करिब डेढ वर्षयता चितुवा आक्रमणबाट ६ बालबालिकाको ज्यान…..

करिब डेढ वर्षयता चितुवा आक्रमणबाट ६ बालबालिकाको ज्यान

तनहुँ) — भानु नगरपालिकामा करिब डेढ वर्षयता चितुवा आक्रमणबाट ६ बालबालिकाको ज्यान गएको छ । पछिल्लोपटक गत सोमबार साँझ भानु–२ फुर्सेटारका ७ वर्षीय रितिक रोकाको मृत्यु भएको छ । बस्तीमै पसेर बालबालिकालाई आक्रमण गरी ज्यानै लिने क्रम नरोकिँदा स्थानीय आतंकित छन् ।

 

आँगनका खेलिरहेका रोका अचानक हराएपछि अभिभावक र गाउँलेले खोजी गर्दै जाँदा घर मास्तिरको जंगलमा मृत फेला पारेका हुन् । चितुवाले बालकको देब्रे तिघ्राको मासु खाएर छाडेको अवस्थामा शव फेला परेको हो । घना जंगलसँगैको भानु नगरका १, २, ३ र ४ वडा क्षेत्रमा चितुवाले आतंक मच्चाउँदै आएको छ । प्राय: साँझ र झिसमिसेमा चितुवा बस्तीमा आई बालबालिका, महिला र घरपालुवा जनावरलाई आक्रमण गरेका घटना छन् । दसैंको दिनमा पनि चितुवा आक्रमणबाट भानु–१ भन्सारका ३ वर्षीय आशिक बानियाँको ज्यान गएको थियो । चितुवा आक्रमणबाट डेढ वर्षको अवधिमा ६ बालबालिकाको मृत्यु भएको छ भने ७ बालबालिका घाइते भएको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले बताए । ‘नियन्त्रणको प्रयास नभएको होइन,’ उनले भने, ‘पातलो बस्ती र घना वन क्षेत्र भएकाले हामीले लक्ष्य गरेअनुसार चितुवा समात्न सकेका छैनौं ।’

त्रास बढेपछि चितुवा नियन्त्रणका लागि प्रयास गरिए पनि प्रभावकारी हुन नसक्नुको परिणाम गत सोमबारको घटनाले देखाएको भानु–१ का प्रेम थापा बताउँछन् । ‘स्थानीय सरकार, वन, प्रहरी र गाउँले सबै लाग्दा पनि नरभक्षी चितुवा समात्न नसकेसम्म जोखिम नहट्ने भयो,’ उनले भने, ‘एक्लै हिँड्न सक्ने अवस्था छैन । केटाकेटी र घरपालुवा जनावर जोगाउन गाह्रो भयो ।’ स्थानीयवासी बेलुकी ४ बजेपछि घरबाट निस्कन नसकिने र कतै जानुपर्ने भए समूहमा हिँड्नुपर्ने अवस्था रहेको उनले बताए ।

चितुवाले सुरुमा २०७४ फागुन १ मा भानु–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठको ज्यान लिएको थियो । सोही वर्ष कात्तिक २९ मा जोखानेकी ४ वर्षीया रञ्जिता लम्साल, मंसिर १५ मा ढल्केबरका १० वर्षीय अमृत गुरुङ, गत जेठ २४ मा भकुन्डथोककी ९ वर्षीया पुष्पा अधिकारीको चितुवाकै आक्रमणमा मृत्यु भयो । वन डिभिजन प्रमुख बरालका अनुसार यो अवधिमा चितुवाले ५७ घरपालुवा जनावर मारेको छ ।

नरभक्षी चितुवा नियन्त्रणका लागि प्रभावित वडाका सामुदायिक वन क्षेत्रमा परम्परागत काठका खोर थपिएका छन् । केहीमा खोरभित्र बाख्रा राखेर पासो थापिएको छ । यस्ता खोरमा गत असोज १५ र कात्तिक ११ मा दुईवटा भाले चितुवा परेका थिए । आधुनिक फलामे खोरमा चितुवा नपसेपछि नगरपालिका, स्थानीय सामुदायिक वन तथा डिभिजन वन कार्यालयको सक्रियतामा परम्परागत खोर बनाउने क्रम सुरु भएको हो ।
अहिले ९ परम्परागत, २ आधुनिक खोर र सार्पसुटरसहित १९ जनाको विशेष सुरक्षा दस्ता परिचालन गरिएको सहायक वन अधिकृत बाबुराम उप्रेतीले बताए । भानुमा ५ हजार ७ सय ७७ हेक्टर क्षेत्रफलमा ९६ सामुदायिक वन छन् । यी वनका भूभाग एकअर्कासँग जोडिएका छन् । वनसँगै छरिएका पातला बस्ती छन् । ‘वन क्षेत्र ठूलो, बस्ती पातलो भएकाले सबैतिर एकै प्रकारले सुरक्षा र सतर्कता सजिलो छैन,’ अधिकृत बराल भन्छन्, ‘वनमा चितुवा पनि कति संख्यामा छन् भन्ने यकिन भइसकेको छैन ।’ खोरमा बाख्रा राखेर पासो थाप्नुका साथै फेला परे बेहोस पारेर नियन्त्रणमा लिन सुरक्षा टोली खटिएकाले बस्ती आसपास आउने चितुवा कुनै पनि बेला समातिनेमा आफू आशावादी रहेको उनले बताए । चितुवा नियन्त्रणका लागि विशेष सुरक्षा दस्ता खटाइएको छ । स्थानीय प्रशासनले गृह मन्त्रालयसँग माग गरेपछि आएको दस्ताले कात्तिक ७ बाट काम थालेको छ । दस्तामा ११ सशस्त्र, ४/४ जना नेपाल प्रहरी र सशस्त्र वनरक्षक छन् । टोलीले चितुवा नियन्त्रण नगरेसम्म खोजी जारी राख्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रभावित क्षेत्रका बासिन्दाको बिमा
नगरमा वन्यजन्तुसँग द्वन्द्व बढ्दै गएपछि प्रभावित क्षेत्रका बासिन्दाको जीवन बिमा गरिने भएको छ । भानुको १, २, ३, ४, ११ र १३ वडावासी वन्यजन्तु प्रभावित भएपछि डिभिजन वन कार्यालयले बिमा कार्यक्रमलाई अगाडि बढाउने तयारी गरेको हो । चितुवा, भालु, बाँदर र मानिसबीच द्वन्द्व बढ्दै जाँदा जनधनको क्षति हुँदै गएकाले बिमा कार्यक्रम अघि सारिएको सहायक वन अधिकृत उप्रेतीले बताए । सामुदायिक वन, भानु नगरपालिका, डब्लूडब्लूएफ र स्थानीयको सहभागितामा शिखर इन्स्योरेन्स कम्पनीसँग जीवन बिमा गर्ने कार्यक्रम अगाडि बढाउन लागिएको जानकारी उनले दिए । भानु नगरपालिकाको बैठकले स्थानीयको पाँच प्रकारको बिमा गर्ने योजना पारित गरेको छ ।

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वन्यजन्तुको क्षतिको राहत निर्देशिका २०६९ बमोजिम वन्यजन्तुको आक्रमणमा परी मानिस सामान्य घाइते भएमा ५० हजार रुपैयाँसम्म, गम्भीर घाइते भएमा एक लाख रुपैयाँसम्म र मृत्यु भएमा निजका परिवारलाई अधिकतम १० लाख रुपैयाँसम्म राहत रकम उपलब्ध गराउने व्यवस्था छ । चितुवा आक्रमणबाट मृत्यु भएका चार जना बालबालिकाका परिवारलाई राहत क्षतिपूर्ति ४० लाख, भालु र चितुवाबाट घाइते भएकालाई ४ लाख रुपैयाँ राहत रकम सरकारमार्फत उपलब्ध गराइएको वन डिभिजनले जनाएको छ । बिमा कार्यक्रमपछि बिमितले उपचार खर्च दुई लाख, मृत्यु भएमा १० लाख, बाख्रा मरेमा १२ हजार, गाईभैंसी मरेमा ३५ हजार रुपैयाँ र बालीनाली, घरवास क्षति भए क्षतिको मूल्यांकन गरी राहत र बिमा रकम उपलब्ध गराइने कार्यालयले जनाएको छ ।

मान्छेलाई आक्रमण गर्न सजिलो : विज्ञ
व्यावहारिक विज्ञान प्रतिष्ठानका विज्ञ प्रकाश पौडेलका अनुसार पछिल्ला केही वर्ष चितुवा आक्रमणबाट ज्यान गुमाउने र घाइते हुनेको संख्या हात्ती आक्रमणपछिको हो । ‘खासगरी मध्यपहाडी क्षेत्रमा चितुवा आक्रमण बढेको देखिन्छ,’ उनले भने, ‘बैतडी, अर्घाखाँची, काभ्रे र अहिले तनहुँमा समस्या देखिएको छ ।’

मध्यपहाडी क्षेत्रमा सामुदायिक वनको विकाससँगै उजाड पाखासमेत हराभरा भएपछि ती जंगलमा चितुवाको उपस्थिति बाक्लो बनेको हो । ‘हरियो बासस्थान पायो तर चितुवाले खाने मृग प्रजाति, खरायो, बाँदर, पर्याप्त भएन,’ पौडेलको विश्लेषण छ, ‘त्यस्तो बेलामा कुकुर, बाख्रा, गाईबस्तु खोज्दै आएका बेला मान्छेमाथि आक्रमण गर्छ ।’ मान्छेमाथि आक्रमण गर्दा सुरक्षा चुनौती नहुने भएकाले पनि एकपटक आक्रमणपछि दोस्रोपटक मान्छेकै खोजीमा हुने वन्यजन्तुविज्ञहरूको भनाइ छ ।श्राेतekantipur

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment