ललितपुर : राष्ट्रपति विद्यादेवी भण्डारी पाटनको कृष्ण मन्दिरमा पूजा-आराधना गरेकी छन्। ‘श्रीकृष्णजन्माष्टमी’का अवसरमा शुक्रबार उनी पाटन पुगेकी हुन्।
कडा सुरक्षा घेरामा साढे २ बजेतिर कृष्णमन्दिर पुगेकी राष्ट्रपति भण्डारी खुट्टामा समस्या भएकाले सिँडी नचढिकन आँगनमै पूजाअर्चना गरेकी थिइन्। राष्ट्रपतिको खुट्टामा समस्या भएकाले पुजारीहरु पूजाअर्चनाका लागि तल ओर्लेका थिए।
ढुंगाका सानासाना सिँढी चढेर दोस्रो तलामा पुगेर पुजा गर्ने गरिन्थ्यो तर यो वर्ष पुजारीहरु तल ओर्लिएका थिए। ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीका अनुसार राष्ट्रपतिको खुट्टामा समस्या देखिएकाले पुजारीहरु नै तल झरेको हुन्।
‘उहाँलाई माथि चढ्न समस्या भएकाले तलै पुजा गर्नुभयो’, उनले भने। उनले करिब पन्ध्र मिनेटमा पुजाआजा सकेर फर्किसकी थिइन्। भूकम्पले भत्किएको उक्त मन्दिर गतवर्ष पुननिर्माण सम्पन्न भएको थियो । उक्त मन्दिरको उद्घाटन तत्कालिन संस्कृति तथा पर्यटनमन्त्री रविन्द्र अधिकारीले गरेका थिए ।