पैसा तिर्न नसकेपछि अस्पतालमा शव नै ‘बन्धक’

पैसा तिर्न नसकेपछि अस्पतालमा शव नै ‘बन्धक’

बिर्तामोड — श्रीमानको शवका लागि सबिना राजवंशीले हारगुहार गरिरहेकी छिन् । ४९ बर्षीय श्रीमान जंगबहादुर राजवंशीको शव ५ दिनदेखि अस्पतालमा ‘बन्धक’ छ ।

बिर्तामोडस्थित बीएण्डसी अस्पताललाई ५ लाख २५ हजार रुपैयाँ बुझाउँन नसक्दा सबिनाले श्रीमानको शव घर ल्याउन पाएकी छैनन् । ‘राजवंशी संस्कार’ अनुसार निधन भएको एक दिन पनि शव राख्न मिल्दैन । आईसीयूमा ९ दिनसम्म उपचार गराउदा समेत श्रीमानलाई बचाउन नसकेका सबिना मृत्यु भएको ५ औं दिनसम्म श्रीमानको शव बुझ्न नपाउदा थप विक्षिप्त बनेकी छिन् ।

छोराहरु ९ बर्षका रबिन र ८ बर्षका लक्कीले बुबाको मृत्युको खबरले ५ दिनदेखि राम्ररी खाना खाएका छैनन् । घरमा सन्नटा छ । आफन्त सबै अस्पतालमा ‘बन्धक’ रहेको शव ल्याएर दाहसंस्कार गराउने प्रयत्नमा जुटिरहेका छन् । तर, पैंसा नहुदा अस्पतालबाट शव छुटाउन सकिरहेका छैनन् ।

बिर्तामोड नगरपालिका ४ निवासी जंगबहादुर राजवंशी काँकडभिट्ट–धरान चल्ने मे १ ख २६५१ नम्बरको बसका चालक हुन् । उनले चलाउने बस डल्फिन यातायात कम्पनी झापाको हो । यातायात व्यवसायी सम्पर्कविहीन हुँदा राजवंशीको शव अस्पतालमा बन्धन बनेको हो । असोज २६ गते धरानबाट बस चलाएर काँकडभिट्टा आउने क्रममा राजवंशी घाइते भएका थिए ।

पीडित परिवारकाअनुसार मोरङको बेलाबारी सडक खण्डमा अटो रिक्सालाई जोगाउने क्रममा ब्रेक लगाउदा चालक राजवंशीको टाउको बसको स्टेरिङमा ठोक्किएको थियो । उक्त घटनामा परी गम्भीर घाइते भएका राजवंशीलाई तत्काल बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालको आईसीयूमा उपचारका क्रममा कार्तिक ४ गते विहान चालक राजवंशीको मृत्यु भएको थियो । अस्पतालमा करीब ६ लाख रुपैयाँको बील उठेको छ । जसमध्ये पीडित परिवारले ऋण खोजेर ७३ हजार रुपैयाँ अस्पतालमा बुझाएको छ । चालक राजवंशीको कमाईबाट पालनपोषण हुँदै आएको पीडित परिवारको आर्थिक स्थिति अत्यन्त न्यून छ ।

राजवंशीलाई अस्पतालमा भर्ना गरेदेखि डल्फिन यातायातका सञ्चालकहरु सम्पर्क विहीन छन् । परिवारको न्यून आर्थिक स्थितिका कारण बुझाउन बाँकी ५ लाख २५ हजार रुपैयाँ बुझाएर शव अस्पतालबाट घर ल्याउन नसकेको मृतकका दाजु तोरण राजवंशीले बताए ।

इलाका प्रहरी कार्यालय बिर्तामोडअनुसार डल्फिन यातायात कम्पनीमा जीवन रेग्मी, कमलकुमार साह, चन्द्र फुयाँल र शिरोमणि पौडेलको लगानी छ । पीडित परिवारले अस्पतालको उपचार खर्च र क्षतिपूर्ति माग गर्दै इलाका प्रहरीमा लिखित उजुरी दिएका छन् ।

‘बस सञ्चालकहरु कोही पनि छलफलमा नआउँदा शव अस्पतालबाट निकाल्न सकिएको छैन,’ बिर्तामोडका डीएसपी मोहनकुमार थापाले भने । सहकर्मीको मृत्यु हुँदासम्म बस सञ्चालकहरु छलफलमा नआएको भन्दै डल्फिन यातायातका अन्य १३ वटा बसका चालकहरु विरोधमा उत्रिएका छन् । उनीहरुले बस बिहीबार इलाका प्रहरीमा ल्याएर राखेका छन् ।

‘मृतक राजवंशीको परिवारले श्रम ऐन २०७४ अनुसार उपचार खर्च र राहत पाउनुपर्छ,’ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सचिव देवीप्रसाद भट्टराईले भने ।श्राेतekantipur

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment