विदेशबाट नेपाल आउने सबैले १४ दिन अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने

होम क्वारेन्टाइनमा कसरी बस्ने ? सरकारले कसरी गर्छ निगरानी ?

३० फागुन, काठमाडौं । आगामी वैशाख १८ सम्म पर्यटक (अनअराइभल) भिसा नदिने र संक्रमण फैलिएका देशहरुबाट नेपाल आउने विदेशीले अनिवार्य १४ दिन ‘सेल्फ क्वारेन्टाइन’ र नेपालीले ‘होम क्वारेन्टाइन’मा बस्नुपर्ने उच्चस्तरीय समन्वय समितिले निर्णय गरेको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वको समितिको बिहीबार बसेको बैठकले कोरोनाको संक्रमण भित्रिन नदिने गर्ने पूर्वतयारीसम्बन्धी १९ बुँदे निर्णय गरेको छ, जसमा मार्च १४ अर्थात १ चैतबाट ‘अनिवार्य होम क्वारेन्टाइन’ पनि सामेल छ ।

जीवाणुसँग सम्भावित सम्पर्कमा गएका स्वस्थ व्यक्तिलाई निश्चित अवधिसम्म छुट्टै राख्ने प्रक्रिया क्वारेन्टाइन हो भने संक्रमित व्यक्तिलाई निश्चित अवधिसम्म छुट्टै राख्ने प्रक्रिया आइसोलेसन हो । त्यसैले आइसोलेसनको जस्तो खतरा क्वारेन्टाइनमा नहुने चिकित्सकहरु बताउँछन् । तर, यदि कुनै पनि व्यक्तिलाई कारोनाको संक्रमण भएको रहेछ भने २ देखि १४ दिन कुनै पनि बेला देखिन सक्छ । त्यसैले संक्रमण फैलिएको क्षेत्रबाट आएका मानिसलाई १४ दिन क्वारेन्टाइनमा राखिन्छ ।

चिकित्सकहरुका अनुसार संक्रमणको सम्भावित व्यक्तिहरु आफैं घर वा निश्चित स्थानमा छुट्टै बस्ने प्रक्रिया ‘सेल्फ क्वारेन्टाइन’ र ‘होम क्वारेन्टाइन’ हो । र, अब संक्रमण फैलिएको देशबाट आएकाहरु गैरनेपाली सेल्फ र नेपाली अनिवार्य होम क्वारेन्टाइनमा बस्नुपर्ने सरकारको निर्णय छ ।

के हो होम क्वारेन्टाइनको मापदण्ड ?

सरकारले सेल्फ वा होम क्वारेन्टाइनमा बस्ने के गर्ने, क नगर्ने भनेको छैन । तर, विश्वभर यसको मापदण्ड एउटै हुन्छ ।

जनस्वास्थ्य विज्ञ समीरमणि दीक्षितका अनुसार होम क्वारेन्टाइनमा बस्नेहरुले अनिवार्यरुपमा सर्जिकल मास्क लगाउनुपर्छ । यसले हाँच्छ्यू गर्दा जीवाणुहरु अन्य व्यक्तिसम्म पुग्न पाउँदैन ।

विश्वव्यापी ट्रेण्ड र मृत्युको तथ्यांक हेर्दा विशेष गरी ६० वर्षमाथि र विभिन्न दीर्घरोगसँग लडिरहेकाहरु कोरोना संक्रमित भएको देखिएको छ । सोही कारण होम क्वारेन्टाइनमा बस्नेहरु दीर्घरोगी र ६० वर्ष कटेका मानिसहरुको नजिक जान नहुने दीक्षित बताउँछन् ।

दीक्षितका अनुसार होम क्वारेन्टाइन बस्नेहरु छुट्टै कोठामा बस्नुपर्छ । शौचालय सकेसम्म छुट्टै प्रयोग गर्दा राम्रो हुन्छ । यो सम्भव नभए शौचालय गरेपछि ‘डिस–इन्फेक्सन स्प्रे’ छर्किनुपर्छ । हात धुने साबुन र स्यानिटाइजर पटक–पटक प्रयोग गरिरहनुपर्छ ।

परिवारका अन्य सदस्यहरु क्वारेन्टाइनमा बसेको मानिस भन्दा ६ फिट टाढा बस्नुपर्छ ।

कोठामा खाना लगिदिने मानिसले मास्क लगाएर जानुपर्छ भने क्वारेन्टाइनमा बस्नेहरुले छुट्टै भाडा प्रयोग गर्नुपर्छ ।

चिकित्सकहरुका अनुसार कोरोना संक्रमण भयो भने सास फेर्न गाह्रो हुने तथा ज्वरो आउने हुन्छ । निरन्तर खोकी लाग्ने तथा खकार आउने हुन सक्छ । क्वारेन्टाइनमा बस्दा निस्केको खकारलाई छुट्टै नष्ट गर्नुपर्छ । साथै कोरोनाको संक्रमण भएको शंका लागेमा चिकित्सकलाई खबर गरेर अस्पताल जानुपर्छ ।

‘क्वारेन्टाइनमा बस्नेले विशेष किसिमको लुगा लगाउनुपर्छ,’ दीक्षित भन्छन्, ‘घर परिवारका अन्य सदस्यहरु पनि सचेत हुनैपर्छ ।’

प्रभावकारी होला त ?

सरकारका अनुसार कोरोनाको संक्रमण फैलिएका देशहरुबाट नेपाल आउने हरेक व्यक्तिलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नै ‘क्वारेन्टाइन फारम’ भराइने छ, जसमा १४ दिन आफैं क्वारेन्टाइनमा बस्छु भनिएको हुन्छ । तर, कतिपयले यसको प्रभावकारितामा प्रश्न उठाएका छन् ।

किनकी हरेक व्यक्ति होम वा सेल्फ क्वारेन्टाइनमा बस्छ भन्ने कुनै ग्यारेन्टी छैन । साथै होम क्यारेण्टाइनमा त बस्यो, तर सचेत भएन भने परिवारका अन्य सदस्यलाई पनि संक्रमण हुन्छ कि भन्ने धेरैको आशंका छ ।

तर, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ भने यस्तो अवस्था नआओस् भन्नकै लागि कोरोना संक्रमण फैलिएको देशबाट फर्कनेहरुलाई सरकारले निगरानी गर्ने बताउँछन् ।

उनका अनुसार विदेशबाट फर्किनेहरुलाई विमानस्थलमै होम क्वारेन्टाइनको मापदण्ड बुझाउने पर्चा दिइन्छ । र, उनीहरुको स्थानीय हेल्थ पोस्टका स्वास्थ्यकर्मीले हरेक दिन निगरानी गर्नेछन् । महानिर्देशक श्रेष्ठ भन्छन्, ‘हामीले संक्रमण फैलिएको देशबाट फर्कनेहरुको तथ्यांक स्थानीय स्वास्थ्य चौकीमा पठाएका छौं ।’

श्रेष्ठका अनुसार स्थानीय स्वास्थ्यकर्मीहरुले प्रत्येक होम क्वारेन्टाइन स्थलमा गएर ज्वरो तथा अन्य लक्षणको रेकर्ड गर्नुका साथै परिवारका अन्य सदस्यहरुलाई काउन्सिलिङ गर्नेछन् । कुनै समस्या वा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखापरेमा तुरुन्त अस्पताल लैजान आग्रह गरिनेछ ।

संक्रमण फैलिएको देशबाट फर्किएकाहरुले होम क्वारेन्टाइनको मापदण्ड पूरा नगरेको भेटिए संक्रमण ऐन २०२० अनुसार कारबाही हुने श्रेष्ठले बताए । ‘हामीले विमानस्थलमा होम क्वारेन्टाइनको मापदण्डको पर्चा दिँदा नै उहाँहरुसँग नियमहरु अनिवार्य पालना गर्छु भनेर सहमति लिएका छौं’ महानिर्देशक श्रेष्ठले भने, ‘त्यसलाई पालना नगर्ने र होम क्वारेन्टाइनमा नबस्नेहरुलाई ६ महिनासम्म सजायँ हुन सक्छ ।’

जहाँसम्म परिवारका अरु सदस्यलाई सर्ने खतरा छ, क्वारेन्टाइनमा बस्ने मानिस इमान्दार भए अस्पतालमा जस्तै घरमा पनि सुरक्षित हुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुन बताउँछन् । होम क्वारेन्टाइन बस्दा परिवारका अन्य सदस्यसँग अन्तरक्रिया नगरी छुट्टै कोठामा बस्ने भएकाले परिवारका अन्य सदस्यलाई संक्रमण नहुने उनको तर्क छ ।

डा. पुनका अनुसार संक्रमण भयो या संक्रमणको आशंका लाग्यो भने मात्र पनि मानिसहरुलाई अस्पतालको आइसोलेसनमा लगिहाल्नुपर्छ । त्यसअघि क्वारेन्टाइनमा बस्ने मानिस अरु जस्तै स्वस्थ हुने भएकाले अरुलाई संक्रमण हुने डर हुन्न ।

डा. पुन भन्छन्, ‘सर्ने डर त संक्रमण पुष्टि भइसकेकाबाट हो, क्वारेन्टाइनमा त संक्रमण नहोस् भनेर सतर्क हुनलाई बस्ने हो ।’श्राेतonlinekhabar

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment