कुकुर लगाएर बलात्कार : घटनाबारे आयोगले छानबिन गर्ने

कुकुर लगाएर बलात्कार : घटनाबारे आयोगले छानबिन गर्ने

काठमाडौँ — कुकुर लगाई एक युवतीको बलात्कार गरिएको घटनाबारे मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । यसबारे आयोगले बिहीबार नेपालगन्जस्थित क्षेत्रीय कार्यालयलाई सत्यतथ्य पत्ता लगाउन निर्देशन दिइसकेको छ ।

‘मैले नेपालगन्जको कार्यालयलाई घटनाबारे वस्तुतथ्य पत्ता लगाउन भनिसकेको छु,’ आयोगको अनुसन्धान महाशाखाको जिम्मेवारी सम्हाल्दै आएका आयुक्त गोविन्द शर्मा पौडेलले भने, ‘घटनामा संलग्न भनिएको चिसापानी ब्यारेकमा पुगेर स्थिति अवलोकन गर्न पनि भनेको छु ।’

पीडित युवतीले दिएको बयान र २०५८ मंसिर वरपर केन्द्रित रही त्यतिबेला विभिन्न निकायमा अभिलेखमा रहेका कागजात, उजुरी तथा त्यसपछिका उपलब्ध सम्बन्धित विवरण संकलन गरेपछि त्यसका आधारमा थप निर्णय लिइने शर्माले बताए । यता उजुरी दिन सेनाले गरेको आग्रहलाई पीडित पक्षले सकारात्मक रूपमा लिएको प्रतिक्रिया दिएको छ ।

यो पनि
कुकुरबाट बलात्कार गराइएको घटना छानबिन गर : आयोग
गोपनीयता भंग नहुने गरी र थप क्षति हुँदैन भन्ने निश्चय हुने गरी कुनै निष्पक्ष संयन्त्र बनेमा पीडित उजुरी गर्न तयार रहेको पीडित परिवारले जानकारी दिएको छ । ‘यस सम्बन्धमा हामी छलफल गरिरहेका छौं । उपयुक्त ढंगले कसरी अघि बढ्न सकिन्छ भनेर सोच्दै छौं,’ पीडित परिवारका एक सदस्यले भने, ‘सेनाले सघाउँछु भन्नु सकारात्मक हो तर उनमा अझै विश्वास पलाएको छैन ।’

पीडित युवतीले आफूमाथि भएको घटनाबारे मुख खोल्नुअघि ‘सत्यको बयान’ अभियानको आयोजक द्वन्द्वपीडित साझा चौतारीले एक ‘क्लिनिकल साइक्लोजिस्ट’ महिलासँग लामै परामर्श गराएको थियो । पछि बन्द कोठाबाट माइक्रोफोन जडान गरी बोल्ने बेलामा उनको साथमा पनि काउन्सिलर थिइन् ।

कान्तिपुरले बिहीबार ती काउन्सिलरसँग गरेको कुराकानीमा पीडितको स्वास्थ्यबारे थप केही विवरण प्राप्त भएको छ, जसले उनलाई तत्काल उपचारको खाँचो भएको देखाउँछ । उनका अनुसार काउन्सिलिङका क्रममा आफू किन यस्तो कमजोर हुन पुगेँ भनेर आफ्नो समुदायका महिलालाई बारम्बार सोधे पनि कसैले चासोका साथ नसुनेकाले आफू थप व्यथित हुन पुगेको पीडित युवतीले बताएकी थिइन् । ‘उहाँको स्वास्थ्य कतिसम्म बिग्रेको छ भने उहाँ स्थिर भएर बस्न सक्नुहुन्न,’ आफ्नो परिचय नखुलाउने सर्तमा ती काउन्सिलरले भनिन्, ‘एकदमै दुख्ने भएकाले उहाँ बस्न सक्नुहुन्न, आफ्ना भोगाइ अभिव्यक्त गर्ने क्रममा पनि धेरै पटक अधीर हुनुभएको थियो ।’ जीउ ज्यादै दुखे पनि आर्थिक अभावका कारण उपचार गराउन नसकेको गुनासो उनले काउन्सिलिङका क्रममा गरेकी थिइन् । ‘मलाई ज्यादै दु:ख्छ, औषधिबिना एक क्षण पनि बस्न गाह्रो छ,’ पीडितलाई उद्धृत गर्दै काउन्सिलरले भनिन् ।

यो पनि
द्वन्द्वकालमा यौन हिंसापीडित युवतीको बयान- ‘कुकुरबाट बलात्कार गराइयो’

गाउँमा अरूले झैं मेलापात गर्न असमर्थ हुँदा आफूलाई सबैले अल्छी भन्ने गरेकामा पनि पीडितको चित्त दुखाइ रहेको उनले बताइन् । ‘सबभन्दा ठूलो दु:ख त उहाँलाई छोराका आँखामा पलाएको मासुको डल्लोको उपचार गर्न नसक्दा भएको अवस्थाले दिएको रहेछ,’ उनले भनिन्, ‘उनका छोरालाई स्कुलमा सबैले तिम्रा आँखामा यो के भएको हो भनी सोध्दा रहेछन्, हरेकलाई जवाफ दिँदादिँदा छोरामा तनाव बढेको देखेपछि उनलाई झनै विरक्त लाग्दो रहेछ ।’

प्रारम्भिक कक्षामा पढ्दै गरेका उनका छोरा प्रस्टसँग नदेख्ने समस्याबाट गुज्रिरहेका छन् । बलात्कारले गर्दा पाठेघरमा भएको घाउका कारण बच्चा नपाउन डाक्टरले दिएको सल्लाहलाई लत्याएर एक छोरा जन्माउँदा उसका आँखामा देखिएको खराबीले आफू आहत भएको पीडित युवतीले बयान दिएकी थिइन् ।

आफ्नो नसके पनि बच्चाको उपचार गरूँ भन्ने उनको चाहना आर्थिक अभावका कारण अवरुद्ध हुन पुगेको परिवारका एक सदस्यले पनि स्विकारे । ‘उपचार व्यवस्था र उजुरी गर्दा ढुक्क हुन सक्ने संयन्त्रको विकास गर्न पाए हुन्थ्यो,’ उनले भने, ‘तर कमजोर आर्थिक अवस्थाका कारण उपचार हुन सकेको छैन, सेनाप्रतिको उनको डरले पनि उजुरी गर्ने अवस्था छैन ।’श्राेत ekantipur

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment