चीनको दगुराइमा नेपाली चाल

चीनको दगुराइमा नेपाली चाल

(गुवाग्सी, चीन) — नेपाली नेता तथा सरकारी अधिकारीहरू चीन भ्रमणमा आउने क्रम केही वर्षयता बाक्लिएको छ । गत साता मात्रै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, नेकपा स्कुल विभाग उपप्रमुखद्वय देवेन्द्र पौडेल र बेदुराम भुसाल लगायतका नेताले चीन भ्रमण गरे ।

उनीहरूले भ्रमणका बेला चीनको अन्तर्राष्ट्रिय नीति र विकासको गति कसरी अघि बढिरहेको छ भन्ने विषयमा अध्ययन गर्ने गरेका छन् ।

चीनले किन नेपाली नेता, सरकारी अधिकारी र अन्य क्षेत्रका व्यक्तिलाई भ्रमण गराइरहेको छ ? विश्लेषकहरू भन्छन्, ‘चीन निकट छिमेकी र अन्य राष्ट्रका प्रतिनिधिलाई आफ्नो विकास र परराष्ट्र नीति खुलेरै राख्ने अवस्थामा पुगेको छ । चीनले आफू महाशक्ति राष्ट्र हुन तीव्र गतिमा कुदिरहेको सन्देश प्रवाह गर्न खोजेको देखिन्छ ।’

गुवाग्सी स्वायत्त क्षेत्र चिनियाँ कम्युनिस्ट पार्टीका स्कुल विभागका प्राध्यापक लिङ चिङछुका अनुसार चीनले आफ्नो देशमा गरिबी निवारणको मुख्य लक्ष्यलाई हरेक क्षेत्रमा जोडेको छ । सन् २०२० मा सबै चिनियाँलाई गरिबीको रेखाभन्दा माथि लाने चीनको घोषणा छ । सडकका दायाँबायाँ र बीचमा हरियाली भएका चौडा सडकमा टाँगिएका पार्टीका झन्डाले कुनै जडसूत्रवादी पार्टीभन्दा समृद्धि फहराएको संकेत गरेझैं देखिन्छ ।

बीआरआईबारे बुझाइ
चिनियाँ राष्ट्रपति सी चिनफिङले गत मे १५ मा आयोजित एसियाली सभ्यतासम्बन्धी सम्मेलनमा भनेका थिए, ‘एसियाका मुलुकहरूले केही दशकयता तीव्र गतिमा विकास गरेका छन् । उनीहरूले विश्व आर्थिक विकाशको प्रवृत्ति पछ्याउन र विश्वमा जोडिन ढोका खुला राख्न आवश्यक छ । ती देशहरूले ढोका बन्द भयो भने मानवीय सभ्यता र जीवन शक्ति गुम्ने छ ।’

सीको यो भनाइ ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)’ को सन्दर्भमा आएको थियो । बीआरआई चीनको विश्वलाई जोड्ने महात्त्वाकांक्षी परियोजना हो । ऊ विश्वका हरेक मञ्चमा यसलाई जोडेर प्रस्तुत हुन्छ । नेपाल र चीनबीच बीआरआई परियोजना कार्यान्वयनमा हस्ताक्षर भइसकेको छ । बीआरआईबाट के लाभ लिन सकिन्छ भन्ने विषयमा भने नेपालमा पर्याप्त बहस भएको छैन ।

नेपालमा बीआरआईलाई चीनसँग मुख्यगरी सडक र रेलमार्गबाट जोडिने र व्यापार आदानप्रदान हुने भनी बुझ्ने गरिएको छ । ‘नेसनल इन्स्टिच्युट अफ इन्टरनेसनल स्ट्राटिजी चाइनिज एकेडेमी अफ सोसल साइन्स’ का प्राध्यापक वाङ युचुले नेपाल र चीनबीच ऐतिहासिक भौतिक, सांस्कृतिक सम्बन्ध रहँदै आएको उल्लेख गर्दै अब भौतिक रूपमा जोडिनु बीआरआईको उद्देश्य भएको बताए । चिनियाँ राष्ट्रपति सीले दुई साताअघि नेपाल भ्रमण गर्ने क्रममा सडकले आपसमा जोडेको उल्लेख गर्दै भविष्यमा रेल मार्गले जोडेर गतिशील सम्बन्ध विस्तार गर्ने संकेत गरेका थिए ।

चिनियाँ कम्युनिस्ट पार्टीको १८ औँ बैठकले बीआरआईलाई ‘वित्तीय संस्थाको निर्माण, छिमेकी देश र अन्य क्षेत्रको कनेन्टिभिटीको भौतिक निर्माणमा तीव्र गति, रेशम सडक आर्थिक बेल्ट र समुद्री मार्गको प्रवर्द्धन’ भने व्याख्या गरेको छ । प्राध्यापक वाङले बीआरआईको प्राथमिकता एसियाली, युरोपेली र अफ्रिकी देशहरूसँगको कनेक्टिभिटी भएको बताए । ‘सबै आयामलाई बहुपक्षीय र समग्र यातायात सञ्जालले जोड्दै ती देशमा दिगो सन्तुलन, स्वतन्त्रता र विविधता महसुस गर्नु बीआरआईको उद्देश्य हो,’ उनले भने ।

हालै चीन भ्रमणमा आएका भारतका साना राजनीतिक दल र थिङ्क ट्याङ्कका प्रतिनिधिहरूले भने बीआरआईबारे थप ब्याख्या गर्न चाहेनन् । उनीहरू प्राध्यापक वाङको व्याख्यामा मौन रहे । श्रीलङ्का, माल्दिभ्स, बंगलादेशका राजनीतिक दल र पत्रकारहरूले यसबारे आआफ्नो देशमा छलफल चलिरहेको जानकारी दिए ।

प्राध्यापक वाङले बीआरआई विकास, समृद्धि र शान्तिका लागि रहेको दाबी गरे । उनले बीआरआई परियोजनाले ६ वटा आर्थिक करिडोर जोड्ने बताए । ‘यसले न्यु युरासियन ल्यान्ड ब्रिज, चीन मंगोलिया, रसिया आर्थिक, चीन, मध्य र पश्चिम एसिया आर्थिक, चीन इन्डोचाइना प्रायदीप, बंगलादेश, चीन, भारत, म्यानमार आर्थिक करिडोर जोड्छ,’ उनले भने ।
भ्रमणमा रहेका नेकपा स्कुल विभाग उपप्रमुख एवं स्थायी समिति सदस्य बेदुराम भुसालले बीआरआईबाट नेपालले लिन सक्ने लाभबारे जिज्ञासा राख्दा बीआरआई विज्ञ प्राध्यापक वाङको भनाइ थियो, ‘यसबाट नेपालमा चिनियाँ लगानीमा उद्योग खोल्नु, भौतिक पूर्वाधार निर्माण हुनु, सडकबाट जोडिनुका साथै जनता र जनताबीच सम्बन्ध हुनु राम्रो पक्ष हो ।

भौतिक पूर्वाधार, औद्योगिक लगानी, स्रोतको विकास, आर्थिक र व्यापार प्रवर्द्धन, वित्तीय सहकार्य, सांस्कृतिक आदानप्रदान, वातावरण संरक्षण र सामुद्रिक सहकार्य बीआरआई परियोजनाका प्राथमिकतामा हुन् । यी क्षेत्रबाट लाभ लिन सकिन्छ ।’

‘आईपीएस सैन्य रणनीति’
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभाग ब्युरो १ ले यही अक्टोबर २० (कात्तिक ३) दक्षिण गुवाग्सीको नानिङमा अमेरिकाले अघि सारेको इन्डो प्यासेफिक स्ट्राटेजी (आईपीएस) बारे भ्रमणमा रहेका दक्षिण एसियाका राजनीतिक दल, थिङ्क ट्याङ्क र मिडियाका प्रतिनिधिको धारणा बुझ्न चाह्यो । भ्रमण टोलीका सदस्यले यसबारे चीनको धारणा भए प्रतिक्रिया जनाउन सहज हुने बताए । त्यसपछि सीपीसीका अन्तर्राष्ट्रिय विभागका दक्षिणपूर्व एसिया र दक्षिण एसिया ब्युरो निर्देशक छाङ च्युछिङले आईपीएस अमेरिकाको सैन्य रणनीति भएको बताए ।

यो छलफल भइरहँदा भारत र पाकिस्तानका थिङ्क ट्याङ्कका रिसर्च फेलोबीच विवाद सुरु भयो । पाकिस्तानका इन्स्टिच्युट अफ स्ट्राटेजिक स्टडिजका सइद नाजाम रफिकले भारत पनि सैन्य रणनीतिमा अघि सरेको आरोप लगाए । त्यसपछि नयाँ दिल्लीस्थित इन्डिया फाउन्डेसनकी अनुसन्धाता शिखा अग्रवालले प्रतिवाद गरिन् । ‘भारत जहिले पनि स्वतन्त्र विदेश नीतिमा विश्वास गर्छ । मैले पठानकोट वा अन्य क्षेत्रको कुरा गरेको होइन,’ उनले भनिन् । सीपीसी विदेश विभागका अधिकारीले विवाद रोकेर नेपाललाई पालो दिए ।

नेकपा स्थायी समिति सदस्य भुसालले नेपाल कुनै पनि सैन्य रणनीतिमा सहभागी नहुने स्पष्ट गरे । ‘विकास निर्माणका कार्यक्रममा नेपालले सहकार्य हुन्छ’ उनले चिनियाँ अधिकारीसमक्ष भने, ‘हामी असंलग्न नीतिमा विश्वास गर्छौं ।’ अमेरिकाले भने आईपीएसलाई नीति मात्र भन्दै आएको छ ।

नेपालमा आईपीएसअन्तर्गतकै भनिएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को परियोजना कार्यान्वयन हुने क्रममा छ । एमसीसी परियोजनासम्बन्धी सम्झौता नेपालको संसद्बाट पारित हुन बाँकी छ । यसलाई आगामी संसद् अधिवेशनबाट पारित गर्ने तयारी छ ।
श्रीलङ्कामा भने एमसीसी परियोजना राष्ट्रपतिको चुनाव हुन लागेकाले स्थगित रहेको त्यहाँका पाथफाइन्डर फाउन्डेसनका मिडिया डाइरेक्टर गामिनी सारथ गोडाकान्डाले जानकारी दिए ।

राष्ट्रपति सी भ्रमणको छाप
चिनियाँ राष्ट्रपति सीले असोज अन्तिम साता गरेको दुईदिने नेपाल भ्रमणलाई नेपालीले कसरी लिएका छन् भन्नेमा चिनियाँ अधिकारीको चासो देखिन्छ । उक्त भ्रमणले नेपाल र चीनबीचको आर्थिक, सांस्कृतिक, राजनीतिक सम्बन्ध अझ उचाइमा पुग्ने उनीहरूले विश्वास गरेका छन् । सीको नेपाल भ्रमणबारे सरकारको मुखपत्र चाइना डेलीले ‘नेपाललाई सलाम’ शीर्षकमा प्रमुख समाचार प्रकाशन गरेको थियो ।

पार्टी स्कुलमा बास
गोन्जाओ, सेन्जेन भ्रमणमा रहँदा ठूला होटलमा राखिएका दक्षिण एसियाका पार्टी नेता, थिङ्क ट्याङ्क र मिडिया प्रतिनिधिलाई गुवाग्सीमा भने चिनियाँ कम्युनिस्ट पार्टीको स्कुलमा राखिएको थियो ।

भारतबाट आएका गैरकम्युनिस्ट पार्टीका नेताहरूले ‘हामीलाई पार्टी स्कुलमा राखेर कम्युनिस्ट शिक्षा पढाउने हुन् कि ?’ भनी ठट्टा गरेका थिए । भ्रमण टोलीका सदस्य राखिएको बैठक कोठामा चिनियाँ भाषाका मार्क्स, लेनिन र माओका रेड बुक थिए । उक्त प्रदेशका पार्टी नेता तथा कार्यकर्ताको प्रशिक्षण नियमित हुने भएकाले पार्टीले तारे होटलसरह व्यवस्था गरेको रहेछ । त्यहाँ बस्दा नेकपा स्थायी समिति सदस्य एवं स्कुल विभाग उपप्रमुख
देवेन्द्र पौडेल भनाइ थियो, ‘नेपालमा पनि स्कुलविभागले कार्यशैली सुधारबारे आवासीय प्रशिक्षण चलाउन जरुरी छ । किनकि पार्टी नीतिबारे हाम्रो खास छलफल भएको छैन ।’

सीपीसीका अधिकारीले नेकपाका नेताद्वय भुसाल र पौडेलसँग छुट्टाछुट्टै दुई पार्टी सम्बन्धबारे कुराकानी गरे । उनीहरूले ‘नेकपाले अपनाउन खोजेको समाजवाद कस्तो हो ? सरकार कसरी चलिरहेको छ ? के आगामी निर्वाचनमा सहज जित हुन सक्छ ?’ भनी जिज्ञासा राखेका थिए । बलात्कार प्रयास गरेको आरोपमा हिरासतमा रहेका पूर्वसभामुख कृष्णबहादुर महराबारे समेत उनीहरूले चासो राखेका थिए ।

‘हरित क्रान्ति’
सत्तरी वर्षअघि रातो क्रान्ति पूरा गरेको चीनमा यति बेला हरित क्रान्तिको लहर चलेको देखिन्छ । चौडा सडकका दायाँबायाँ र बीचमा हरियालीबिनाका सडक पाउनै मुस्किल छ । राजधानी बेइजिङ, गोन्जाओ, सेन्जेनलगायत सबै सहरमा हरियालीलाई उत्तिकै प्राथमिकता दिइएको छ ।श्राेतekantipur

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment