३८ क्विन्टल सुनकाण्ड : गोल्यान धरौटीमा रिहा, अन्यको हकमा उच्च अदालतको आदेश सदर

३८ क्विन्टल सुनकाण्ड : गोल्यान धरौटीमा रिहा, अन्यको हकमा उच्च अदालतको आदेश सदर

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्र्याएर गायब बनाइएको ३३ किलोसहित ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका अधिकांश अभियुक्तलाई पुर्पक्षका लागि थुनामै राखेर मुद्दाको प्रक्रिया अघि बढाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

महावीर प्रसाद गोल्यानलाई भने १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिइएको छ । गोल्यान र डीएसपी सञ्जय राउत सहित सुनकाण्डका अभियुक्तहरू भुजुङ गुरुङ, लाक्पा शेर्पा, अममान डंगोल, तुलाराम थारू लगायतले उच्च अदालत विराटनगरको फैसला चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

अभियुक्तहरूलाई थुनामा नै राखेर मुद्दाको प्रक्रिया अघि बढाउन जिल्ला अदालत मोरङले दिएको आदेशविरुद्ध उनीहरू उच्च अदालत पुगेका थिए । उच्च अदालत विराटनगरले जिल्ला अदालतकै आदेशलाई सदर गरेको थियो ।

त्यसपछि उक्त मुद्दा सर्वोच्चसम्म आइपुगेको हो । सर्वोच्चमा यससम्बन्धी ३१ वटा छुट्टाछुट्टै रिटमा एकसाथ सुनुवाइ हुँदै आएको थियो ।

न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको संयुक्त इजलासले अधिकांशको हकमा उच्च अदालत विराटनगरकै आदेशलाई सदर गरिदिएको हो ।

यससँगै गोल्यान बाहेकका अभियुक्तहरू धरौटीमा रिहा हुन नपाउने भएका छन् ।

आपराधिक समूह सञ्चालन गरी सुन चोरी पैठारी तथा निकासीको अवैध कारोवार, अपहरण एवं शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी मुद्दा जिल्ला अदालत मोरङमा विचाराधीन छ ।

जिल्ला र उच्च अदालतको थुनछेकसम्बन्धी आदेशमा चित्त नबुझेपछि अभियुक्तहरूले सर्वोच्चमा निवेदन माथिको सुनुवाइ लम्बिँदा जिल्ला अदालतले यससम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ शुरू गर्न सकेको छैन ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment