आउँदो माघ महिनासम्म रानीपोखरीमा पानी राख्ने तयारी

आउँदो माघ महिनासम्म रानीपोखरीमा पानी राख्ने तयारी

कार्तिक १७, काठमाडौं । लामो समयदेखि पानीविहीन ऐतिहासिक रानीपोखरीमा आउँदो माघ महिनासम्ममा पानी राख्ने तयारी भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आउँदो पुस मसान्तसम्ममा रानीपोखरीको पिँधमा कालो माटो राखी माघमा महिनाभित्र पानी राख्ने तयारीका साथ काम भइरहेको जनाएको छ । पिँधमा राख्ने माटो भक्तपुर, पनौती र सतुङ्गलबाट ल्याइनेछ ।

पोखरी पुनर्निर्माण सुरुआती समयमा यहाँ रहेको माटो र पानी अन्तै लगिएको हुनाले अहिले राख्ने तयारी गरिएको हो । विसं २०७२ वैशाख १२ को गोरखा भूकम्पले पूर्णरूपमा क्षति पुर्‍याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणको जिम्मा प्राधिकरणले पाएसँगै कामले गति लिएको छ ।

सुरुको समयमा पुनर्निर्माणको जिम्मा काठमाण्डाै महानगरपालिकाले पाए पनि काम हुन नसकेपछि पछिल्लो समय पुनर्निर्माणको जिम्मा प्राधिकरणले पाएको हो । प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरका अनुसार बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणको काम ६० प्रतिशत सकिएको छ भने पोखरीको बाहिरी भागको काम पनि धमाधम भइरहेको छ ।

अहिले मन्दिर वरपर सफाइ र मन्दिर पुनर्निर्माणका लागि आवश्यक पर्ने काठ निर्माण भइरहेका छन् । बाहिरबाट देखिने काम नभए पनि पुनर्निर्माणका लागि आवश्यक पर्ने सामग्री निर्माण भइरहेका छन् । मन्दिर पुरानै शैली (ग्रन्थकुट/शिखर) मा पुनर्निर्माण गर्न गएको असार २४ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ठेक्का सम्झौता गरेको थियो । सम्झौता भएको दिनदेखि १० महिनाभित्रमा निर्माण सम्पन्न गर्ने गरी प्राधिकरणले निर्माण कम्पनी सिएर तुलसी कन्स्ट्रक्सन जेभीसँग सम्झौता गरेको छ ।

भूकम्प गएकै वर्ष माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले क्षति पुर्‍याएको सम्पदा पुनर्निर्माणको शुरुआत रानीपोखरीबाटै गर्नुभएको थियो । विसं २०७३ को भाइटीकामै मन्दिर खुला गरिने उद्देश्यले निर्माण गर्न लागिएको उक्त मन्दिर चार वर्ष बितिसक्दासमेत सम्पन्न हुन सकेको छैन ।

मन्त्रिपरिषद्को गएको माघ १४ को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत यो क्षेत्रमा रहेका पुरातात्विक संरचनाको पुनर्निर्माण गर्ने गरी प्राधिकरणलाई जिम्मेवारी दिएको थियो ।

प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो । प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तेन्द्र मल्लको नाममा यो पोखरी बनाएका हुन् । पोखरीको निर्माण कार्य करिब पाँच वर्षभित्र अर्थात नेसं ७८९ (विसं १७२५) मा सम्पन्न भएको थियो । नेसं ७९० (विसं १७२७/इ.सं. १६७०) मा शिलापत्र राखिएको थियो ।

पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन् । प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चारवटा मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर–पूर्व कुनामा भैरवको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ ।

पुनर्निर्माणको काम पूर्णरूपमा हुन नसक्दा यस वर्षको तिहारमा पनि सर्वसाधारणले मन्दिरभित्र नै गएर बालगोपालेश्वरको दर्शन गर्न नपाउँदा बाहिर नै मूर्ति राखेर दर्शनको व्यवस्था गरिएको थियो ।श्राेत onlinekendra

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment