गुलरिया – गुलरिया नपा–६ मा आज बिहान निर्माणाधीन दुर्गा गेष्ट हाउसको छत भत्किँदा एक जनाको निधन भएको छ भने दुई जना घाइते भएका छन् ।
निधन हुनेमा दुर्गा गेष्ट हाउसका मालिक ६० वर्षीय भवी पौडेल रहेका छन् भने घाइते हुनेमा बढैयाताल गाउँपालिका–९ शक्तिनगरका ३३ वर्षीय मनकराम थारु र सोही ठाउँका १४ वर्षीय नवराज चौधरी रहेका छन् ।
घाइतेको बर्दिया जिल्ला अस्पताल गुलरियामा प्रारम्भिक उपचारपछि थप उपचारको लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक लक्ष्मण वलीले बताए ।
गुलरिया बजार क्षेत्रमा सडक विस्तारको क्रममा सडक क्षेत्र मिचेर बनाएका घर आंशिकरुपमा भत्काएर पुनःनिर्माणाधीन गर्दा छत भत्किँदा किचिएर मालिक भवीको ज्यान जानुका साथै दुई कामदार गम्भीर घाइते भएका हुन् । उनीहरुको प्रहरीले उद्धार गरेको छ ।
स्यालको टोकाइबाट १६ घाइते
स्यालको टोकाइबाट सिरहाको लहान नगरपालिका–४ स्थित कुमहार टोलका १६ घाइते भएका छन् । बहुला स्याल बस्तीमा प्रवेश गरी स्थानीयवासीलाई टोकेको हो । स्यालको टोकाइबाट घाइते भएका सबैको लहानस्थित रामप्रसाद उमाप्रसाद स्मारक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सिरहा र सप्तरीको सिमानामा पर्ने बलान खोलातर्फबाट मङ्लबार साँझ अचानक गाउँ पसेको बहुला स्यालले जथाभावी टोक्न थालेपछि स्थानीयवासी आतङ्कित बनेका छन् ।
स्यालको टोकाइबाट स्थानीय ७० वर्षीय रामबालक पण्डित, ४५ वर्षीय सोनाइ मेस्तर, पाँच वर्षीय मो रेहान, गुलाबदेवी महतो, सञ्जुदेवी महतो, प्रदीप महतो, सुरजकुमार दास, नन्दनी मेहतर, रविनाकुमारी मेहतर, सञ्जीवकुमार दासलगायतका घाइते भएका इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । बस्तीमा स्याल पसेको सूचना पाएलगत्तै खटिएको प्रहरी टोली र स्थानीयवासीले स्याललाई धपाएको जनाएको छ ।श्राेत bigulnews