८ हजार मेगावाटका ४९ आयोजनाको आफैं अध्ययन गर्दै सरकार

८ हजार मेगावाटका ४९ आयोजनाको आफैं अध्ययन गर्दै सरकार

१० वर्षभित्र १५ हजार मेगावाट विजुली उत्पादनको लक्ष्य लिएको सरकारले अहिले करिब ८ हजार मेगावाट बराबरको जलविद्युत आयोजनाको अध्ययन आफैंले गरिरहेको छ । यी आयोजना नेपाल विद्युत प्राधिरकणले अध्ययन गरिरहेका बाहेकका हुन् ।

विद्युत् विकास विभागले हाल ७ हजार ९७६ मेगावाट बराबरको आयोजनाको अध्ययन गरिरहेको विभागकी प्रवक्ता निसा रिजालले बताइन् । विभागले जलविद्युत आयोजनाहरुको अध्ययनलाई प्रथमिकतामा राखेर काम गरिरहेको उनको भनाइ छ ।

रिजालका अनुसार अहिले ४९ वटा साना-ठूला आयोजनाको अध्ययन भइरहेका छन् । विभागले हाल सय मेगावाटभन्दा बढी क्षमताका ११ वटा आयोजनामा आफैंले अध्ययन गरिरहेको छ । त्यसमध्ये केही आयोजनाको अध्ययन प्रतिवेदन आउने क्रममा रहेको छ भने कुनैमा भर्खरै अध्ययन सुरु भएको छ ।

सरकारले गत वर्ष नै आगामी १० वर्षभित्र १५ हजार मेगावाट विजुली उत्पादनको लक्ष्य राख्दै ऊर्जासम्बन्धी श्वेतपत्र ल्याएको थियो । सो लक्ष्य प्राप्त गर्नका लागि सरकार आफैंले लगानी गर्न र विदेशी लगानीकर्तालाई आकर्षित गर्न अध्ययन भएका परियोजना आवश्यक हुन्छ ।

ऊर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवाल सरकारसँग अध्ययन भएका आयोजना अब सीमित मात्रै बाँकी रहेकाले ठूला आयोजनाको अध्ययनमा केन्दि्रत भएको बताउँछन् । उनले विद्युत विकास विभागमार्फत अध्ययन भइरहेका आयोजनाहरु लगानी जुटाउँदै अघि बढाएर सरकारी लक्ष्य प्राप्त गर्न सकिने विश्वास व्यक्त गरे ।

अहिले सरकारसँग १२ सय मेगावाटको बुढीगण्डकी, ४८ मेगावाटको भेरी बबई डाइभर्सन परियोजना, २.५ मेगावाटको डोटीगाड, ८.७ मेगावाटको तल्लो चेपेखोला, १२.५ मेगावाटको मैवा खोला, ०.४५ मेगावाटको मुस्ताङ वायु ऊर्जा परियोजना मात्रै पूर्ण अध्ययन सकिएर लगानीयोग्य अवस्थामा छन् । त्यसमध्ये बुढीगण्डकी जलासययुक्त आयोजना चिनिया कम्पनी गेजुवासँग छ भने भेरी बबई डाइभर्सन आयोजना सरकारले निर्माण गरिरहरेको छ ।

यसबाहेक सरकारले जनताको समेत लगानी रहने गरी ३ हजार ५ सय मेगावाट बराबरको आयोजना बनाउने भनेकाले त्यसको लागि पनि आयोजनाहरुको अध्ययनमा विशेष ध्यान दिइएको मन्त्रालय बताउँछ ।

नेपाल विद्युत प्राधिरकणले पनि विभिन्न आयोजनाहरुको अध्ययन गरिरहेको छ । यस्तै सरकारीको लगानीमा स्थापित जलविद्युत लगानी तथा विकास कम्पनीमार्फत पनि अध्ययन हुँदैछ । तर, ती आयोजना तीनै निकायले निर्माण गर्ने भएकाले सरकारले विभागमार्फत नै ठूला आयोजनाहरुको अध्ययन गरिरहेको छ ।

अध्ययनमा रहेका आयोजना

विभागले हाल अध्ययन गरिरहेकोमध्ये सबैभन्दा ठूलो आयोजना खिम्ति शिवालय जलाशययुक्त आयोजना हो, जसको क्षमता १ हजार ८ सय ५३ मेगावाट छ । दोलखाको जिरी नगरपालिका र रामेछापको गोकुलगंगा गाउँपालिकाको सीमा भएर बग्ने खिम्ती खोलामा बाँध बाधेर यो आयोजना बनाउन सकिने प्रारम्भिक अध्ययनबाट देखिएको छ । ३ वर्षदेखिको अध्ययनले बूढीगण्डकी जलविद्युत् आयोजनाभन्दा सस्तो पर्ने देखिएको छ ।

रामेछापको ठोसे बजार नजिक २ सय मिटर बाँध बनाउँदा यो आयोजनाबाट १८ सय मेगावाट विजुली उत्पादन गर्ने जलाधार भेटिएको छ । १३२९ मिटर हेड निकालेर तामाकोसी नदी नजिकै विद्युतगृह बनाउँदा यसले वर्षमा १९६५ दशमलव ८४ गिगाहर्ज वाषिर्क ऊर्जा उत्पादन गर्ने अनुमान छ ।

यो आयोजनालाई ३२६ मेगावाटमा निर्माण गर्ने गरी अर्को विकल्पमाथि पनि अध्ययन भइरहेको छ । कुन विकल्प उत्तम हुन्छ भनेर अध्ययनबाटै पत्ता लाग्नेछ ।

विभागले अध्ययन गरिरहेको दोस्रो ठूलो आयोजना हो, सुनकोशी-२ । अध्ययनमा रहेको सुनकोशी-२ आयोजना १ हजार १ सय १६ मेगावाट क्षमताको हो । सुनकोशी नदीमा रामेछाप नगरपालिका ५ र सिन्धुलीको गोलन्जोर गाउँपालिका-१ च्याकुटारमा यो आयोजनको बाँध बनाउन प्रस्ताव गरिएको छ । यो बाँध ३९० मिटर लामो र १६१ मिटर अग्लो हुनेछ ।

यसरी बाँध बनाएर जम्मा गरिएको पानीलाई १०५० घनमिटर प्रतिसेकेन्डका दरले १.२ किलोमिटरको सुरुङबाट सिन्धुलीको च्याकुटार नजिकै निर्माण गरिने विद्युतगृहमा खसालिनेछ ।

यो आयोजनाले काभ्रेको तेमालसहित रामेछापको खँडादेवी र लिखु गाउँपालिका तथा सिन्धुलीको गोलन्जर सुनकोशी फिक्कल गाउँपालिकाका विभिन्न वडा प्रभावित हुनेछन् । रामेछापको सदरमुकाम मन्थली नगरपालिका पनि प्रभावित क्षेत्र हो ।

विभागले अध्ययन गरिरहेको तेस्रो ठूलो आयोजना तल्लो अरुण हो, जुन परियोजनामा भारतले आँखा लगाएको छ । ६८० मेगावाटको यो परियोजना १ हजार मेगावाटसम्म बनाउन सकिने प्रारम्भिक अध्ययनबाट देखिएको छ ।

तल्लो अरुण पनि भारतले अरुण तेस्रोको ढाँचामा बनाउने प्रस्ताव नेपाल समक्ष गरिसकेको छ । भारतीय कम्पनी सतलज जलविद्युत् कम्पनीले निर्माण गर्न लागेको अरुण तेस्रोको ‘टेलरेस’ को पानी सीधै प्रयोग गरी तल्लो अरुणको विद्युत् उत्पादन गर्न सकिने भएकाले आयोजना आकर्षक मानिएको छ । तल्लो अरुण आयोजना अरुण तेस्रो आयोजनाको विद्युतगृहभन्दा तल पर्छ ।

अरुण तेस्रो आयोजना अत्यधिक विद्युतको माग हुने सुक्खा मौसममा पनि दैनिक ६ घण्टासम्म पानी जम्मा गरेर विद्युत् उत्पादन गर्नसक्ने अर्धजलाशययुक्त आयोजना हो । संखुवासभा र भोजपुरमा पर्ने आयोजनाको करिब १५ किलोमिटर मुख्य सुरुङ निर्माण गर्नुपर्नेछ । सप्तकोसी उच्च बाँध बनेमा आयोजनाको विद्युतगृह डुबानमा पर्ने अध्ययनमा देखिएको छ ।

विभागको अध्ययनमा रहेकोमध्ये चौंथो ठूलो आयोजना, सुनकोशी-३ हो । सुनकोशी ३ सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली र काभ्रेलाई प्रभावित गर्ने ५३६ मेगावाट क्षमताको आयोजना हो । रामेछापको खँडादेवी गाउँपालिका १ र काभ्रेको तिमाल गाउँपालिका ९ को सिमाना लुभुघाटमा यो आयोजनाको बाँध बन्नेछ ।

बाँध ४४८ मिटर लामो हुनेछ भने १६६ मिटर अग्लो । यो बाँध बाँधेपछि ५७० घनमिटर प्रतिसेकेन्डको पानीलाई १.१ किलोमिटर लामो सुरुङबाट लुभुघाट नजिकै विद्युत गृहमा खसालिनेछ ।

पाँचौं ठूलो आयोजना डोल्पाको बुरबाङ जलविद्युत आयोजना हो । यसको क्षमता ५१० मेगावाट छ । तर, यो आयोजनाको प्रारम्भिक अध्ययन मात्रै सुरु भएकाले यो आयोजना कसरी बन्छ भन्ने स्पष्ट छैन ।

विभागले जाजरकोटमा बन्ने ४१० मेगावाटको जलासययुक्त नलसिंगाड जलविद्युत आयोजनाको पनि अध्ययन गरिरहेको छ । छिन्चु-जाजरकोट सडकखण्डबाट २५ किमिको दूरीमा रहेको आयोजना हिउँद-वर्षा दुवै समयमा पानीको बहाव उच्च हुने भएकाले आकर्षक मानिएको छ । करिब २०० मिटर अग्लो बाँधसहित बन्ने आयोजनामा जापान सरकारले लगानी गर्न चासो देखाएको छ ।

हेडरेस सुरुङबाट लगिने पानी स्थानीय खगेनाकोटमा बन्ने विद्युत् उत्पादन गृहमा झारेर १०२.५ मेगावाट क्षमताका चार युनिटबाट ४१० मेगावाट विद्युत् उत्पादन गर्ने योजना छ ।

यसैगरी विभागले पश्चिम राप्तीमा बन्ने ३७७ मेगावाटको नौमुरे आयोजनाको पनि अध्ययन गरिरहेको छ । संखुवासभामा बन्ने ३७२ मेगावाटको अरुण ४ मा पनि अध्ययनकै क्रममा छ ।

यस्तै विभागले १०० मेगावाटको अपर झिमरुक जलासययुक्त आयोजना, १८४ मेगावाटको कर्णाली-१, १०२ मेगावाटको दूधकोशी ५ लगायतका आयोजना पनि अध्ययन गरिरहेको छ ।

त्यसैगरी ९३ मेगावाटको सारद बबई जलासययुक्त आयोजना, ९० मेगावाटको कन्काई कहुद्देश्यी आयोजना, ८१ मेगावाटको ल्होरे खोला जलासयुक्त आयोजना लगायत दर्जनौं आयोजनाको अध्ययन गरिरहेको छ ।श्राेत onlinekhabar

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment