दुई महानगरपालिका ब्रुमर किन्ने होडबाजीमा

दुई महानगरपालिका ब्रुमर किन्ने होडबाजीमा

विकसित देशका शहरहरुलाई पहिल्यै सफा राखेर धुलोका कणसमेत हटाउन सडकमा ब्रुमर मेसिन चलाइन्छ । नेपालमा भने फोहोरका रास नहटाई सहरलाई धुलोमुक्त बनाउने प्रयास सुरु भएको छ । अनौठो लाग्ने यस्तो अभ्यास राजधानीका दुई प्रमुख सहर काठमाडौं र ललितपुरले थालेका छन्, त्यो पनि जोडतोड रुपमा ।

काठमाडौंको सिको गर्दै धमाधम ब्रुमर किन्न थालेको ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जन आधुनिक सहरहरुका लागि ब्रुमर निर्विकल्प साधन बनेको बताउँछन् । ब्रुमरको आवश्यकतामा जोड दिँदै महर्जनले अनलाइनखबरलाई सोधे, ‘बरु, सडक सफा गर्न योभन्दा राम्रो अर्को उपाय छ भने तपाईं बताइदिनुस् न !’

ब्रुमरबारे काठमाडौं महानगरपालिकाको बुझाइ पनि ललितपुरको भन्दा भिन्न छैन । काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले यो अत्याधुनिक मेसिनको प्रयोगसँगै अब कुचीकारले सडक बढार्ने दिन सकिएको बताए । ‘हाम्रा सडकहरु ब्रुमर सुहाउँदो नहुँदाचाहिँ अलिकति समस्या भएको छ’, उनले भने, ‘अबका दिनमा ब्रुमरमैत्री सडक निर्माणमा ध्यान दिन्छौं ।’

यो पनि पढ्नुहोस
रातभर ब्रुमरले बढार्नेछ काठमाडौंको धुलो !
दुईवटा चिनियाँ र पाँचवटा इटालियन गरी सातवटा ब्रुमर चलाइरहेको काठमाडौं महानगरपालिकाले दुईवटा थप्न खरिद प्रकृया अगाडि बढाएको छ । काठमाडौंले चिनियाँ ब्रुमर उपहारस्वरुप पाएको हो भने इटालियन ११ करोड रुपैयाँमा किनेको हो ।

लगनखेल चोक जहिल्यै फोहोरको रासमा निस्सासिइरहेको हुन्छ, त्यसलाई त्यसै छाडेर धुलोको कण बटुल्दै हिँड्नुको के तूक ?
ललितपुर महानगरपालिका पनि के कम, उसले २४ साउनबाट दुईवटा इटालियन ब्रुमर सञ्चालनमा ल्याएको छ । यसका लागि उसले चार करोड ४८ लाख ११ हजार २८० रुपैयाँ खर्च गरेको छ ।

‘व्यर्थको व्यय’

वातावरणविज्ञहरु भने महानगरपालिकाहरुको ‘ब्रुमर होड’ देखेर हैरान छन् । ‘विज्ञ’ मात्र हैन, आम सहरबासीले पनि ब्रुमरमा हुन लागेको लगानीलाई व्यर्थको व्यय मानिरहेका छन् ।

गत बिहीबार ललितपुरको कुपण्डोलमा हिँडिरहेका शिक्षक अनिल बखतीले फोहरको पहाड हटाउन छाडेर धुलोको कण उठाउन तम्सेको देख्दा ‘भनौं भने के भनौं, ढुंगा टिपी के हानौं’ जस्तै भएको बताए । उनले भने, ‘त्यही पाटनको लगनखेल चोक जहिल्यै फोहोरको रासमा निस्सासिइरहेको हुन्छ, ‘त्यसलाई त्यसै छाडेर धुलोको कण बटुल्दै हिँड्नुको के तूक ?’

यो पनि पढ्नुहोस
ब्रुमरले दैनिक १० टन धुलो टिप्दा काठमाडौं कति सफा ?
त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा वातावरण विज्ञान पढाउने मदन कोइराला बाह्रै महिना सडकमा थुप्रिने फोहोर व्यवस्थापन गरेपछि मात्र ब्रुमर प्रयोगबारे विचार गर्न सकिने बताउँछन् । फोहोर र धुलोका सबै स्रोत खुल्ला राखेर ब्रमुर चलाउने कुरा सामान्यतः बुझ्न नसकिने उनी बताउँछन् ।

कोइरालाको बुझाइमा घरघरबाट निस्कने फोहर व्यवस्थापनमा लापरवाही र अव्यवस्थित निर्माण कार्य नै राजधानी सहर फोहोर र धुलाम्य हुनुका प्रमुख कारण हुन् । त्यसपछि कलकारखाना र यातायातका साधनजन्य रासायनिक पदार्थमिश्रति फोहोरले उपत्यकालाई आक्रान्त पारेको छ । कोइराला भन्छन्, ‘यी बेथितितिर आँखा चिम्लेर ब्रुमर खरिदमा हौसिनु भनेको सहजै बुझ्न नसकिने कुरा हो ।’

सक्तैन ब्रुमरले पनि

ब्रुमरले सफा गर्न चिल्लो कालेपत्रे सडक हुनुगर्छ । खाल्डाखुल्डी र फोहोरका टुक्राटुक्री भएको सडकमा ब्रुमरको कुचोले काम गर्दैन । काठमाडौं महानगरका कतिपय ब्रुमर त सडक बढार्दा बढार्दै बिग्रिए । उपत्यकाको अधिकांश सडक ब्रुमरका लागि उपयुक्त छैन । काठमाडौं महानगरपालिकाले गत चैतबाट ब्रुमर लगाउन थालेको पाँचवटा रुट (त्रिपुरेश्वर, रत्नपार्क, बानेश्वर, रातोपुल र कालीमाटी) अहिले धुलोमुक्त छ भन्न सकिने अवस्था छैन ।

यो पनि पढ्नुहोस
दिनहुँ ब्रुमर लगाउँदा पनि चम्किएनन् काठमाडाैंका सडक !
त्रिविका वातावरण शिक्षक कोइराला सहर सफा राख्ने हो भने सम्बन्धित निकायहरुले गुणस्तरीय सडक निर्माण, पर्याप्त वृक्षारोपण र फोहर व्यवस्थापनमा लगानी गर्नुपर्ने बताउँछन् । उनका अनुसार, सडक वा ढल बनाउने, खानेपानीको पाइप वा टेलिफोनको तार बिछ्याउने निकायहरुले समन्वयमा काम गर्दा धुलोका समस्या हल हुन्छ ।

‘घरघरबाट निस्कने फोहर व्यवस्थापन चुस्त बनाए सहर सफा हुन्छ, अझ सफा वातावरण चाहिए त्यसपछि ब्रुमर चलाउँदा हुन्छ’, कोइराला भन्छन्, ‘अहिलेचाहिँ ब्रुमर किन्ने पैसा फोहर व्यवस्थापन, सडक मर्मत तथा कालोपत्रे निर्माण र रुखबिरुवा रोप्ने काममा खर्च गर्दा वुद्धिमानी हुन्छ ।’

महंगो ब्रुमर चलाएर काठमाडौं उपत्यका सफा राख्ने कुरा आफैंमा पार नलाग्ने लहड मात्रै भएको कोइराला बताउँछन् ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment