‘ड्राइभर पनि भारतबाट मगाउनु पर्ने स्थिति आयो !’

‘ड्राइभर पनि भारतबाट मगाउनु पर्ने स्थिति आयो !’

४ मंसिर, काठमाडौं । ‘जम्मा ३० रुपैयाँमा ट्याम्पो चढेको थिएँ, १४ सयको सर्ट च्यातियो सर…।’

महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथका प्रमुख एसएसपी भिमप्रसाद ढकाललाई साताअघि एक प्राध्यापकले फोन गरेर भने ।

बसपार्कबाट चढेका उनको सर्ट गौशाला आइपुग्दा काँटीमा अल्झिएर च्यातिएको थियो ।

ढकालले प्राध्यापकको गुनासोलाई टिपेर राखेको केही दिन नवित्दै पुनः उस्तै गुनासो मिश्रित फोन आयो ।

निलो माइक्रोमा चढेका ती यात्रुले भनेका थिए, ‘माइक्रो खाली भए पनि सिट भाँचिएकाले बस्न पाइएन ।’

सार्वजनिक यातायात चढ्दा पाइने दुःखबारे दैनिकजसो गुनासो आउन थालेपछि ढकालले यातायात व्यवसायीसँग अन्तर्क्रिया गर्ने सोच बनाए ।

‘भिजिट नेपाल-२०२० को आयोजनामा सरकार होमिइरहेको बेला सार्वजनिक सवारीमात्रै पनि सफा राख्न सकिए धेरै राम्रो हुने थियो भन्ने हो’, उनले अनलाइनखबरसँग सुनाए, ‘त्यसैले यातायात व्यावसायीसँग मिलेर अभियानकै रुपमा कार्यक्रम अघि बढाएका छौं ।’

अभियान अन्तर्गत मंगलबार बग्गिखानामा यातायात व्यावसायीसँग छलफल कार्यक्रम राखिएको थियो । तर, अधिकांश व्यावसायीले मूल विषयभन्दा राज्य संयन्त्रप्रति गुनासो पोख्न बढी समय खर्चिए ।

यातायात व्यावसायी महासंघका महासचिव सरोज सिटौलाले ७ वर्षदेखि सार्वजनिक यातायातको भाडा दर समायोजन नभएको गुनासो गरे । उनले भने, ‘भाडा झन् घटोस् वा बढोस् तर वैज्ञानिक दर लागू हुनुपर्छ ।’

महानगर यातायातका सञ्चालक समिति सदस्य केशव नेपालले सार्वजनिक यातायातले लाइसेन्स प्राप्त सवारी चालक पाउनै छाडेको गुनासो गरे । केन्द्रीय सदस्य अर्जुन गौतमले प्रविधिका नाममा सञ्चालित सवारीले आवश्यकताभन्दा बढी असुली गरेर ठगी गरिरहेकोप्रति ट्राफिकको नजर नगएको गुनासो गरे ।

महाशाखा प्रमुख ढकाल भने मुख्य विषयवस्तुमै केन्द्रित हुन व्यावसायीलाई पटकपटक आग्रह गर्थे ।

छलफलमा यातायात व्यावसायीले राखेको गुनासाको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छः

अर्जुन गौतम, निवर्तमान अध्यक्ष, ट्याक्सी व्यवसायी संघ

अहिले उपत्यकामा दैनिक ११ हजार ५ सय ट्याक्सी चल्छन् । प्रायः दिन र रात दुवै समयमा चल्छन् । प्रायः धोइ पखाली गरेरै ट्याक्सी चलेको अवस्था छ । सिट बिग्रिएको अवस्था पनि कमै छ । पुरानो ट्याक्सी विस्थापित भएर सम्पूर्ण नयाँ आएकाले हाम्रो ट्याक्सीमा त्यति धेरै समस्या छैन ।

यही सन्दर्भमा एउटा कुराचाहिँ मैले राख्नैपर्छ । अनौपचारिक छलफल पनि भयो । ट्याक्सीको दुःखचाहिँ के छ भने २०६९ सालदेखि आजसम्म भाडादर समायोजन भएको छैन । त्यसैले पर्यटन वर्षमा आउने पर्यटकसँग पनि ट्याक्सी व्यावसायीहरुले बार्गेनिङ गरिदिने हुन् कि भन्ने डर छ ।

व्यावसायीले बार्गेनिङ गर्नै नपर्ने अवस्था राज्यले बनाइदिनु पर्‍यो । हामीले पनि नियमभन्दा बाहिर गएर यात्रुसँग बढी भाडा लिनु नपरोस् । अहिले त चल्न नसक्ने अवस्था भइसकेपछि हामी बाध्य भएर बढी लिनुपर्ने अवस्था छ ।

अहिले ट्राफिकले दिनको ६०/७० वटा ट्याक्सीलाई कारबाही पनि गरिरहेको छ । के कारणले ? जस्तैः म ट्याक्सी चलाउन बसेँ । मैले तपाईंहरुलाई २० रुपैयाँ, ३० रुपैयाँ, ५० रुपैयाँ वा सय रुपैयाँ बढी माग्दा मिटरमा लान नमानेको भनेर कारबाही मैले भोगिरहेको छु ।

ट्याक्सी चालकले मुखले २० देखि ५० रुपैयाँसम्म बढी माग्दा उसले ३ हजारदेखि ५ हजारसम्म जरिवाना तिरिरहेका छन् । तर, यहाँ विभिन्न अनलाइन प्रविधिका नाममा विभिन्न एप्समार्फत ट्याक्सीमा सरकारले तोेकेभन्दा बढी भाडा लिएर पाइन्छ ? यो विषयमा पनि सबैको ध्यानाकर्षण होस् ।

राज्यले किन उनीहरुलाई चाहिँ छुट दिइरहेको छ ?

विभिन्न ठाउँमा गाडी धुने ठाउँको व्यवस्था गर्न आवश्यक छ । उपत्यकाका केही ठाउँमा गाडी स्वाट्ट छिराएर धुने व्यवस्था गर्‍यौं भने काठमाडौंभित्रको पनि धुलो कम हुन्छ । किनभने बाहिर कच्ची रोडमा धेरै गाडी चल्छन् । तीनै गाडीको चक्का र बडीमा टाँसिएर धुलो आउँछ
जगनाथ गौतम, नेपाल यातायात मजदुर संघ

मजदुर, व्यावसायी, चालक र सह-चालकले गाडी सफा गर्ने मात्र होइन, पहिले यात्रुमा पनि चेतना हुनुपर्‍यो । आफूले खाएर गाडीभित्र फोहोर फ्याँक्ने, पानी पिएर बोतल बाटामा फालिदिने.. । हुन त हामीले पर्यटन मन्त्रालयसँग सहकार्य गरेर त्यस किसिमका गतिविधिलाई निरुत्साहित गरेर दुई सय जना स्वयंसेवक पनि खटाउने तयारी गरेका छौं ।

अर्को कुराचाहिँ उपत्यकाका चालक र सह-चालकलाई आफ्नो सवारी साधन सफा राख्ने, आफ्नो कपडा, बोली व्यवहार जस्ता कुरा सिकाउने भनेर पनि १२ सय चालकलाई तालिम दिने तयारी गरिएको छ ।

सरकारले गरेको ट्राफिक स्वयंसेवक होस् या यातायात व्यवस्था विभागले गरेको काम होस्, राज्यले गरेको काममा जहिल्यै मजदुर, व्यावसायी साथमा भएर सहजीकरण गरिरहेका छौं । तर, सहजीकरण गर्दैगर्दा मजदुर व्यवसायीको पिर, मर्कामा राज्य उदासीन बनेको छ ।

पहिले हाम्रो भाडा समायोजना होस्, त्यसपछि पनि कोही मिटरभन्दा बढी भाडा लिन खोज्छ भने हामी ट्राफिक प्रहरीसँगै खटेर कारबाही गर्न तयार छौं ।

नवराज घिमिरे, केन्द्रीय महासचिव, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन

हामी हाम्रो पेशालाई व्यवस्थित बनाउन एकदमै आतुर छौं । विशेषतः सार्वजनिक यातायातलाई कसरी सुधार गर्ने भन्ने कुरा छ । पर्यटन वर्षलाई बढीभन्दा बढी सदुपयोग गर्ने गरी हामी अघि बढिरहेका छौं ।

एउटा कुरा म के भन्छु भने अहिले उपत्यकाको सवारी सञ्चालनमा सुधार पनि भएको छ । किनभने, एक वर्ष पहिले अधिकांश पुराना गाडी थिए । सेवा लिन गाह्रो थियो । तर, अहिले नयाँ गाडी आइसकेका छन् । विस्तारै सेवा राम्रोसँग परिवर्तन हुँदै गएको छ ।

तर, सेवा दिने इच्छा हुँदाहुँदै पनि कति कुरा सकिएको छैन । किनकी, उपत्यकाभित्र सवारी चाप अव्यवस्थित छ । आम नागरिकले प्रयोग गर्ने सार्वजनिक सवारी हो । तर, यसलाई प्रोत्साहन भइरहेको छ । जस्तैः शहरको हकमा अहिले ६० प्रतिशतभन्दा बढीले निजी सवारी साधन नै प्रयोग गर्छन् । त्यसले गर्दा पनि सार्वजनिक यातायात राम्ररी चल्न सकेको छैन ।

जुन पर्यटन वर्षलाई सफल बनाउन गाडी सफा गर्ने सम्बन्धमा एकदमै प्रतिबद्ध छौं । सेवा पनि स्तरीय दिन्छौं । हाम्रोतर्फबाट कुनै कन्जुस्याइँ हुँदैन । तर, मेरो एउटाचाहिँ के छ भने हामी आज धुन्छौं, दिउँसै धुलो सडकले, उस्तै भइहाल्छ । त्यसो हुनाले हामीलाई कठिनाइ हुन्छ ।

विभिन्न ठाउँमा गाडी धुने ठाउँको व्यवस्था गर्न आवश्यक छ । उपत्यकाका केही ठाउँमा गाडी स्वाट्ट छिराएर धुने व्यवस्था गर्‍यौं भने काठमाडौंभित्रको पनि धुलो कम हुन्छ । किनभने बाहिर कच्ची रोडमा धेरै गाडी चल्छन् । तीनै गाडीको चक्का र बडीमा टाँसिएर गाडीमा धुलो आउँछ । त्यसैले महत्वपूर्ण ठाउँमा यो व्यवस्थापन गर्नुपर्छ ।

केशव नेपाल, सञ्चालक समिति सचिव, महानगर यातायात

यात्रुको बानी व्यवहार पनि सुधारिनु पर्‍यो । हामीले सबै कुरा व्यवस्था त गर्‍यौं । तर, त्यो गाडीमा चढ्ने यात्रुलाई मानसिकचाहिँ अहिले पनि गाडीमा गएर खोल च्यातूँ भन्ने नै छ । ड्राइभरसँग पुरानै किसिमले व्यवहार गरुँ भन्ने छ ।

अहिले अनिवार्य डस्टबिन राखेको पनि धेरै भइसक्यो । फोहोर जथाभावी नफ्यालियोस् भनेर पनि सांकेतिक रुपमा राखेका थियौं । प्रयोग होस् भन्ने चाहना थियो । हरेक दिन सयौं मान्छेले थुपारेको फोहोर ल्याएर फ्याल्नुपर्ने हुन्छ भनेर डम्पिङ साइटको पनि व्यवस्था गर्‍यौं । तर, कसैले पनि त्यहाँ फोहोरै फ्याल्दो रहेनछ । पानीको बोतल हाम्रो स्टाफले खाने र त्यहीँभित्र फ्यालिदिने गर्दो रहेछ । यात्रुलाई सचेत गराउन सकिन जस्तो लाग्छ ।

हरेक दिन सयौं मान्छेले गाडीभित्र डस्टविनमा थुपारेको फोहोर ल्याएर फ्याल्नुपर्ने हुन्छ भनेर डम्पिङ साइटको पनि व्यवस्था गर्‍यौं । तर, कसैले पनि त्यहाँ फोहोरै फ्याल्दो रहेनछ
अर्को कुरा लाइसेन्स भएको चालक पाउन पनि गाह्रो पर्‍यो हामीलाई । चालक पनि भारतबाट माग गर्नुपर्ने अवस्था आयो । अब भएका चालक राख्यो, भनेको कुरा मान्दैनन् । भाउ बढेको छ, गाडी फेरिरहन्छन् ।

समस्याचाहिँ अब सानो र ठूलो गाडीको लाइसेन्स लिने दुई वर्षको जुन ग्याप छ, त्यो धेरै भयो । राम्रो चालकलाई ६ महिनापछि ठूलो गाडीको लाइसेन्स दिनु भयो भने पनि उसले राम्रै गर्छ । तर, नराम्रो चालक जो चाहिँ अलिकति फरक रहेछ भने १० वर्षको अनुभव दिनु भयो भने पनि राम्रोसँग गाडी चलाउन सक्दैन । त्यसैले भएका लाइसेन्स प्राप्तको चालकको सर्टेज हुनुको कारणचाहिँ दुई वर्षको टाइम पनि ठूलो भयो । देशको समय परिस्थिति अनुसार यो नियम फेर्नु पर्‍यो ।

गोपालप्रसाद पन्त, प्रतिनिधि, साझा यातायात

अहिलेसम्म गर्वका साथ भन्छौं, हाम्रो बस दैनिक सफा गरिन्छ । यसका लागि हामीले मासिक रुपमा एउटा कम्पनीलाई जिम्मा दिएका छौं । उसले दैनिक सफा गर्छ । अहिले पनि बजारमा हेर्नुहोला, हाम्रो जस्तो सफा बस अरुको छैन ।

भित्र डस्टविनको व्यवस्था गरेका छौं । फोहोर बाहिर नफालिदिनु होला भनेर यात्रुलाई सम्झाउने पनि गरेका छौं । तर, हामी कहाँ समस्या के छ भने ‘टिकेटिङ डिजिटलाइज्ड’ हुन सकेन । यसलाई सरकारले अनिवार्य गरिदियोस् र सबैतिर लागू होस् । किनभने, यसमा चुहावट सबैभन्दा बढी छ । यात्रु टिकट लिन नचाहने, कन्डक्टर दिन नचाहने । त्यसो हुनाले डिजिटलमा जान सक्यौं भने राम्रो हुन्छ भनेर प्रयास पनि गरिसकेका छौं । सरकारको पक्षबाट यसलाई कार्यान्वयन गरिदिए राम्रो हुन्थ्यो ।श्राेत onlinekhabar

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment