रवि लामिछानेको समर्थनमा माइतीघरमा प्रदर्शन, एसपी मल्ललाई वर्खास्त गर्न माग
पत्रकार रवि लामिछानेलाई अनुसन्धानका नाममा फसाउन खोजिएको भन्दै उनका समर्थकहरुले काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीले चितवनका एसपी दानबहादुर मल्लको बर्खास्तीको माग गरेका छन् । उनीहरुले एसपी मल्लले आफुलाई प्राप्त भिडियोमाथि अनुसन्धान गर्नुको सट्टा मिडियालाई दिएर गलत गरेको भन्दै उनको बर्खास्तीको माग गरेका हुन् ।
चितवनमा पनि आज बिहानैदेखि प्रदर्शन शुरु भएको थियो। प्रदर्शनकारीले प्रहरीको भ्यान तोडफोड गरेपछि झडप समेत भएको थियो। लामिछानेका समर्थक र प्रहरीबीच शुक्रबार पनि झडप भएको थियो।
पत्रकार शालिकराम पुडासैनीको मृत्युको विषयमा अनुसन्धान गर्न प्रहरीले लामिछानेसहित युवराज कँडेल र आस्मिता कार्कीलाई पक्राउ गरेको थियो ।
उनीहरुमाथि थप अनुसन्धान गर्न जिल्ला अदालतले पाँच दिनको म्याद दिएको छ ।