लामखुट्टे मार्ने फगर मेसिनले स्वास्थ्यमा गम्भीर असर

लामखुट्टे मार्ने फगर मेसिनले स्वास्थ्यमा गम्भीर असर

२७ भदौ, काठमाडौं । गत बुधबार भक्तपुर क्षेत्र नम्बर २ का सांसद महेश बस्नेत लामखुट्टे मार्ने फगर मेसिन लिएर बस्तीमा पसे । उनी फगर मेसिन लिएर मनहराको सुकुम्बासी बस्ती पुगेका थिए ।

डेंगुको डर बढिरहँदा अहिले डेंगु प्रभावित क्षेत्रमा लामखुट्टे मार्न देशका विभिन्न ठाउँमा फगर मेसिन चलाइएको छ ।

क्रुबी फाउन्डेसन नामक संस्थासँगको सहकार्यमा अहिले डेंगु प्रभावित क्षेत्रमा औषधि छर्ने काम भइरहेको हो । स्थानीय सरकार तथा एनजीओ तथा आईएनजीओहरुले फगर मेसिन चलाइरहेका छन् ।

ललितपुर महानगरपालिकाका केही वडा र काठमाडौं महानगरपालिकाका १२, १३ र १४ नम्बर वडाभित्र औषधी छरिसकिएको छ । अन्य ठाउँमा पनि फगर मेसिन चलाउने काम भइरहेको छ ।

तर, चिकित्सकहरुले बताए अनुसार यसरी वस्तीमा फगर मेसिन चलाउँदा मानव स्वास्थ्यमा गम्भीर असर पर्छ । डेंगु एडिस जातिका (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टे विशेष गरी झाडीमा भन्दा घरमा बस्ने भएकाले फगर मेसिन वस्तीमा चलाएर डेंगु गराउने लामखुट्टे सखाप हुन्न । घरमा फगर मेसिन चलाउनु झनै घातक हुने चिकित्सकहरु बताउँछन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रका डा. शेरबहादुर पुन सरकारले वस्तीमा फगर मेसिन चलाएर गलत गरेको बताउँछन्।

फगर मेसिनले स्वास्थ्यमा नकरात्मक असर पार्ने भन्दै उनी भन्छन्, ‘डेंगु गराउने लामखुट्टे त घरभित्र मानिसहरु सँगै हुन्छ । त्यसैले वस्तीमा फगर मेसिन चलाएर मानव स्वास्थ्यलाई असर हुने हो घरभित्र बसेका लामखुट्टेलाई केही हुन्न ।’

स्वास्थ्य मन्त्रालयलका प्रवक्ता महेन्द्र श्रेष्ठ पनि फगर मेसिनले मानव स्वास्थ्यलाई नकरात्मक असर पार्ने बताउँछन् । स्वास्थ्य मन्त्रालयसँग फगर मेसिन भए पनि मानव स्वास्थ्यलाई नकरात्मक असर पार्ने भन्दै नचलाएको उनको कथन छ। उनका अनुसार फगर मेसिनले धेरै भन्दा धेरै लामखुट्टेको लार्भाहरु नष्ट गर्न सक्दैन । यो मौसममा लामखुट्टेले धेरै लार्भाहरु छाड्ने भएकाले फगर मेसिन प्रभावकारी हुन्न ।

प्रवक्ता श्रेष्ठका अनुसार ललितपुरमा फगर मेसिन चलाएपछि त्यहाका स्थानीयले जनावरलाई घाँस खुवाउनु हुन्छ कि हुन्न भनेर सोधेका थिए । मानवलाई झैं जनावरको स्वास्थ्यलाई असर पार्ने भन्दै पानी नपरिकन घास नखुवाउन स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको थियो।

प्रवक्ता श्रेष्ठ भन्छन्, ‘हामीले फगर मेसिन डेंगु विरुद्धको लामखुट्टेका लागि प्रभावकारी नभएको र मानव स्वास्थ्यलाई नकरात्मक असर नपार्ने भन्दै नचलाउन निर्देशन दिएका छौं।’

स्वास्थ्य मन्त्रालयले फगर मेसिन नचलाउन निर्देशन दिए पनि फगर मेसिन विभिन्न ठाउँमा चलिरहेको छ । स्थानीय तहका जनप्रतिनिधि र सांसदहरू नै यो काममा संलग्न छन् ।

कसले चलाइरहेको छ फगर मेसिन ?

विभिन्न स्थानीय तह र एनजीओले फगर मेसिन चलाइरहेको प्रवक्ता श्रेष्ठ बताउँछन् । उनका अनुसार अहिले स्थानीय तहलाई नै डेंगु नियन्त्रण गर्ने अधिकार भएकाले यो काम गरिरहेका छन् । उनी भन्छन्, ‘अहिले हामीले फगर मेसिन नचलाउन निर्देशन दिएका छौं, बन्द गर्छन् होला सायद ।’

काठमाडौंको लगनमा फगर मेसिन चलाइँदै ।
शुक्रराज ट्रफिकल तथा सरुवा रोग केन्द्रका अर्का एक डाक्टर अहिले फगर मेसिन चलाइरहेका मानिसहरु यो विषयमा जानकार प्राविधिक नभएका कारण झनै खतरा हुने उनी बताउँछन् । उनका अनुसार यस्ता विषयमा काम गर्न दक्ष ईन्टोमोलोजिष्टहरु (कीट विज्ञान विशेषज्ञ) नै चाहिन्छ । फगर मेसिनमा डिजेल, पेट्रोल र जिभ्यान नामक किटनाशक औषधी मिसाएर ‘गन स्प्रे’ गरिन्छ । यो सिप ईन्टोमोलोजिष्टहरुसँग मात्र हुन्छ । तर, स्वास्थ्य मन्त्रालयसँग ईन्टोमोलोजिष्टको दरबन्दी नै छैन ।

स्वास्थ्यमन्त्री उपेन्द्र यादवको त्यो निर्णय

स्वास्थ्यमन्त्री उपेन्द्र यादवको गत वर्षको एउटा निर्णयका कारण सरकारलाई अहिले डेंगु भारी परिरहेको छ । गत जेठबाट सुरु भएको डेंगु ५६ जिल्लामा फैलिसक्दा ६ जनाले ज्यान गुमाइसकेका छन् । डेंगु संक्रमित हुनेहरुको सङख्या ५ हजार नाघिसकेको छ । स्वास्थ्य मन्त्रालयले अहिलेसम्म ’सर्च एण्ड डिस्ट्रोय’ भन्नुबाहेक अर्को कुनै ठोस योजना बनाएर काम नगर्नुले पनि डेंगुले महामारीको रुप लिएको छ ।

डेंगुजस्तो रोग नियन्त्रण गर्ने कामका विशेषज्ञसहितका करीब ८० जनाको समूहलाई स्वास्थ्यमन्त्री उपेन्द्र यादव रहेकै बेला गत वर्ष जगेडामा राख्ने निर्णय गरिएको थियो । वर्षेनी डेंगु जस्ता रोगहरु फैलिइरहेका बेला सरकारले गरेको यो निर्णयले ईन्टोमोलोजिष्टहरुलाई आश्चर्यमा पारेको थियो ।

यो पनि पढ्नुहोस
डेंगुमा उपेन्द्र यादवले गुमाए अवसर
आर्थिक वर्ष ०६०/६१ मा एकजना मात्र डेंगु संक्रमित भेटिएकामा आ व ०६६/०६७ मा यो संख्या ९१५ पुग्यो। उक्त वर्ष डेंगु संक्रमित पाँच जनाको ज्यान गएको थियो। यस्तै, आव ०७२/७३ मा एक हजार ५२९ जना र ०७५/०७६ मा तीन हजार ४२५ संक्रमित भेटिएका थिए ।

यही तथ्यांक हेरेको भए मन्त्री यादवले हचुवामा निर्णय नगर्न पनि सक्थे । तर, हरेक वर्ष इतिहास दोहोरिरहँदा पनि उनले इन्टोमोलोजिष्टहरुलाई वेवास्ता गरे । आगामी वर्ष डेंगु अझै फैलने आकलन गरेर योजना बनाएनन्। इन्टोमोलोजिष्टहरुलाई व्यावस्थापन गर्न कुनै पहल नै गरेनन् । त्यसैको फलस्वरुप यो अवस्था आयो ।

इन्टोमोलोजिष्टहरुलाई बेवास्ता नगरेको र जिम्मेवारविहीन बनाएको भए यो समस्या चाँडै सल्टिने टेकु अस्पतालका एक चिकित्सक बताउँछन् ।

इन्टोमोलोजिष्टहरुले डेंगु जस्ता किटजन्य रोग नियन्त्रण प्रकोप फैलिएको ठाउँमा औषधि छर्ने, संक्रमितको तथ्यांक संकलन गर्ने र बहुक्षेत्रीय सहकार्यमा नियन्त्रणका कार्यक्रम सञ्चालन गर्छन्। डेंगुको औषधि कसरी गर्ने भन्ने बारेमा उनीहरुलाई मात्र राम्रो जानकारी हुन्छ ।

डेंगुको प्रकोप देखिएको पाकिस्तान सरकारले ७०० इन्टोमोलोजिष्ट खटाएको छ । बङ्गलादेश र श्रीलंकामा त्यहाँका सरकारले झण्डै ३०० को हाराहारीमा इन्टोमोलोजिष्ट खटाएका छन् । तर, मन्त्रालयसँग इन्टोमोलोजिष्टको दरबन्दी नै छैन । भएका एकजना सहायक इन्टोमोलोजिष्ट कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौंडामा कार्यरत छन् ।

लोकसेवा आयोगले ०७१ सालमा सहायक इन्टोमोलोजिष्ट राख्न मिल्ने स्वीकृति दिएको थियो । तर, स्वास्थ्य मन्त्रालयले त्यसका लागि वास्ता गरेन । त्यसबेला इडीसीडीले दुईजना सहायक इन्टोमोलिष्टलाई काममा खटाउन प्रस्ताव गरेको थियो ।

श्राेत onlinekhabar

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment