पाल्पा । पाल्पा जिप दुर्घटनामा परि तीन जनाको ज्यान गएको छ, भने २५ जना घाइते भएका छन् । मृतक मध्ये एक जनाको नाम खुलेको र अन्य दुई जनाको नाम ठेगाना खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रमुख (एसपी) राज कुमार लम्सालले जानकारी गराएका छन् ।
गल्याङ प्रहरी चौकीका ईन्सपेक्टर निरञ्जन घिमिरेका अनुसार ११ महिनाकी बालिका पनसन परियारको मृत्यु भएको जानकारी गराए । उनका अनुसार जिपमा सवार २८ जनामध्ये बालिकाको घटना स्थलमै ज्यान गएको हो, भने अन्य दुईको लुम्बिनी मेडिकल कलेज प्रवासमा मृत्यु भएको हो ।
घाइते मध्ये १७ जनाको लुम्बिनी मेडिकल कलेज प्रबास, ४ जनाको युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै अन्य चार जनाको गल्याङ सामुदायिक अस्पतालमा सामान्य उपचारपछि घर पठाइएको गल्याङ प्रहरी चौकीका ईन्सपेक्टर घिमिरेले जानकारी दिए ।
लुम्बिनी मेडिकल कलेज प्रवासका सूचना अधिकारी कृष्ण पराजुलीका अनुसार १९ जनाको उपचार भइरहेको छ, जसमध्ये २ जनाको मृत्यु भइसकेको एक जनाको अवस्था गम्भीर रहेको छ ।
पाल्पाबाट जाँदै गरेको जिपले गल्याङ्बाट आइरहेको अर्को जिपलाई साइड दिने क्रममा सडकबाट ३ सय मिटर तल जिप खसेको थियो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
श्राेत news24