रुसी वायुसेनाको सहयोगमा सिरियाली सेनाले मुलुकको इडलिब प्रान्तमा विद्यालय तथा अस्पताल लक्षित हवाई आक्रमणबाट कम्तीमा २० सर्वसाधारण मारिएका छन् । आक्रमणबाट दर्जनौं घाइते भएका छन् ।मंगलबार सिरियाली विद्रोहीको नियन्त्रणमा रहेको इडलिब प्रान्तमा सिरियाली सेनाले हवाई आक्रमण गरेको हो ।
सिरियाली सेनाले इडलिब प्रान्तको राजधानी इडलिब शहर र त्यसआसपासका बस्तीमा व्यापक हवाई आक्रमण गरेको सिरियाली युद्धको अनुगमन गरिरहेको संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ त्यस्तै, इडलिब शहरबाट उत्तरमा रहेको मरात मिस्रिन शहरमा गराइएको हवाई आक्रमणमा १० सर्वसाधारण मारिएका छन् । त्यसबाहेक बिन्निस शहरमा गराइएको हवाई कारवाहीमा आमा र दुई बच्चासहित ४ जनाको ज्यान गएको राइट्सका प्रमुख रामी अब्देलरहमानले जनाएका छन् ।
त्यस्तै, युनियन अफ मेडिकल केयर एण्ड रिलिफ अर्गनाइजेशन नामक अर्को संस्थाले हवाई आक्रमणका क्रममा दुई नर्सरीसहित १० विद्यालय र इडलिब केन्द्रिय अस्पताल क्षतिग्रस्त भएको उल्लेख छ । पछिल्लो समय सिरियाली सेना र विद्रोही पक्षबीच इडलिब प्रान्तका विभिन्न मोर्चामा व्यापक भीडन्त भइरहेको छ । हालैमात्र विद्रोहीको प्रत्याक्रमणमा सिरियाली सेनाले इडलिब शहरबाट केही किलोमिटरको दूरीमा रहेको नयरब शहर गुमाएको थियो ।khabarcenterसहयोगमा