प्रधानमन्त्री फेरि सिंगापुर जाने, तर केही समयपछि

प्रधानमन्त्री फेरि सिंगापुर जाने, तर केही समयपछि

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे बिहीबार साँझ निकै चर्चा भयो। केही मिडियामा उनी साह्रै बिरामी परेको र फेरि सिंगापुर जान लागेको समाचार आए।

दिउँसोमात्रै प्रधानमन्त्रीलाई ज्वरो आएकाले नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक रोकिएको थियो।

राति प्रधानमन्त्रीको अस्वस्थताबारे समाचार पढेका ओलीको गृहजिल्ला झापाका जनप्रतिनिधि र नेता/कार्यकर्ता उनलाई भेट्न शुक्रबार बिहानै बालुवाटार गए।

बालुवाटार पुगेका कार्यकर्ताहरूसँग प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यको विषयमा हिजो चलाइएका निराधार हल्लाहरूको प्रसंग उल्लेख गर्दै भने, ‘हिजो मलाई एकछिन ९९ देखि १०० डिग्री ज्वरो आएको थियो। एउटा सिटामोल खाइदिएपछि सबै निको भयो। तर अफवाह म सिकिस्त भएजस्तै फैलाइयो।’

ओलीले आफ्नो स्वास्थ्यका सम्बन्धमा सरोकार राख्ने शुभचिन्तकहरुसँग भने, ‘गत हप्ता सिंगापुरमा आँखा, कान, घाँटी र बूढी औंलादेखि कान्छी औंलाका नङसम्म परीक्षण गरेर आएको छु। डाक्टरले सबै अंग ठीक छ भनेका छन्। अब २०-२५ वर्ष केही हुँदैन भन्छन्। त्यसकारण म बिरामी होइन।’

प्रधानमन्त्री ओलीले आफू १५ वर्षअघि बिरामी भएको र १२ वर्षअघि मृगौला प्रत्यारोपण गरेको पनि स्मरण गरे।

‘म अहिले होइन,१५ वर्षअघि बिरामी थिएँ। १२ वर्षअघि मृगौला प्रत्यारोपण गरेको हुँ। त्यही कहानीलाई अहिले प्रचार गरिएको छ,’ उनले भने, ‘मलाई बिरामी नै भन्ने हो भने पनि म बिरामी हुँदाहुँदै चुनावमा मोर्चा बनाएर पार्टीलाई सफलता दिलाएँ। बिरामी हुँदाहुँदै बहुमत दिलाएँ। सरकार बनाएँ र बिरामी हुँदा हुँदै पार्टी एकीकरण गरें।’

यसअघि प्रधानमन्त्री ओली सिंगापुरमा स्वास्थ्य परीक्षण गराएर सोमबार स्वदेश फर्किएका थिए।

प्रधानमन्त्री ओली फेरि सिंगापुर जानेबारे सेतोपाटीले उनीनिकटहरूसँग जिज्ञासा राखेको थियो।

उनीनिकट दुई स्रोतले प्रधानमन्त्री फेरि सिंगापुर जाने पक्का भएको बताए तर समय भने टुंगो नलागेको जानकारी दिए।

‘सिंगापुरमा उहाँलाई नयाँ औषधी दिइएको छ त्यसको प्रभाव कस्तो हुन्छ भनेर हेर्न फेरि जानु पर्नेछ, तर केही समयपछि मात्रै हो,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो।

ओलीले किन औषधी खाइरहनु पर्छ?

प्रधानमन्त्री ओलीले १२ वर्षअघि मृर्गौला प्रत्यारोपण गरेका थिए।

मृगौला रोग विशेषज्ञ डाक्टर ऋषिराज काफ्लेका अनुसार मृगौला प्रत्यारोपण गरेका व्यक्तिले जीवनभर औषधी खाइरहनु पर्छ।

अर्को व्यक्तिबाट लिइएको अंग शरीरमा आएपछि शरीरको रोग प्रतिरोधात्मक प्रणालीले उक्त नयाँ अंगमाथि आक्रमण गर्छ।

‘रगतको नाताभित्रका व्यक्तिको मृर्गौला प्रत्यारोपण गरिएको छ भने औषधी थोरै चलाउँदा पनि पुग्छ तर बाहिरका व्यक्तिको मृगौला प्रत्यारोपण गरिएमा औषधीको मात्रा बढाउनुपर्छ,’ डाक्टर काफ्लेले सेतोपाटीसँग भने,‘जुम्ल्याहा दाजुभाइको प्रत्यारोपण गरिएको छ भनेमात्रै औषधी कहिले पनि खानुपर्दैन। जुन निकै दुर्लभ हो।’

प्रधानमन्त्री ओलीलाई अञ्जना घिमिरेले मृर्गौला दिएकी हुन्। नातामा उनी ओलीकी भाइबुहारी पर्छिन्।

मृगौला प्रत्यारोपण गरिएका व्यक्तिले थोरै औषधी खाए मृगौला ड्यामेज हुने खतरा हुन्छ भने धेरै खाएमा संक्रमण हुन्छ। प्रत्येक १० वर्षमा औषधी नै परिवर्तन गर्नु पर्ने डाक्टर काफ्लेले बताए।

‘१० वर्षअगाडि राम्रो गरेको औषधीले १० वर्षपछि राम्रो गर्छ भन्ने छैन। यो औषधी विज्ञानको नियम नै हो,’ उनले भने,‘रगतको नाताबाहिर गरिएका मृगौला प्रत्यारोपणमा प्रत्येक ५ वर्षमै पनि समस्या आउँछ।’

त्यहीअनुसार प्रधानमन्त्री ओलीले पनि यसपालि औषधी परिवर्तन गरेका छन्।

‘नयाँ औषधी लिन थाल्नुभएकाले शरीरले कस्तो प्रतिक्रिया जनाउँछ भन्ने टुंगो छैन। बिहीबार आएको ज्वरो पनि त्यसैको असरमध्ये हुनसक्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment