सबै प्रदेशका व्यवसाय चौपट, श्रीअन्तुदेखि शुक्लाफाँटासम्म मन्दी

सबै प्रदेशका व्यवसाय चौपट, श्रीअन्तुदेखि शुक्लाफाँटासम्म मन्दी

काठमाडौं । कोरोनाको त्रासले काठमाडौं उपत्यका बाहिरको व्यापार–व्यवसायसमेत चौपट बन्न थालेको छ । खासगरी पर्यटकहरुको आवागमन हुने स्थानका होटलहरुमा आर्थिक संकट देखिन थालेको छ ।

इलामको कन्याम, धनकुटाको भेडेडार, चितवनको सौराहादेखि पोखरासम्म आइपुग्दा सबै होटल व्यवसायीहरुको एउटै तिन्ता देखिएको छ, अब बैंकको किस्ता कसरी तिर्नु ?

उपत्यका बाहिरको व्यवसायमा देखापरेको मन्दीसँगै कामदारहरुको रोजगारी कटौती हुने संकेतहरु पनि देखा परेका छन् ।

पहिलो शिकार काठमाडौंको पर्यटन

कोरोनाका कारण नेपालमा सीधै र सबैभन्दा बढी प्रभाव परेको मुख्य क्षेत्र हो, पर्यटन । सरकारले सन् २०२० लाई भ्रमण वर्षको रुपमा बनाउन सुरु गरेको एक सातापछि नै चीनमा कोरोनाको संक्रमण तीब्र बनेको थियो ।

त्यसको पहिलो असर काठमाडौंको पर्यटनमा पर्‍याे। चीनसहित विश्वभर नै उत्पन्न त्रासका कारण नेपाल आउने तयारीमा रहेका पर्यटकहरुले बुकिङ रद्ध गरेका छन् । यसले गर्दा फेब्रुअरी र मार्चको पर्यटकी सिजनमा काठमाडौंका होटल खाली भए । होटल मात्रै खाली भएनन, ठमेलजस्तो पर्यटकीय गन्तब्य सुनसान बनेको छ ।

बसन्तपुर, भुत्तक्तपुर, पाटन, नगरकोट लगायतका काठमाडौंका पर्यटकीय चाप हुने क्षेत्रमा विदेशीको अनुहार देख्न पनि मुस्किल हुने अवस्था आएको छ । पर्यटक घटेपछि विभिन्न १६ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले विभिन्न २२ गन्तब्यमा उडान रद्द गरेका छन् ।

झन सरकारको ५५ देशसँग आवातजावत बन्द गर्ने निर्णय लिएपछि अब काठमाडौंको पर्यटन शुन्यमा झर्ने अवस्थामा पुगेको छ । यो सिजनमा आउने चीन र युरोपका पर्यटक नेपाल आउनै नपाउने निश्चित भइसकेको छ ।

भ्रमण वर्ष २०२० को दोस्रो महिनामै पर्यटक आगमन खस्किएको छ । गत वर्ष (२०१९) को पहिलो दुई महिनामा १ लाख २ हजार ४२३ जना पर्यटक नेपाल आएकामा २०२० जनवरी र फेब्रुअरीमा यो यो संख्या १ लाख १ हजार ४०० मा झरेको सरकारी तथ्यांक छ ।

कोरोना प्रभावित मुलुक चीनबाट नेपाल आउने पर्यटक उल्लेख्य घटेका थिए । फेब्रअरी महिनामा महिनामा जम्मा तीन हजार २८५ जना चिनियाँ पर्यटक नेपाल आएका थिए । यीमध्ये पनि अधिकांश कामदार, प्रशासनिक तथा कूटनीतिक कर्मचारी हुन् ।

पर्यटन व्यवसायी सुमन पाण्डे पर्यटनसम्बद्ध धेरैजसो व्यवसाय ठप्प रहेको बताउँछन् । काठमाडौंका प्रमुख पर्यटक स्थलहरु नै अहिले सुनसान बन्न पुगेका छन् ।

काठमाडौंमा विदेशी पर्यटक मात्रै हैन, आन्तरिक पर्यटक पनि त्रासका कारण घुमघाममा निस्कन छाडेपछि होटलहरुको व्यपार ९० प्रतिशतसम्म घटेको छ ।

होटेल संघ नेपाल (हान)का अनुसार अहिले ठूलो होटेलको अक्कुपेन्सी औसत १० प्रतिशतभन्दा पनि कममा झरेको छ । संघकी अध्यक्ष सिर्जना राणा होटेल नाफामा चल्न कम्तिमा पनि औसत ४० प्रतिशत कोठा भरिनुपर्छ ।

औसत ५० प्रतिशतभन्दा माथि अक्कुपेन्सी पुगेपछि राम्रो मुनाफा हुन्छ । तर, कोरोनाका कारण नेपालले लगाएको यात्रा प्रतिवन्ध र अन्य देशमा समेत हुने झन्झटले अहिले अक्कुपेन्सी झण्डै १० प्रतिशतमा झरेको हो ।

अध्यक्ष राणाका अनुसार अहिलेकै अवस्था रहेमा ठूला होटेलहरुले मासिक १ अर्ब ४० करोड रुपैयाँ घाटा बेहोर्छन् । नेपालमा अहिले होटेलहरुले वाषिर्क २५ लाख हाराहारी पर्यटक आउँदासमेत थेग्न सक्ने गरी क्षमता बढाएको दावी व्यवसायीको छ ।

कन्यामदेखि भेडेटारसम्म व्यवसाय सुख्खा

कोरोना भाइरसको विश्वव्यापी महामारी फैलिएपछि प्रदेश १ का पर्यटकीय क्षेत्रहरु सुनसान बनेका छन् । प्रदेश १ का प्रमुख पर्यटकीय गन्तव्य, धनकुटाको भेडेटार, इलामको कन्याम र सुनसरीको कोशीटप्पु सुनसान बनेका हुन् । कोरोना भाइरसको त्रासका कारण पूर्वका तीनवटै चर्चित स्थानमा सञ्चालित होमस्टे र होटलहरु खाली हुन थालेका छन् ।

भारत र चीन दुवै राष्ट्रसँग जोडिएका कारण सुदूरपश्चिम प्रदेश कोरानाको जोखिममा रहेको बताइन्छ । यही जोखिमका कारण कैलाली र कञ्चनपुरका पर्यटकीय क्षेत्रमा पर्यटक घटेका छन्
भेडेटारमा आन्तरिकसँगै भारतबाट पनि ठूलो संख्यामा पर्यटकहरु आउने गरेका थिए । तर, आन्तरिक पर्यटकको समेत घुइँचो लाग्ने भेडेटार एक सातायता सुनसान छ । ‘भेडेटारमा दैनिक ५ हजार हाराहारी आन्तरिक र बाह्य पर्यटक आउँथे,’ होटल एसोसिएशन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राई भन्छन् ‘अहिले सुनसानजस्तै छ ।’

पछिल्लो एक सातायता होटलहरु सुनसान बनेको जानकारी दिँदै अध्यक्ष राईले भने, ‘यहाँका धेरै होटलहरु खाली छन्, भएका बुकिङ पनि रद्द भए’ उनले भने ‘बैंकको किस्ता तिर्न गाह्रो भैसक्यो ।’

कोरोनाका कारण होटल व्यावसायमा मन्दी छाए पनि व्यावसायीहरुलाई बैंकको किस्ता कसरी तिर्ने भन्ने चिन्ता थपिएको छ । ‘यहाँ धेरै होटलहरु बैंकबाट ऋण लिएर खुलेका छन्,’ होटल एसोसिएशन भेडेटारका अध्यक्ष राई भन्छन् ‘ग्राहक छैनन्, बैंकको किस्ता कसरी तिर्नु ?’ विश्वव्यापीरुपमा भएको आपतकालमा व्यावसायीहरुका लागि राज्यले सहुलियत दिनुपर्ने उनको माग छ ।

प्रदेश १ को अर्को पर्यटकीय गन्तव्य कोशीटप्पुमा पनि पर्यटकको संख्या घटेको छ । यहाँ हात्ती सफारी र अर्ना हेर्नका लागि आन्तरिक तथा बाह्य पर्यटकहरु आउँथे । तर, पछिल्लो केही दिनयता पर्यटकहरु घटेका छन् ।

‘बिदाको समयमा ५ सयसम्म पर्यटक आउँथे,’ होटल व्यावसायी सुभास भुजेल भन्छन् ‘अहिले पर्यटकहरु छिटफुट मात्र देखिन्छन् ।’ आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि खुलेका होमस्टेहरु पनि खाली हुन थालेको भुजेलले बताए ।

चियाको राजधानी भनेर चिनिने इलामको हालत पनि उस्तै छ । इलामको कन्याममा पर्यटकको संख्या घटेको छ । श्रीअन्तुमा सूर्याेदय हेर्न आउनेहरुको संख्या ह्वातै घटेको होटल व्यावसायी हरी गुरुङले अनलाइनबरलाई जानकारी दिए । पर्यटक आउने सिजनमा कोरोनाको प्रभावले त्रसित बनाएको गुरुङ बताउँछन् ।
भारतले पूर्वी नेपालको पशुपतिनगरको नाकासमेत बन्द गरेपछि आन्तरिक तथा बाह्य पर्यटकलाई ठूलो प्रभाव परेको छ । ‘इलाम हुँदै दार्जीलिङसम्म जाने पर्यटकको संख्या पहिले प्रशस्तै थियो’ होटल कन्याम हिल कटेजका सञ्चालक राज गिरी भन्छन् ‘पर्यटक नआएपछि कन्याममा आउने व्यापारीहरु पनि घटेका छन् ।’

सामान्य अवस्थामा कन्याममा यतिबेला पिकनिक खाने आन्तरिक तथा बाह्य पर्यटकहरुको भिड हुन्थ्यो । तर, पछिल्लो समय सुनसान छ । ‘कोरोनाको त्रासका कारण अन्य क्षेत्रमा पनि मन्दी छ ।’ गिरी भन्छन् ‘व्यापार नभएपछि आम्दानी हुँदैन, आम्दानी नभए घुम्ने कुरा पनि आउँदैन ।

श्राेत onlinekendra

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment