बूढी हात्तीको मन छुने तस्बिर

बूढी हात्तीको मन छुने तस्बिर

 

 

तपाईं हाम्रा कोही साथी धेरै मोटाए भने हामी भन्छौं- कस्तो हात्तीजस्तो मोटाएको!

हात्ती मोटोमात्र होइन बलियो पनि हुन्छ भन्ने आम मान्यता छ।

तर सबै हात्ती मोटा र बलिया हुँदा रहेनछन्। कुपोषण लागेका बच्चाजस्ता पनि बन्दा रहेछन्।

केही दिनदेखि त्यस्तै दुब्लाएर हाड करङ देखिएकी एउटा हात्तीको तस्बिर भाइरल भइरहेको छ।

श्रीलंकाकी उक्त हात्तीको नाम तिकिरी हो। तिकिरी अहिले ७० वर्षकी भई।

बुढ्यौलीले छोएर शरीरमा जाँगर नहुँदा पनि मान्छेहरू तिकिरीलाई आराम गर्न दिँदैनन्। दिनरात नभनी काम लगाउँछन्।

श्रीलंकामा अहिले पेराहेरा मेला चलिरहेको छ। १० दिनसम्म चल्ने यो मेला आज (बिहीबार) सकिँदै छ।

उक्त मेलामा तिकिरी अरू ६० हात्तीसँग कैयौं किलोमिटर सहर घुम्नुपर्छ।

विश्व हात्ती दिवसको अवसरमा मंगलबार सेभ एलेफेन्ट फाउन्डेसनले तिकिरीको तस्बिर सार्वजनिक गरेको थियो। सुकेको जिउमा हाडकरङ देखिएको बूढी तिकरीको मन छुने तस्बिर अहिले भाइरल बनिरहेको छ।

फाउन्डेसनका अनुसार पेराहेरा मेलामा हात्तीहरूलाई विभिन्न पहिरनमा सजाएर साँझदेखि अबेर रातिसम्म सहरमा घुमाइन्छ।

चर्को आवाज, चम्किलो प्रकाश र नाचगान गर्ने मानिसहरूसँगै हिँडने हात्तीलाई छोएर मानिसहरू आफूहरूलाई भाग्यमानी ठान्छन्।

‘पहिरनले उनको सुकेको जिउ र कमजोर अवस्था कसैले देख्दैनन्। उनको टाउकोमा लगाइएको चम्किलो प्रकाशले कोही पनि उनका आँखाबाट बग्ने आँशु देख्दैनन्। उनी कसरी पाइला चाल्छिन् भन्ने पनि कसैले मेसो पाउँदैनन्,’ फाउन्डेसनले फेसबुक पेजमा लेखेको छ,‘यदि हामी अरू कसैलाई पीडा दिन्छौं भने त्यो कसरी मेला भयो, त्यो कसरी धर्म भयो?’

 

फाउन्डेसनले यस्तो तस्बिरलाई अझै पनि स्वीकार्य ठान्छौं भने हामी हात्तीहरूका लागि शान्तिपूर्ण संसार बनाउन नसक्ने उल्लेख गरेको छ।

‘अरूलाई प्रेम गर्नु, कसैलाई हानी नपुर्‍याउनु, दया र सहानुभुति राख्नु बुद्ध मार्ग हो। अहिले त्यही मार्ग पछ्याउनु पर्ने बेला हो,’ फाउन्डेसनले लेखेको छ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment