थाइल्यान्डको राजधानी बैंककमा शुक्रवार बिहान भएको शृंखलाबद्ध विस्फोटमा परी कम्तीमा दुईजना घाइते भएको प्रहरीले जनाएको छ । घटनामा घरेलु बम प्रयोग गरिएको प्रहरीको भनाइ छ ।
बैंककमा अहिले ठूलो सम्मेलन चलिरहेको छ र विस्फोटले त्यसलाई असर पारेको छ । देशका प्रधानमन्त्री प्रयुत चान ओचाले घटनाको अनुसन्धानको आदेश दिएका छन् ।
प्रधानमन्त्रीकी प्रवक्ताले जनतालाई नआत्तिन आग्रह गरेकी छन् ।
सुआन लुआङ जिल्लामा हाते बम विस्फोट हुँदा सडक सफा गर्ने दुईजना घाइते भएका हुन् ।
केही विस्फोटहरू एक सरकारी कार्यालय नजिक सुनिएका थिए भने अन्य विस्फोट सिटी सेन्टर नजिकका दुई ठाउँमा भएका थिए ।
दुई विस्फोट चाहिँ बीटीएस स्काईट्रेन चोङ नन्सी स्टेसन नजिक भएका थिए । विस्फोटका कारण शीशा फुटेर टुक्रा छरिएका थिए ।
विस्फोट स्थानीय समयअनुसार बिहान ७ बजे भएको हो ।
बैंककमा अहिले आसियान मुलुका परराष्ट्रमन्त्रीहरूको क्षेत्रीय सुरक्षा सम्मेलन चलिरहेको छ ।
चीन, रुस र अमेरिकाका परराष्ट्रमन्त्रीहरू पनि सम्मेलनमा उपस्थित छन् ।
बिहीवार प्रहरीले सम्मेलनस्थल नजिक दुईवटा नक्कली बम पनि भेटिएका थिए । त्यसले गर्दा केही समयका लागि सुरक्षा अव्यवस्था भएको थियो र दुईजना व्यक्ति पक्राउ परेका थिए ।