पूर्वसभामुख महरा भन्छन्- ‘फैसला भैसक्यो, २० वर्ष जेल बस्नुपर्ने भयो’

महरा निर्दोष रहेको काठमाडौं जिल्ला अदालतको फैसला : आजै रिहा हुने

काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दा आइतबार हेर्दाहेर्दैमा राखेको छ । बहस सकिएलगत्तै अन्तिम आदेश आउने पर्खाइमा रहेका महराले आफन्तसँगको कुराकानीका क्रममा ठट्टा गर्दै अदालतबाट फैसला भइसकेको र आफु २० वर्ष जेल बस्नुपर्ने भएको बताएका थिए ।

दुवै पक्षबाट बहस सकिएपछि इजलासको बाहिरपट्टि बरण्डामा बसिरहेका महरालाई आफन्तले के भयो ? भनेर सोधेका थिए । प्रतिउत्तरमा ठट्टा गर्दै महराले भने, ‘फैसला भैसक्यो, अब २० वर्ष जेल बस्नुपर्ने भयो । मेरोविरुद्ध थाहा पाइहाल्नुभएको छ नि ।’

कालो ज्याकेट र ढाका टोपीमा उपस्थित भएका महरा हँसिलो अनुहारमा थिए । उनले आफन्त र कानुन व्यवसायीसँग ठट्यौली शैलीमा थपे, ‘नछुटे पनि केही हुँदैन । डिल्लीबजार कारागार घर भैसक्यो । आज ३ महिना १७ दिन भइसक्यो त ।’

जिल्ला अदालत काठमाडौंको सुरुको आदेशपछि आँखामा आँसु निकालेका महरा जिल्ला अदालतमा अन्तिम बहसका क्रममा भने हँसिलो अनुहारमा उपस्थित भएका थिए । अदालतबाट कारागारतर्फ जानेक्रममा पनि उनले सबैलाई हात हल्याए ।

महरा प्रकरणमा जिल्ला अदालतले मुद्दा हेर्दाहेर्दैमा राखेकाले अब भोलि मात्र अन्तिम फैसला आउने भएको छ । न्यायाधीश अम्बरराज पौडेलको इजलासमा पक्ष विपक्षका कानुन व्यवसायीले आइतबार अन्तिम बहस गरेका थिए ।

महरा प्रकरण : करणी उद्योगको मुद्दा हेर्दाहेर्दैमा, भोलि अन्तिम फैसला
महराविरुद्ध सरकारी वकिलले र महराको पक्षमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, भीमार्जुन आचार्य, शेरबहादुर केसी, डा. दिनमणि पोखरेल, कृष्ण सापकोटा, सविता भण्डारी, लव मैनाली, मुरारी सापकोटालगायतले बहस गरेका थिए ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा महरा पक्राउ परेका हुन् । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगे पनि उच्च अदालत पाटनले एक महिनाभित्रै मुद्दाको टुंगो लगाउन आदेश दिएर जिल्ला अदालतको निर्णयलाई सदर गरेको थियो ।

असोज १९ गते पक्राउ परेका महरा कात्तिक १८ देखि पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान भएका थिए । महरामाथि असोज १२ गते शाहीलाई बलात्कारको प्रयास गरेको आरोप लागेको थियो ।

सुरुमा महराले आफुलाई बलात्कारको प्रयास गरेको आरोप लगाएकी शाहीले त्यसपछि भने निरन्तर आरोप अस्वीकार गर्दै आएकी छन् । उनी महरा निर्दोष रहेको भन्दै जिल्ला र उच्च अदालतसमेत पुगेकी थिइन् ।nagarikkhabarसहयोगमा

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment