उसैको कन्सल्ट्यान्ट !

धरहरा पुनर्निर्माणमा ढिलाई गरिरहेको जीआईईटीसी रमण जेभी (रमण कन्स्ट्रक्सन) लाई ठेक्का दिने मध्येका एक राजुमान मानन्धर पछिल्लो समय धरहरा पुनर्निर्माण कन्सल्ट्यान्टका रूपमा काम गरिरहेका छन् ।

यसअघि धरहरा पुनर्निर्माणका लागि आह्वान गरिएको टेन्डर मुल्यांकन समितिमै रहेर रमणलाई ठेक्का दिलाउन भूमिका खेलेका उनै राजुमान मानन्धर पछिल्लो समय कन्सल्ट्यान्टको रूपमा काम गरिरहेका हुन् ।

 

टेन्डर आह्वानदेखि मूल्याङ्कन समितिमै रहेर रमण कन्स्ट्रक्सनलाई ठेक्का दिलाउनमा भूमिका खेलेका व्यक्ति पछि गएर उसैको कन्सल्ट्यान्टका रूपमा काम गर्न थालेपछि नैतिकताको प्रश्न उठेको छ ।

नैतिकता अनुसार त्यसरी टेन्डर प्रक्रियामा सहभागी रहेको व्यक्तिले पछि गएर उसैको कन्स्ल्ट्यान्ट भएर काम गर्न नपाउने जानकारहरू बताउँछन् ।

पहिले कुनै पदमा बसेर कुनै कामको टेन्डर प्रक्रियामा सहभागी रहेको व्यक्ति पछि गएर उही कामको लागि कन्सल्ट्यान्टका रूपमा काम गर्दा स्वार्थ बाझिने उनीहरूको तर्क छ ।

प्रशासनविद् एवं पूर्व मुख्यसचिव बिमल कोइरालाले त्यसरी कन्सल्ट्यान्टको रूपमा काम गर्दा सोझै कन्फ्लिक्ट अफ इन्ट्रेस्ट हुने र नैतिकताले त्यस्तो नमिल्ने बताए ।

‘त्यो चाहिँ कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नै हो,’ उनले भने, ‘यसको बारेमा कानून के छ मलाई थाहा छैन । तर विषय नैतिक चाहिँ होइन ।’

प्रशासनविद् भीमदेव भट्टले पनि सम्बन्धित निकायमा निर्णय प्रक्रियामा बसेर काम गरेको व्यक्तिले त्यसरी काम गर्नु राम्रो नहुने बताए ।

‘यो गर्नुभन्दा नगर्नु राम्रो हो, किनभने त्यसमा भित्रको कनेक्सनहरू हुन्छन् । लेनदेनको कुराहरू आउला । फाइदा लेला भन्ने डर रहन्छ,’ उनले भने, ‘त्यसो गर्नु सिन्द्धान्ततः राम्रो होइन ।’

अवकाश लिइसकेपछि कसैले त्यसरी काम गरेमा त्यसलाई गर्न मिल्दैन भनेर भन्न नसकिने पनि भट्टको भनाइ थियो ।

यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा रमणलाई ठेक्का दिनमा भूमिका खेलेका मानन्धर तत्कालीन समयमा प्राधिकरणमा सह–सचिवको भूमिकामा थिए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखामा सहसचिव रहेका उनले गत मंसिर (२०७५ मंसिर)मा अवकाश पाएका थिए ।

त्यसपछि धरहराको पुनर्निर्माण र रानी पोखरीको पुनर्निर्माण हेर्ने गरी विज्ञको रूपमा इयूको आर्थिक सहयोगमा आफू त्यहाँ काम गरिरहेको मानन्धरको जिकिर छ ।

उनी आफू कन्सल्ट्यान्ट नभएर विज्ञको रूपमा काम गरिरहेको जिकिर गर्छन् ।

यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिरकणको सम्पदा शाखामै रहेर काम गरेको र पछिल्लो समय सम्पदा शाखा अन्तर्गतकै धरहरा पुनर्निर्माणको विज्ञ हुँदा कतै स्वार्थ जोडिएको त छैन ? भन्ने जिज्ञासामा मानन्धरको जवाफ यस्तो छः

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा म सहसचिव थिए । म त अहिले झन कसरी आएँ भने नि, यो (ठेकेदार)सँग काम गर्न नआएको भए त, स्वार्थ जस्तो हुन्थ्यो । तर मलाई अहिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले माग गरेर र इयूको आर्थिक सहयोगमा यहाँ आएको हुँ । इयूले पैसा तिर्छ मलाई । युरोपियन युनियनले । त्यहाँ हेर्ने मान्छे नभएर । अहिलेसम्म कन्सल्ट्यान्ट थिएनन् । ५/६ दिन मात्रै भयो आएको । यो भन्दा अगाडी कोही पनि थिएनन्, किनभने उठाउनु पर्‍यो यो (धरहरा) भनेर मलाई पठाएको । धेरै बुझेको भनेर पठाएको ।

प्राधिरणले मलाई विज्ञ मान्छे ठान्यो । धरहरा र रानी पोखरी हेर्ने मान्छे चाहियो । अहिले हामीसँग कन्सल्ट्यान्ट छैन । यहाँको सम्पदा महाशाखा हेर्ने जसले बुझेको त्यो पनि रिटायर्ड भयो, त्यसकारण हामीलाई मान्छे खोजिदे भनेर भन्यो उसले । इयूले मलाई कन्ट्याक्ट गर्‍यो । अनि मैले हुन्छ भनेर म यहाँ काम गर्न थालें ।

अहिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका लागि इयूको (जीएफए) बाट काम गरिरहेको छु मैले । तर काम के गरिरहेको छु, यो धरहरा बनाउने काम गरिरहेको छु । अहिले कन्ट्रयाक्टरको रूपमा काम गरिरहेको भए तपाईले भनेको जस्तो स्वार्थ मिल्छ । अहिले त म कस्तो भने एनआरए (राष्ट्रिय पुनर्निर्माण प्राधिरण)कै काम गरिहेको छु । कन्ट्रयाक्टरको काउन्टर पार्ट भएँ म त ।

म एनआरएकै लागि काम गरिरहेको छु । मैले यता पट्टि काम गरेको भए तपाईको प्रश्न मिल्थ्यो । मेरो स्वार्थ पनि हुन्थ्यो होला किनभने मैले सबै कुरा बुझेको हुन्छु नि त । थाहा हुने/नहुने कुरा सबै गर्ने भएँ मैले । उचित अनुचित फाइदा पनि लिन सक्थेँ भन्ने हुन्थ्यो । तर म काउन्टर पार्ट भएर आएपछि त यो घाँडो बेकार आयो भनिरहेको छ यहाँ । मलाई यहाँ घाँडो सम्झन्छन् ।

परामर्शदाता भएको भए मलाई त्यतिखेर राख्दैन्थ्यो होला । परामर्शदाता आज १० महिना पछि आयो । अहिले फूलफेज आइसक्या पनि छैन । परामर्शदाता सुपरिवेक्षण गर्ने गरी आउँछ । निरीक्षण र सुपरिवेक्षण गर्ने परामर्शदाता भयो । अब म त के भने, परामर्शदातालाई पनि हेर्ने मान्छे चाहियो उसलाई पनि हेर्नु पर्ने भयो, किनभने ऊ पनि बाहिरको मान्छे भयो । त्यही भएर एनआरएमा यस्तो मान्छे राख्नु पर्ने भयो । परामर्शदातालाई पनि हेर्नुपर्ने भयो । त्यो निर्वाह गरिराखेको छु अहिले म । तपाईंले भने अनुसार मैले यहाँ दुई वर्षसम्म काम गर्न पाउँथें । तर दुई वर्षसम्म मैले यहाँ काम गर्न पाउँदिनँ ।

२०७२ वैशाखमा गएको भूकम्पका कारण ढलेको धरहरा पुनर्निर्माणको ठेक्क रमण कन्सट्रक्सनले पाएको छ । २०१८ अक्टोबरदेखि पुनर्निर्माण शुरू भएको धरहरा २०२० अक्टोबरमा सम्पन्न गर्नेगरी सम्झौता भएको छ । यसरी धरहरा पुनर्निर्माणका लागि दुई वर्ष लाग्ने र परामर्शदाताहरूले दुई वर्ष काम गर्न पाउने प्राधिकरणका अधिकारीहरू बताउँछन् ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment