आसामको बेश्यालयबाट ४ बालिकासहित सात नेपाली महिलाको उद्धार

आसामको बेश्यालयबाट ४ बालिकासहित सात नेपाली महिलाको उद्धार

३ मंसिर, काठमाडौं । भारतको आसामस्थित एक बेश्यालयबाट सातजना नेपाली महिलाको उद्धार गरिएको छ । उद्धार गरिएकाहरुमा चार जना बालिकासमेत छन् ।

मानव बेचबिखनविरुद्ध कार्यरत संस्था शक्ति समूहको समन्वयमा त्यहाँको प्रहरीले लेन १४ को नामबाट चर्चित सिल्चारको एक कुख्यात बेश्यालयबाट उनीहरुको उद्धार गरेको हो ।

सिल्चारको सो बेश्यालयमा नेपाली युवती र किशोरीहरुलाई जबरजस्ती यौन धन्दामा लगाइएको सूचना पुष्टि भएपछि नेपालबाट मानव बेचबिखनविरुद्ध कार्यरत संस्था शक्ति समूहको एउटा टोली आसाम पुगेको थियो ।

दिल्लीबाटै भारतीय अधिकारीहरुसँग समन्वय गरेर पुगेको शक्ति समूहको टोली प्रहरीसहित पुगेर सोमवार साँझ सात जना नेपाली महिलाको उद्धार गरिएको हो । उद्दार गरिएकामध्ये तीन जना २० वर्ष मुनिका रहेको र चार जना बालिकाहरु रहेको शक्ति समूहका कानुनी सल्लाहकार दिलिप कोइरालाले जानकारी दिए ।

गत जुलाइमा एकजना नेपाली किशोरीको सोही ठाउँबाट उद्धार गरिएको थियो । उनकै सूचनाका आधारमा त्यहाँ अरु धेरै नेपाली किशोरी र युवतीलाई यौनकार्यमा लगाइएको पुष्टि भएपछि शक्ति समूहको सात जनाको टोली आसाम पुगेको थियो ।

ती युवती र किशोरीलाई बेश्यालयसम्म लैजाने र जबरजस्ती यौन धन्दामा लगाउने लक्ष्मी तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनी कोठी सञ्चालिका हुन् कि दलालमात्र हुन् भन्ने खुलेको छैन ।

उद्धार गरिएकाहरुलाई आजै त्यहाँको स्थानीय अदालतमा उपस्थित गराउने र कानुनी प्रक्रिया पूरा गरी स्वदेश फर्काउने पहल भइरहेको शक्ति समूहले जनाएको छ । कानुनी सल्लाहकार कोइरालाले दिल्लीस्थित दूतावासलाई जानकारी दिएर उद्धार गरिएको बताएका छन् ।श्राेत onlinekhabar

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment