भ्रष्टाचारीलाई एक घण्टाभित्रै कारवाही : मुख्यमन्त्री राई

भ्रष्टाचारीलाई एक घण्टाभित्रै कारवाही : मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउँदै सूचना पाएको १ घण्टाभित्र भ्रष्टाचारीलाई कारवाही गर्ने बताएका छन् ।

सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री राई र सहभागी । तस्वीहरु : कमल रिमाल
गृह मन्त्रालय र प्रदेश १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले विराटनगरमा गरेको दुई दिने प्रदेश स्तरीय सुरक्षा गोष्ठीको अन्तिम दिन आइतबार मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् ।

उनले भ्रष्टाचारको सूचना दिन जिल्लाका सुरक्षाकर्मी र प्रमुख जिल्ला अधिकारीहरूलाई आग्रह गरे । “अनियमितता, भ्रष्टाचार र कमिशनका घटना सुनिने गरेका छन्”, राईले भने, “म मुख्यमन्त्रीको हैसियतले यो रोक्न सार्वजनिक आह्वान गर्दछु ।”

भ्रष्टाचार रोक्न प्रदेश सरकारले पहिलो प्राथमिकता दिएको बताउँदै उनले प्रदेशमा संगठित अपराध, हत्या, बलात्कार, चोरी, लुटपाटका घटना कायम रहेको बताए ।

प्रदेशका १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रतिनिधिहरूलाई आग्रह गर्दै उनले सुरक्षा व्यवस्था अझ मजबुत बनाउनुपर्ने अवस्था रहेको बताए ।

संघ, प्रदेश र स्थानीयतहको समन्वयले मात्रै अपराध नियन्त्रण गर्न सकिने उनको भनाइ छ । प्रदेश १ बाटै देशमा सुरक्षा अंगलाई मजबुत बनाउन शुरु भएको बताउँदै मुख्यमन्त्री राईले सुरक्षाकर्मीका लागि मोटरसाइकल, गाडी खरीद गरिएको र भवन निर्माणका लागि बजेट छुट्याइएको जानकारी दिए ।

“जनताले तत्कालै सुरक्षा पाऊन् भनेर मोटरसाइकल, गाडी वितरण गरियो, आवासका लागि बजेटको व्यवस्था गरिएको छ”, उनले भने ।

सुरक्षा गोष्ठीलाई गृहमन्त्री रामबहादुर थापाले सम्बोधन गर्ने कार्यक्रम तय भएकोमा काठमाडौंको खराब मौसमका कारण उनी उपस्थित हुन नसकेपछि मुख्यमन्त्री राईले सम्बोधन गरे ।

गोष्ठीमा आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतबहादुर कार्कीले सुरक्षाका बारेमा संघीय मन्त्रालयसँग संयुक्त रूपमा पहिलो पटक कार्यक्रम गरिएको बताए । गोष्ठीमा १४ वटै जिल्लाका प्रतिनिधिहरूले सुरक्षा अवस्था र चुनौतीका बारेमा धारणा राखेका छन् ।

श्राेत himalkhabar

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment