पूर्व सहकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन दिएको अभियोगमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पाँच लाख धरौटीमा छुटेका छन् ।
सोमबार जिल्ला अदालत, चितवनमा थुनछेक बहस सकिएपछि न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले लामिछानेलाई ५ लाख , सञ्चारकर्मी युवराज कँडेललाई ३ लाख र नर्स अस्मिता भनिने रुकु कार्कीलाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो ।
लामिछाने र कँडेल सोमबार नै अदालतले तोकेको धरौटी रकम बुझाएर रिहा भएका छन् । रिहा भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै लामिछानेले आफूप्रति सहानुभूति जनाउने सबैलाई धन्यवाद दिएका छन् ।
लामिछानेलाई ५ लाख धरौटी माग्नुको अर्थ
पुडासैनीको आत्महत्या गर्न दुरुत्साहन दिएको मुद्दा खेपिरहेका टेलिभिजन प्रस्तोता रवि लामिछानले अभियोग स्वीकार गरेका छैनन् । उनी निर्दोष रहेको भन्दै मुद्दा चलेको जिल्ला चितवनमा मात्र होइन, काठमाडौं र देशका विभिन्न स्थानमा प्रदर्शन भयो । कलाकारहरु मदनकृष्ण श्रेेष्ठ, हरिवंश अचार्यदेखि दीपराज गिरीसम्म चितवन पुगेर रविलाई भेटेनन् मात्र, उनी निर्दोष भएको दाबी गरे ।
उनका वकिल र समर्थकको दाबी थियो, यो घटनामा रविको कुनै सलग्नता छैन, साधारण तारेखमा छोड्नुपर्छ ।
तर सोमबार साँझ जिल्ला न्यायाधीश रावलको एकल इजलासले आदेश सुनायो, रवि लामिछानेलाई ५ लाख, युवराज कँडेललाई तीन लाख धरौटीमा छाड्नू ।
साथै रवि ‘जनतासँग सिधा कुरा’को कार्यक्रम प्रस्तोता समेत भएकाले उनले यो मुद्दामा जोडिएका प्रहरी,अभियुक्त, वकिल, मुद्दाका साक्षी लगायतसँग कुराकानी गरेर कार्यक्रम चलाउने, फेसबुक लाइभ वा ट्वीटरमा विचार वा प्रतिक्रिया दिन रोक लगाएको छ । साथै स्वास्थ्य उपचारका लागि विदेश जानु परेमा अदालतको अनुमति लिनुपर्ने शर्त पनि अदालतले राखेको छ ।
अदालतले फौजदारी कार्यविधि संहिताको दफा ६८ अनुसार धरौटी माग गरिएको बताएको छ ।
के छ दफा ६८ मा ? यो दफामा अधियुक्तसँग धरौट वा जमानत वा बैंक जमानत लिने व्यवस्था छ, जसमा भनिएको छ, (१) दफा ६७ को अवस्थामा हुने बाहेक कुनै अभियुक्त उपरको अभियोग प्रमाणित हुने मनासिब आधार भएमा अदालतले निजसँग धरौटी, जमानत वा बैंक ग्यारेन्टी लिई तारिखमा राख्न सक्नेछ ।’
श्राेत onlinekhabar