बर्सेनि महामारीको चपेटामा चितवन : स्क्रवटाइफसदेखि डेंगुसम्म

बर्सेनि महामारीको चपेटामा चितवन : स्क्रवटाइफसदेखि डेंगुसम्म

२७ भदौ, चितवन । चितवनका अधिकांश अस्पताल यतिबेला भाइरल ज्वरो र डेंगुका बिरामीले भरिभराउ छन् । सरकारी भरतपुर अस्पतालमा यस्ता बिरामीको चाप अत्यधिक छ भने दुई मेडिकल कलेज र अन्य निजि अस्पतालमा पनि बेड खाली छैनन् ।

सरकारी अस्पतालमा त एक जना चिकित्सकले दैनिक १ सयभन्दा बढी बिरामी हेर्नुपर्ने अवस्था छ । आएका बिरामीलाई फर्काउने कुरा पनि भएन । अस्पतालले टिकट लिएका कुनै पनि बिरामीलाई फर्काउँदैन ।

गत आइतबार भरतपुर अस्पतालमा अहिलेसम्मकै धेरै १९ सय २२ जनाले ओपीडीमा र ३ सय जनाले आकस्मिक कक्षबाट सेवा लिए । सीमित स्रोत साधन र कमजोर पूर्वाधारको सहायताले यतिका संख्यामा बिरामीलाई सेवा दिनु पक्कै पनि चुनौतीपूर्ण छ । बेड नभएर भुइँमा राखेर उपचार गराउनुपर्ने, अत्यन्तै भीडभाडमा हतार हतारमा काम गर्नुपर्ने अवस्था यहाँका अस्पतालमा देखिन्छ ।

चितवनमा हरेक वर्ष यो सिजनमा कुनै न कुनै रोग महामारीकै रुपमा देखापर्ने गरेको छ । केही वर्षको फरकमा डेंगु, भाइरल ज्वरो र स्क्रवटाइफसले यहाँको जनजीवनलाई आक्रान्त पार्छ । जिल्लामा डेंगु, स्क्रवटाइफस, स्वाइन फ्लु, औलो, चिकनगुनिया, लेप्टोस्पाइरोसिस्, झाडापखाला, मलेरिया, टाइफाइड, कालाजार, जापानिज इन्सेफ्लाइटिस्, ब्रसेलोसिस् (नपाएको काँचो मासुबाट सर्ने र काँचो दूधबाट लाग्ने ) रोग बारम्बार फैलिने गरेको पाइन्छ । विशेषगरी असारदेखि असोजसम्म बढी मात्रामा संक्रामक रोगहरु फैलिने गरेको पाइन्छ ।

यस वर्ष साउन महिनादेखि नै डेंगुको प्रकोप फैलिएको छ । विशेषगरी भरतपुर महानगरपालिका क्षेत्रमा डेंगुका रोगीहरु धेरै छन् । नारायणगढ बजार क्षेत्र त डेंगु उत्पादन गर्ने कारखाना नै बनेको बताउँछन् जनस्वास्थ्य कार्यालय चितवनका निमित्त प्रमुख अनुप अधिकारी । हरेकका घरघरका छत र यत्रतत्र फालिएका टायर, टिन र प्लाट्रिकका बोत्तलमा डेंगुले डेरा जमाइरहेको उनको भनाइ छ ।

जिल्ला स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार अहिलेसम्म जिल्लामा ४ हजार ४ सय ४५ जनामा गरिएको रगत परीक्षणमा १४ सय ६० जनामा डेंगुको संक्रमण देखिएको छ । यो अहिलेसम्मकै उच्च अंक हो । यसअघि आ.व. ०६७/०६८ मा ७३९ जनामा डेंगुको संक्रमण भेटिएको थियो ।

कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले डेंगुको संक्रमण असोज कार्तिकमा मात्रै हुने गरेकोमा यसपटक साउनबाट नै सुरु भएको बताए । ‘डेंगुको सिजन त बल्ल सुरु हुँदैछ’, निरीक्षक केसीले भने, ‘हाम्रोमा यसपटक नयाँ स्वरूप र समयमा डेंगु देखियो, अझै दुई महिनासम्म यसको जोखिम छ ।’ चितवनमा डेंगु सन् २००४ मा पहिलोपटक एक विदेशीलाई देखिएको थियो ।

यस वर्ष डेंगुले महामारीकै रुप लिए पनि गत वर्ष यसको संक्रमणको दर न्यून थियो । जम्मा ३१ जना मात्रैं डेंगुबाट गत वर्ष प्रभावित बनेका थिए । गत वर्ष डेंगुभन्दा बढी स्क्रव टाइफसको संक्रमण देखिएको थियो । आर्थिक वर्ष ०७५/७६ मा चितवनमा स्क्रव टाइफसको संक्रमणमा ३३३ जना परे । दुई जनाको मृत्यु नै भयो ।

आ.व. ०७३/०७४ मा इनफ्लुएन्जा ए पनि डेंगु र स्क्रवसँगै देखियो । सो वर्ष ३५४ जना इनफ्लुएन्जा ए एचवान ए वानबाट पीडित बने । त्यसयता भने यो रोग देखिएको छैन । भरतपुर अस्पतालको मेडिकल विभागका प्रमुख डा. प्रकाश खतिवडाले चितवनमा संक्रामक रोग अनेक रुपमा प्रकट हुने बताउँछन् ।

डा. खतिवडाले भने, ‘रोगका नयाँ–नयाँ स्वरुप थपिनु भनेको चुनौती पनि हो, अवसर पनि हो । चिकित्सक र अनुसन्धानकर्ताहरुका लागि नयाँ रोग नयाँ भर्सनमा देखिनु तत्कालका लागि चुनौती भए पनि दीर्घकालका लागि अवसर हो ।’

पछिल्ला केही वर्षमा चितवनमा देखिएको संक्रामक रोगको ट्रेण्ड यस्तो छ ।
किन बारम्बार फैलिन्छ महामारी ?

देशकै केन्द्रभागमा रहेको चितवनमा विभिन्न जिल्लाबाट मानिसहरु आउने र बसोवास गर्ने गरेका छन् । पूर्व–पश्चिम राजमार्गको ट्रान्जिट प्वाइन्ट पनि हो चितवन ।

पशुपन्छी र चौपाया भारतबाट ल्याएर लैजाने, विभिन्न ठाउँका मानिसहरुको आवतजावत रहने हुँदा उनीहरुसँगै रोगहरु पनि भित्रिने गरेको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत अनुप अधिकारी बताउँछन् । जिल्लामा धेरै अस्पताल हुनु र अस्पतालमा उपचारका लागि विभिन्न ठाँउबाट रोगीहरु आउँदा त्यसबाट पनि संक्रमण फैलिने गरेको उनको भनाइ छ । रोगको संक्रमणका लागि चितवनको मौसमले पनि भूमिका खेल्ने चिकित्सकहरु बताउँछन् ।

‘रोग लगाउन चाहिने ‘एजेन्ट’, रोग लिने ‘होस्ट’ र वातावरण तीनै चीज चितवनमा अनुकुल छन्,’ डा. अधिकारीले भने ।

गर्मी र आबद्धता बढि हुने, एकैदिनमा मौसम परिवर्तन भैरहने हुँदा भाइरस र ब्याक्टेरिया यस्तो मौसममा बढि फैलिने डा. भोजराज अधिकारी बताउँछन् । अहिले डेंगु सार्ने एजिप्ट एडिस लामखुट्टे १० डिग्री सेल्सीयसभन्दा कम र ४० डिग्रीभन्दा बढी तापक्रममा बाँच्न सक्दैन । तर, पछिल्लो समयमा चितवनको तापक्रम डेंगु बाँच्न अनुकुल छ ।

पानी निरन्तर परिरहेको र गर्मी पनि बढि भएको हुँदा डेंगु संक्रमण गराउने लामखुट्टेलाई फैलिन सहयोग पुगिरहेको डा. अधिकारीले बताए । यो संक्रमण अझै केही सातासम्म जाने उनको आँकलन छ ।

तीन महिनाभन्दा बढि समय चितवनमा जाडो हुँदैन । जिल्लामा बढ्दो अव्यवस्थित शहरीकरणले पनि रोगलाई प्रश्रय दिइरहेको छ । वितेको १० बर्षमा यहाँको जनसंख्या निकै बढेको छ । जनसंख्याको अधिक चाप र बढ्दो शहरीकरण लामखुट्टेका लागि अनुकुलता बन्दै गएको छ ।

२५ प्रतिशत बिरामी डेंगुका : डा. अधिकारी

रोग तीन प्रकारका हुन्छन् । सर्ने, नसर्ने र इमजिङ एण्ड रिइमर्जिङ । हामीले विगतमा महत्व नदिएका रोगहरु फेरी रिइमर्जिङ भएर पनि आएका छन् । कतिपय रोगहरु यहिँ नै पत्ता लागेका छन् ।

स्क्रव टाइफस चितवनमा नै पत्ता लागेको हो । यस बारेमा अनुसन्धानहरु पनि भएका छन् । भलै हामीकहाँ त्यस्ता अनुसन्धान गर्ने निकाय र स्रोत त्यति छैन । मैले भरतपुर महानगरपालिका र क्षेत्र नं. १ र ३ का सांसदसँग पनि जिल्लामा आधुनिक सुविधायुक्त आरएण्डआर (रिर्सच एण्ड रिफरेन्स) खोल्नुपर्ने सुझाव दिएको छु ।

रोगको पहिचान र समाधानका लागि त यसले मद्धत गर्छ नै थप अनुसन्धानका लागि सहयोगी बन्छ । कतिपय ल्यावका रिर्पोटहरु नै अलग अलग आएको सन्र्दभमा रिफरेन्स केलाई मान्ने भन्ने कुराको पनि निक्यौल यसले गर्छ ।

चितवनलाई मेडिकल सिटी भनेर व्याख्या गरेको पाइन्छ । मेडिकल क्षेत्रमा हुन सक्ने विकासलाई मध्यनजर गर्दै यसलाई मेडिकल सिटी भनिएको हुनुपर्छ । तर अर्को अर्थमा बुझ्दा जहाँ रोगको सम्भावनाहरु धेरै हुन्छन्, त्यहाँ रोगको बारेमा खोजी र अनुसन्धानहरु पनि बढी हुन्छन् । अहिलेसम्मको परिस्थिति हेर्दा चितवन रोगको राजधानी त भएको छ नै, तर अनुसन्धान र खोजी भने एकदमै कम छ ।

विगत एक दशकलाई हेर्ने हो भने फरक–फरक खालको र फरक प्रकृतिको भाइरल ज्वरोहरु अथवा ब्याक्टेरियल संक्रमणहरु अथवा नयाँ रोगहरुको सुरुवात चितवनबाट नै हुने गरेको छ । कुनै–कुनै बर्षमा महामारीको रुपसमेत लिने गरेको पाइन्छ । त्यसै क्रममा यस वर्ष डेंगुको संक्रमणले धेरै जसो जिल्लाका जनजीवन प्रभावित तुल्याएको छ ।

चितवनको सबैभन्दा जेठो भरतपुर अस्पताल, दुईवटा ठुला मेडिकल कलेजहरु र करिब २ दर्जनभन्दा बढि नीजि अस्पतालहरु ज्वरोका विरामी र त्यसको पनि मुख्य हिस्सा डेंगुको कारणले भरिभराउ भएका छन् । सामान्यतया तथ्याकंलाई हेर्दा हरेक अस्पतालहरुमा एक सय जना भर्ना हुँदा ५० देखि ६० जना ज्वरोको र त्यसको ५०–६० प्रतिशत हिस्सा डेंगुका विरामी छन् । त्यसकारण डेंगु रोग के हो भनेर जानकारी गराउनु र बुझ्नु आजको महत्वपूर्ण विषय हो

श्राेत onlinekhabar

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment