हाकिमलाई सलामीको चिन्ता, सिपाहीलाई ग्यास्ट्रिक

हाकिमलाई सलामीको चिन्ता, सिपाहीलाई ग्यास्ट्रिक

२५ भदौ, काठमाडौं । स्थानीय तहमा जनप्रतिनिधिहरुले सलामी थापेको चर्चा अझैसम्म हटिसकेको छैन । तर, यस्तो सलामीको बहस नेपाली सेनाभित्र चाहिँ नयाँ ढंगबाट सुरु भएको छ ।

नेपाली सेनाले जंगी अड्डामा आयोजना गरेको सैनिक अधिकृत र जवानका गुनासो सुन्ने ‘त्रैमासिक रोलकल’ मा सैनिकहरुवीच रमाइलो अन्तरक्रिया भयो । सो अन्तरक्रियामा खुलेर प्रस्तुत भएका सैनिकहरुले सलामीको समस्या मात्र उठाएनन्, रोलकलमा सैनिक अधिकृतले खाना र खाजाको समय नमिल्दा ग्यास्ट्रिक बढेकोसमेत गुनासो गरे ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले कमाण्ड सम्हालेपछिका हरेक औपचारिक/अनौपचारिक कार्यक्रममा परादर्शितामा जोड दिएको बताउने गरेका थिए । महारथी बनेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार जंगी अड्डामा आयोजित कार्यक्रममा पनि त्यसको छनक दिन उनले कुनै कसर बाँकी राखेनन् ।

त्रैमासिक रोलकल नेपाली सेनाको आन्तरिक अन्तरक्रियात्मक कार्यक्रम हो । तर, प्रधानसेनापति थापाको एक वर्ष कार्यअवधि पुगेको अवसरमा आयोजित कार्यक्रमअघि भएको आन्तरिक छलफलमा सञ्चारकर्मीलाई पनि सहभागी गराइयो । विगतमा यसरी सञ्चारकर्मीलाई सहभागी गराइँदैनथ्यो ।

जंगीअड्डाको भवन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रममा निजी सञ्चारमाध्यमलाई प्रवेश रोक लगाउने सेनाले यो पटक आन्तरिक छलफलमा आमसञ्चारकर्मीलाई सहभागी गराउनुको एउटै उद्देश्य थियो– नेपाली सेनालाई पारदर्शी देखाउने प्रयाश ।

उपत्यकाभरिका सैनिक उपस्थित कार्यक्रममा सुरुवातको ४० मिनेट विभिन्न विभागका निर्देशकले अघिल्लो रोलकलमा उठेका जिज्ञासामाथि जवाफ दिएका थिए । अधिकृत र जवानका केही सुझाव लागू गरिएको पनि जानकारी दिइयो ।

दोस्रो चरणमा ‘भिस्याट प्रविधि’बाट लाइभ हेरिरहेका देशैभरका अधिकृत र जवान मध्येबाट टेलिफोन गुनासो पनि राखिएको थियो भने उपत्यकाका अधिकृतले प्रधानसेनापतिको उपस्थितिका बीच विभिन्न जिज्ञासा राखेका थिए ।

रोलकलमा उठेका सवाल–जवाफ

छलफलको सुरुवातमा सेनाका बलाध्यक्ष रथी गौरव ताण्डुलले सबै तहका कमाण्डर र स्टाफलाई जवाफदेही र पारदर्शी बनाउन प्रधानसेनापति थापाले त्रैमासिक रोलकल सुरु गरेको बताए । कार्यक्रमले सकलदर्जाको उत्साह, हौसला र मनोबल बढ्ने विश्वास लिएको उनको भनाइ थियो ।

‘सेनाभित्र सुरु गरिएका यस किसिमका अन्तरक्रियात्मक कुराले संगठनका समस्या तथा सुझावलाई आन्तरिक रुपमा हल गर्दै संगठनको चुस्ततामा वृद्धि भइरहेको छ’, उनले भने, ‘यसबाट सकलदर्जामा परेको प्रभाव अनुपम रहेको छ ।’

ताण्डुलपछि सैनिक सचिव सहायक रथी निर्मलकुमार थापाले आफ्नो विभागसँग सम्बन्धित प्रश्नको जवाफ दिए । उनलाई भीमदल गणका क्याप्टेन प्रमिश न्यौपानको प्रश्न थियोः–

सेनामा अहिले क्याप्टेनबाट मेजर हुनका लागि १५ वर्ष लाग्ने अवस्था आएको छ, यसको समाधानका लागि के–के प्रयासहरु भइरहेका छन् ?

जवाफ- हाल क्याप्टेनबाट मेजर हुनका लागि करिब १३ वर्ष लागेको अवस्था छ । तत्कालिन देशको अवस्थाले गर्दाखेरि केही घटी र केही बढी हुन गएको हो । यो समस्या समाधानका लागि ‘टाक्स फोर्स’ले अध्ययन गरिरहेको छ । त्यसपछि यो समस्याको निराकरण हुने अवस्था देख्छु ।

भिडियो तथा प्रकाशन शाखाका प्राविधिक सेनानी किरण अधिकारीले उनले कार्यालयसँग सम्बन्धित तालिमबाहेक वृद्धि विकासका लागि कुनै तालिम गर्न नपाएको गुनासो गरे । अन्य तालिम स्वदेश तथा विदेशमा गर्न पाए क्षमता अभिवृद्धि हुने उनको सुझाव थियो । साथै, शान्ति सेनामा पनि सहभागिताका लागि न्यून अवसर भएको उनको गुनासो थियो ।

जवाफमा थापाले भने–

वृद्धि विकासबाहेकका तालिमको सन्दर्भमा तपाईँहरुका लागि स्वदेश तथा विदेशमा केके गर्न सक्ने अवस्था रहन्छ भन्ने विषयमा सम्भावना जानकारी गराउनु भयो भने तपाईंहरुलाई गराउन सकिने तालिममा मिलाउन सक्ने अवस्था देख्छु । शान्ति सेनामा सहभागिताका लागि नीतिगत कुरा मिलाउन नीति तथा योजना निर्देशनालयमा हामीले जानकारी गराइसकेका छौं । तपाईंहरुको समस्या सुझाव आइसकेपछि समाधान हुने अवस्था देख्छु ।

यो पनि पढ्नुहोस
नेपाली सेनाको क्यान्सर निको पार्न अझ कठोर हुन्छु
थापापछि युद्धकार्य निर्देशक उपरथी प्रभुराम शर्माले शिवशान्ति गुल्मका जमदार शिवप्रसाद सापकोटाले राखेको प्रश्नको जवाफ दिए । उनको प्रश्न थियो–

शिवशान्ति गुल्म सुदुरपश्चिम र मध्यपश्चिम क्षेत्रमा तैनाथ रहेको छ । ०७६ सालको गुरुयोजना अनुसार यस वर्ष पुनः सुदुरपश्चिम क्षेत्र अन्तरंग बाजुरा जिल्लामा स्थापना हुने क्रममा रहेको हुँदा यो गुल्मले देशको पूर्वी भू–भागसँग पनि परिचित हुन अवसर पाउने थियो कि ?

जवाफमा शर्माले भने –

शिवशान्ति गुल्म स्थानान्तरणका क्रममा पश्चिम क्षेत्रमा मात्र तैनाथ रहेकोमा पूर्वी क्षेत्रमा तैनाथ गर्ने सम्बन्धी प्रश्नको जवाफको कार्यप्रगति विवरणमा हामीले पहिले दिएको जवाफले पनि स्पष्ट रुपमा जानकारी दिएको थियो । त्यसमा स्थानान्तरणको कार्यविधि अनुसार गुल्मको राष्ट्रिय निकुञ्ज ड्यूटीमा खटिने पालो रहेको र निकुञ्जमा खटिन जाने क्रममा उक्त क्षेत्रमा दिनुपर्ने भएकाले खप्तड राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गर्ने योजना रहेको थियो । र, खप्तड निकुञ्जमा सेवा गरी दुई वर्षे अवधि पूरा गरिसकेपछि निकुञ्जको ड्यूटी समाप्त हुन्छ । त्यसपछि योजनामा अथात् आर्थिक वर्ष ०७८/०७९ को समयमा यो गुल्मलाई पूर्वी क्षेत्रमा स्थानान्तरण गरिनेछ ।

कार्यरथी उपरथी सुवर्णबहादुर शाहलाई सैनिक प्रहरी गणका जमदार प्रेमबहादुर बस्नेतले फरक र रोचक जिज्ञासा र सुझाव राखे । उनको जिज्ञासा थियो–

नेपाली सेनामा केही व्यक्तिले सलामका हकदारलाई सलाम नगर्ने, नदेखेझैं गर्ने, सलामको हकदारलाई नै गर्दैनन् भन्ने कतिपय पदिक अधिकृत दर्जाबाट गुनासो सुनिन्छ । त्यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न केही कदम चाल्नु पर्ने हो कि ?

शाहको जवाफ–

वास्तवमा कुनै पनि सैनिक व्यक्तिले आफूभन्दा ज्येष्ठ सलामीको हकदारलाई पदबमोजिमको सलाम गर्नु उसको कर्तव्य हो भने सलामीको हकदारले पनि उसले गरेको अभिवादनलाई फर्काउनु, उसको पनि उत्तिकै दायित्व हुन्छ ।

जहाँसम्म कतिपय व्यक्तिले सलामीको हकदारलाई नगर्ने गरेको कुरा छ, यस्तै किसिमको विकृति नआओस् भन्ने हेतुले सलामीलाई व्यवस्थित गर्न यसलाई कार्यान्वयन गर्न, नियमन र अनुगमन गर्न सलाम अभिवादन सम्बन्धी कार्यविधि बनाई सबै तहमा वितरण गरिसकिएको अवस्था छ ।

यो कार्यविधि हामी सकलदर्जाले अक्षरांश बुझ्नुपर्ने अवस्था हुन्छ । कार्यविधिलाई सही तरिकाले कार्यान्वयन गर्नु हरेक तहका कर्मचारीको जिम्मेवारी पनि हुन्छ ।

कालिध्वज गणका प्रसु भोविन्द्र राईले पनि फरक किसिमको जिज्ञासा राखे । खाना खाने समयको ग्यापले गर्दा ग्यास्ट्रिक हुने सम्भावना बढेको बताउँदै उनले खाना खाने समय कि पुरानै गर्नुपर्ने कि ब्रेकफास्टको व्यवस्था गर्नुपर्ने सुझाव दिए ।

राईको प्रश्नमा प्रबन्ध तथा सम्भार रथी रघु भण्डारीले जवाफ दिए –

ब्रेकफास्ट खाने र विहानको खाना खाने समयको बीचमा ग्याप एकदमै कम भयो भन्ने गुनासो आएपछि खाना खाने समय परिवर्तन गरिएको थियो । हामीले सुझावहरु संकलन गरेरै ०७५ साल माघ १ गतेबाट खाना खाने समय तालिका बनाएर पठाएको हो ।

पछि यो प्रकारको गुनासो आएपछि आफ्नो युनिटको कार्यप्रकृति अनुसार कुन समयमा कुन खाना खुवाउँदा ठीक हुन्छ, त्यही अनुसार गर्नु भनेर फेरि ०७६ साल जेठ १३ गते खाना खाने समय कार्यालय प्रमुखले मिलाउने गरी गर्ने भनेर निर्देशन गइसकेको छ र तपाईंको जुन जिज्ञासा थियो, त्यो समाधान भइसकेको छ ।

यो पनि पढ्नुहोस
प्रधानसेनापतिलाई प्रश्न– मानार्थ लप्टनको सुविधा किन कम ?
उहाँले त्यो नभए, यो गर्ने भन्नु भएको थियो । तर, उहाँको त्यो पनि गर्ने, यो पनि गर्ने भनेर फेरि ब्रेक फास्टमा हप्ताको एकदिन एउटा अन्डा र ७० ग्राम गहुँ चाहिँ वृद्धि गर्ने भनेर हामीले नीतिगत स्वीकृतिका लागि रक्षा मन्त्रालयमा पठाएका छौं । केही डकुमेन्ट नपुगेको भन्ने भएर फेरि साउन २७ गते अर्थमन्त्रालय पुगेको छ ।

नेपाल क्याबलरीका गुणराज न्यौपानेले स्वास्थ्यसम्बन्धी जिज्ञासा राखे । उनको प्रश्नको जवाफ सैनिक स्वास्थ्य महानिर्देशक प्राविधिक डा. उपरथी सुनिलकुमार सिंहले दिए ।

प्रश्नःसैनिक कार्य तालिम केन्द्रमा सम्पूर्ण तालिम सम्पन्न गरिसकेपछि स्वास्थ्य परीक्षणमा हेपटाइटिस ‘बी’ पोजेटिभ देखिएकाले शान्ति मिसनमा जना नपाइने भन्ने छ । एचआईभी पोजेटिभलाई जस्तै अन्य सेवा सुविधा र सौलियत केही भए हौसला हुने थियो कि ?

जवाफ– यूएनको मेडिकल क्याटागोरीमा हेपटाइटिस ‘बी’ र हेपटाइटिस ‘सी’ पोजिटिभ भएका व्यक्तिलाई पूर्णरुपमा ‘अनफिट’ मान्ने स्पष्ट निर्देशन छ । र, एचआईभी पोजेटिभलाई चाहिँ मेडिकल्ली फिट मानेको छ ।

तर, त्यसको साथ साथै एचआईभी पोजेटिभ भएता पनि एचआईभीको भेनिरबल भएको अवस्थामा विदेश गएका व्यक्तिलाई अनफिट भनिन्छ । निश्चित कोटामा हेपटाइटिस हुँदा विशेष एरियामा जाँदा मानिसमा मानसिक तथा शारीरिक स्ट्रेस पाइएका छन् । हेपटाइटिस ‘बी’ पोजेटिभ व्यक्तिको कलेजोमा पनि खराबी देखिन्छ ।

नीति तथा योजना निर्देशक सहायक रथी मदनकुमार अधिकारीलाई नागर्जुन तालिम गणका देशभक्त चिरञ्जीवि पोखरेलले ‘अन्य ग्रेडका फलोअर्सलाई पनि हुद्दार दर्जा दिन मिल्थ्यो कि ?’ भनेर जिज्ञासा राखे । उनको जवाफमा अधिकारीले भने–

हाल हुने गरेको बढुवा बलाधिकृत विभाग केन्द्रीय योजना तथा नीति शाखाको ०४६ भदौ १३ को पत्र अनुसार भइरहेको हो । सम्पूर्ण फलोअर्सहरुले बढुवा नपाए पनि सैनिक नियमावलीको नियम ७० (६) अनुसार निजहरुले प्रथमदेखि पाँचौ स्तरसम्मको सेवा अवधिको आधारमा तलब भत्तासहित खाइरहेको छन् । त्यस सम्बन्धी अन्य निजहरुबाट पनि गुनासो प्राप्त भइरहेको र फलाअर्सबाट ज्येष्ठताको आधारमा बढुवा दिन नियमावली नै संसोधन गर्नुपर्ने भएकाले यो पनि छलफलकै क्रममा छ ।

कालिबहादुर गणका प्रसु भगिरथ अधिकारी तराईका जिल्ला गर्मीका कारण समस्या भएको सुनाए । उनले तराईका युनिटमा एसी, फ्यान र कुलर निकासा गरिदिन आग्रह गरे ।

जवाफमा अधिकारीले एसी, फ्यान, कुलरलगायत निकासा हुने क्रममा रहेको बताए । ‘आर्थिक वर्ष ०७५/०७६ मा एसी २ सय वटा, एयर कुलर ५० वटा, स्ट्याण्ड फ्यान एक सय वटा गरी प्राप्त भइसकेको छ भने एसी प्राप्त हुने क्रममा छ’, उनले भने, ‘चालू आर्थिक वर्ष ०७६/०७७ मा एसी ३१० वटा, एयर कुलर २५५ वटा र स्ट्याण्ड फ्यान १२४१, सिलिङ फ्यान २०१ गरी आउने क्रममा छन् ।’

यो पनि पढ्नुहोस
पहिलो पटक प्रधानसेनापतिको सम्पत्ति विवरण सार्वजनिक
‘अभिवादनमा नेपाली शब्द प्रयोग गरौं’

हलमा सहभागी अर्का एक सैनिकले नेपाली सेना लगायत अन्य सुरक्षा फौजमा पनि माथिल्लो दर्जाका वा अन्यलाई सलाम गर्ने र गुड मर्निङ भन्ने प्रचलन रहेको बताउँदै गुड मर्निङको ठाउँमा नेपाली भाषाको शब्द प्रयोग गर्न सुझाव दिए ।

जवाफमा कार्यरथी शाहले सेनाभित्र विभिन्न पल्टनको नाम अनुसार सम्बोधन गर्ने चलन भिन्दाभिन्दै रहेको बताए । उनले त्यस सम्बन्धमा परिपत्र भइसकेको पनि बताउँदै सुझावको विषयमा के गर्दा उपयुक्त हुन्छ भन्ने कुराको निक्र्यौलमा पुगेर भविश्यमा निर्णय गर्ने बताए ।

हलमै उपस्थित मेजर मिन बस्नेतले दर्जामा प्रयोग हुने संक्षिप्त शब्दावलीबारे प्रश्न गरे । उनले सैनिक ऐनमा प्रा. सेनानी भन्ने व्यवस्था नभएको बताउँदै भने, ‘विदेश जाँदा पनि ई. अगाडि जोडेर दर्जा राखिन्छ । यो अन्तर्राष्ट्रिय प्रचलन र अभ्यासमा पनि नभएकाले अन्तर्राष्ट्रिय रुपमा टेक्निकल हो भन्ने हिसाबले कसैले बुझ्दैनन् ।’

उनले अगाडि राखिएको संक्षिप्त शब्दावलीका कारण ‘आर यू टेम्पोररी क्याप्टेन’ भन्ने खाल्को प्रश्न सामना गर्नुपर्ने अवस्था रहेको बताए । त्यसैले दर्जालाई परिवर्तन गर्नु उचित छ/छैन भन्ने बस्नेतको जिज्ञासा थियो ।

जवाफमा नेपाली सेनाका नीति तथा योजना निर्देशक आनन्दकुमार अधिकारीले भने–

– हामीकहाँ विभिन्न सेवा समूहका अधिकृतहरु कार्यरत् हुनुहुन्छ । कुन समूहको अधिकृतको दर्जा अगाडि कुन शब्दले सम्बोधन गर्ने भन्ने विषयमा नीतिगत व्यवस्था तय हुँदा पटकपटक तपाईंहरुको पनि सहभागिता भएको अवस्था छ । तपाईंहरुले थाहा पाउनु भयो कि भएन ।

डाक्टर सा’बहरुले पनि प्राविधिक राख्ने/नराख्ने विषयमा हामीलाई भनिराख्नु हुन्छ । खासमा यो सबै समूहका अधिकृतहरुको सहभागिता भएर नै राख्ने या नराख्ने भनिएको हो । यो कुरा नीतिगत निर्णय भएको हुँदा अब फेरि छलफलहरुमा सुझाव आयो भने यसलाई निर्णय गर्न सकिन्छ ।

श्राेत onlinekhabar

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment