भारतको एकाधिकार तोड्न चीनवाट पेट्रोलियम पाइपलाइन

भारतको एकाधिकार तोड्न चीनवाट पेट्रोलियम पाइपलाइन

भारतबाट पेट्रोलियम पदार्थ आयात गर्न अमलेखगन्ज–मोतिहारी पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न गरेको सरकारले चीनबाट पनि पेट्रोलियम ल्याउन पाइपलाइन बनाउने तयारी गरेको छ। भारतको नाकाबन्दीपछि विकल्पमा चीनबाट पेट्रोलियम पदार्थ ल्याउन सक्ने निर्णय गरेको सरकारले चीनको केरुङदेखि रसुवागढी हुँदै नुवाकोट तथा धादिङसम्म पाइपलाइन विस्तारको सम्भाव्यता अध्ययन गर्न लागेको हो।

सरकारकै योजना अनुसार नेपाल आयल निगमले चालु आर्थिक वर्ष ०७६÷७७ को नीति तथा कार्यक्रममा पाइपलाइन विस्तारका लागि सम्भाव्यता अध्ययनको कार्यक्रमलाई प्राथमिकतामा राखेको छ। चीनको केरुङसम्म रेलबाट पेट्रोलियम पदार्थ ढुवानी हुने सम्भावना बढ्दै गएकाले केरुङदेखि रसुवागढी हुँदै नुवाकोट तथा धादिङसम्म पाइपलाइनको अध्ययन गर्ने निगमले जनाएको छ। चीनबाट पाइपलाइन विस्तार गर्न चीनसँग कूटनीतिक माध्यमबाट सम्भाव्यता अध्ययन तथा सहयोगका लागि अनुरोध गर्ने निगमको तयारी छ।

सरकारको योजना अनुसार सम्भाव्यता अध्ययन गर्ने कार्यक्रम राखेको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए। ‘अध्ययनका लागि विभागीय मन्त्रालय र परराष्ट्र मन्त्रालयसँग समन्वय गर्छौं,’ पौडेलले भने, ‘पूर्व सम्भाव्यता अध्ययन गर्ने तयारीमा छौं।’ भारतको नाकाबन्दीका बेला चीनले १३ लाख लिटर पेट्रोल अनुदान दिएपछि ट्यांकरमा ल्याएर वितरण गरिएको थियो। चीनबाट ट्यांकरबाट ढुवानी गरेर ल्याउँदा निकै महँगो पर्ने भएकाले पाइपलाइनको योजना बनाएको हो।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment