सौरमण्डल बाहिरबाट आएको दोस्रो अन्तरब्रह्माण्डीय धुमकेतु

सौरमण्डल बाहिरबाट आएको दोस्रो अन्तरब्रह्माण्डीय धुमकेतु

मंगल ग्रहको कक्षतिर तीव्र गतिमा हुर्रिँदै गइरहेको एउटा धुमकेतु (पुच्छ्रेतारा) फेला परेपछि खगोलविदहरु उक्त धुमकेतु अन्तरब्रह्माण्डीय (सौरमण्डल बाहिरबाट आएको) हो होइन पत्ता लगाउन जुटेका छन्।

क्रिमियाका एक सोखिन खगोलविद गेन्नाडी बोरिसोभले पत्ता लगाएको उक्त धुमकेतुको नाम सुरुमा जिबी००२३४ राखिएको भए पनि पछि बोरिसोभकै नामबाट सि/२०१९ क्यु४ (बोरिसोभ) राखिएको रोयटर्सले जनाएको छ। यो धुमकेतु हाम्रो सौरमण्डल भित्रकै नभएको प्रमाणित भए बाहिरबाट आएको दोस्रो अन्तर ब्रह्माण्डीय पिण्ड हुनेछ।

अत्यन्त घुमाउरो (बाटुलो) कक्ष रहेको यो धुमकेतु अत्यन्तै अस्वाभाविक तीव्र गतिमा मंगलको कक्षनजिकबाट सूर्यतर्फ जानेछ। यसको अस्वाभाविक तीव्र गति र बाटुलाकार कक्षका आधारमा खगोलविदहरुले यो धुमकेतु अन्तर ब्रह्माण्डीय नै हुनसक्ने अर्थात् सौरमण्डलबाहिरबाट आएको अनुमान लगाइरहेका छन्।

‘हाम्रो टोली अहिले यो धुमकेतुको स्थितिको अवलोकन र गणना गर्न व्यस्त छ,’ हवाई विश्वविद्यालयका खगोलविद कारेन मिचले भने। उनीसहित हवाई विश्वविद्यालयको खगोलविदहरुको एउटा टोलीले नै यो पिण्डको आकार र पुच्छरमा रहेका ग्यासहरुका आधारमा यो धुमकेतु (पुच्छ्रेतारा) नै भएको निक्र्योल गरेको थियो।

यसभन्दा अघि अन्तर ब्रह्माण्डीय पिण्डका रुपमा सन् २०१७ मा ‘ओमुआमुआ’ सौरमण्डलमा यात्रा गर्दै बाहिरिएको थियो। हार्वर्ड विश्वविद्यालयको एमपिसी (द माइनर प्लानेट सेन्टर) ले यो धुमकेतु पत्ता लागेको औपचारिक घोषणा गरेको बिबिसीले उल्लेख गरेको छ।

यो धुमकेतुको कक्ष वृत्ताकार नभएर अत्यन्त बाटुलाकार (हाइपरबोलिक) भएका कारण नै खगोलविदहरुले यो सौरमण्डलबाहिरबाट अर्थात् अर्को तारामण्डलबाट आएको हुनसक्ने अनुमान गरिरहेका छन्।

सामान्यतया वृत्ताकार कक्ष भन्नाले शून्य आकारको कक्ष बुझिन्छ। एउटा पूर्ण वृत्तको इसेन्ट्रिसिटी शून्य हुन्छ। अथवा अर्को शब्दमा इसेन्ट्रिसिटीले कुनै पनि आकाशीय पिण्डको कक्ष कति वृत्ताकार, गोलाकार वा बाटुलाकार छ भन्ने बताउँछ। इसेन्ट्रिसिटी जति बढी हुन्छ, त्यति नै उक्त आकाशीय पिण्डको कक्ष बाटुलाकार (वृत्ताकार नभएको) मानिन्छ।

अधिकांश ग्रह, क्षुद्रग्रह (एस्टेरोइड) र धुमकेतुहरुको कक्ष (वृत्त र परिक्रमा पथको आकारमा भएको फरक–इसेन्ट्रिसिटी) शून्यदेखि १ को बीचमा हुने गर्छ। तर अहिले उपलब्ध तथ्यांकहरुका आधारमा सि÷२०१९ क्यु४ (बोरिसोभ) धुमकेतुको इसेन्ट्रिसिटी ३ दशमलव २ छ, जुन अत्यन्त धेरै हो।

युक्रेनी खगोलविद बोरिसेभले बाक्सिसरायस्थित क्रिमियन अस्ट्रोफिजिकल अब्जरभेटरीबाट आकाश अवलोकनका क्रममा अगस्ट ३० मा यो धुमकेतु फेला पारेका थिए। त्यसबेला यो धुमकेतु सूर्यबाट ३ एयू (अस्ट्रोनोमिकल युनिट बराबर पृथ्वीबाट सूर्यसम्मको दुरी अर्थात् ९ करोड ३ लाख माइल वा १५ करोड किलोमिटरको दुरी बराबर मानिन्छ) टाढा थियो।

निकै सानो र धमिलो ओमुआमुआको तुलनामा अहिले देखिएको धुमकेतु निकै ठूलो करिब २० किलोमिटर चौडा र चमकदार रहेको खगोलविदहरुले बताएका छन्।

त्यसबाहेक पनि सि/२०१९ क्यु४ (बोरिसोभ) अझै सौरमण्डलभित्र प्रवेश गरिरहेको छ र यो डिसेम्बर १० मा मात्र आफ्नो कक्षमा सूर्यको सबैभन्दा नजिक पुग्नेछ। ओमुआमुआ भने सूर्यको नजिक पुगेपछि मात्र पत्ता लागेको थियो। एमपिसीले जनाएअनुसार अझै करिब एक वर्षसम्म सि/२०१९ क्यु४ (बोरिसोभ) अवलोकन गर्न सकिनेछ। यसबाट खगोलविदहरु निकै उत्साहित छन्।

करिब एक वर्ष अवलोकन र अध्ययन गर्ने समय भएकाले खगोलविदहरु अन्तर ब्रह्माण्डीय सि/२०१९ क्यु४ (बोरिसोभ) धुमकेतुको अवलोकन र अध्ययनबाट अन्य तारामण्डल कस्ता छन्, त्यसको विशेषता र गुणहरुबारे जानकारी पाउने अपेक्षा राखेका छन्।

श्राेत annapurnapost

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment