कपिलवस्तु । कमाउन विदेश गएका श्रीमान मारिएको खबर आयो, शव आएन
शुद्धोधन गाउँपालिका–१ की सजरु निशा २३ वर्षकै उमेरमा विधवा बन्नुभयो ।
कमाउन गएका श्रीमानको साउदीमै हत्या भएपछि सजरुका जीवनको रङ पखालियो ।
खुसी ल्याउन विदेश गएका श्रीमान सजरु र छोराछोरीका खुसी पनि सँगै लिएरै अस्ताए ।
कसैले मारिदियो भन्ने खबर सजरुको घरसम्म आइपुग्यो, तर शव आएन ।
सजरु र मोहम्मदबीच दिनहुँ कुराकानी हुन्थ्यो ।
बालबच्चा र घर व्यवहारका बारेमा सोधिरहनुहुन्थ्यो मोहम्मदले ।
तर आफ्ना बारेमा नराम्रो कहिल्यै केही भन्नुभएको थिएन ।
श्रीमानले समस्या र अप्ठेराका बारेमा नबताएपछि सजरुलाई पनि विदेशमा राम्रै होला भन्ने लाग्थ्यो ।
तर एक्कासी हत्या भएको खबर भने सजरुलाई सपना झैं लाग्यो ।
‘म त बजार गएको थिएँ, घरबाट फोन गरेर खबर सुनाए, त्यो दिन उसले फोन पनि गरेको थिएन, बजारबाट कार्ड ल्याएर फोन गर्दा पनि लागेन,’ सजरुले त्यो दिन सम्झनुभयो ।
साउदीमै रहेका जेठाजुले मोहम्मदको हत्या भएको खबर गरेका थिए ।
‘मलाई त पत्यार लागेको थिएन तर पछि जेठाजुले नै सनाखत गरेको भनेपछि पत्याएँ,’ सजरुले भन्नुभयो ।
सजरुका श्रीमान् कपिलबस्तु हुँदा क्रिकेट खेल्न रुचाउँथे । फुर्सदको दिन विदेशमा पनि सबै साथी मिलेर क्रिकेट खेल्थे ।
त्यही रहरले नै सजरुका श्रीमानको ज्यान लियो ।
‘खेल्दा साथीहरुबीचमा झगडा भएको रे, त्यहीबेला बंगालीहरुले कुटेर मारिदिएछन्,’ सजरुले श्रीमान्को मृत्युको कारण खुलाउनुभयो ।
खेल्दा खेलाँचीमै श्रीमानको ज्यान गएको खबर सुनाउँदा सजरुका हातखुट्टा काँपिरहेका थिए ।
साउदी जान्छु भन्दा नराम्रो हुने हो कि भन्ने लागेको थियो सजरुलाई ।
किनकी मोहम्मद कतारबाट पनि काम राम्रो नभएरै फर्किनुभएको थियो ।
गाडी चलाउन कतार पुगेका मोहम्मद ६ महिनामै फर्किनुभएको थियो ।
कतारबाट फर्किएको केही समयमै वाइरिङको काममा साउदी जानुभयो ।
तर साउदीको पहिलो यात्रा कतारको भन्दा राम्रो भएन १० महिनामै फर्किनु पर्यो ।
दुई पटक नराम्रो काममा पर्दा पनि मोहम्मदले विदेश जाने सोच त्याग्न सक्नुभएन ।
फेरि ड्राइभर भिसामा साउदी पुग्नुभयो तेस्रो यात्रामा भने मोहम्मदले भनेकै काम पाउनुभएको थियो ।
काम र कमाइ मिलेपनि गरिखाने भाग्य भने मिलेको रहेनछ मोहम्मदलाई ।
उतै सदगत
श्रीमानको सात समुद्र पारि भएकै बेला हत्या भयो के भएर हत्या भयो ? कसरी भयो भन्ने कुरा प्रष्ट भएकै थिएन
त्यसमाथि सजरुले अन्तिम पटक श्रीमानको अनुहार हेर्न पनि पाउनुभएन ।
परिवारले मुस्लिम धर्म अनुसार मोहम्मदको उतै सदगत गर्ने निर्णय गर्यो ।
‘हाम्रो धर्म अनुसार साउदीलाई पवित्र मान्ने भएकाले शव उतै राख्ने कुरो भयो, सबै जनाले त्यसै भने मैले के भन्नु, चुपचाप बसें, मलाई त घरमै ल्याउन मन थियो नि’ सजरुले मसिनो स्वरमा भन्नुभयो ।
सबैजनाले साउदीमै सदगत गर्ने भनेपछि अन्तिम पटक श्रीमानको अनुहार हेर्ने इच्छा पनि पूरा भएनन् ।
घरमै शव ल्याउने सजरुका इच्छा परिवारको निर्णय विपरीत मुखबाट बाहिर नै निस्किएनन् ।
साउदीमै रहेका आफन्तले मोहम्मदको शव तीन महिनापछि उतै सदगत गरिदिए ।
पवित्र ठाउँमा श्रीमानको अन्तिम संस्कार भएको ठिकै हो भन्ने लाग्यो उहाँलाई । तर श्रीमतीको मन न हो ।
मुख देख्न पाइनँ भनेर सजरुको मन पोलिरहन्छ ।
‘उता पनि शव हेर्न दिएनछ, कस्तो थियो, कहाँ हानेर मारिदियो होला भन्ने लागिरहन्छ, मलाई त केही थाहा छैन,’ सजरु भन्नुहुन्छ, ‘मलाई त आफूले नदेखेर होला अझैपनि आइहाल्छन् कि झैं लाग्छ ।’
सजरुसँग श्रीमानको फोटो पनि छैन ‘फोटो हेरेर रुन्छे भनेर सासुससुराले फोटो सबै लुकाइदिए,’ सजरु भन्नुहुन्छ ।
फोटो लुकाइदिए पनि सजरु र उहाँका छोरीहरुका आँखामा बुवाको तस्बिर छ ।
छोरीहरुले निदाउनुअघि बुवाकै बारेमा कुरा गर्छन् ।
‘हाम्रो बुवा मोटो थियो भन्छन्, दिनकै सम्झन्छन्, जेठीले त बुवा बित्यो भन्ने थाहा पाएकी छ, त्यसैले होला हाम्रो बुवा त आउँदैन भन्छे,’ सजरु सुनाउनुहुन्छ ।
छोरीहरु काखैमा राखेर श्रीमानका बारेमा बताइरहेकी सजरुका आँसु छोराछोरीका अगाडि अडिकै थिएनन् । तर सुत्ने बेलामा छोराछोरीले बुवाका कुरा गर्दा भने सजरु रुनुहुन्न ।
‘बुवा नभएपनि म छु, तिमीहरुलाई पढाउँछु भन्छु, तर म उनीहरुको अगाडि रुँदिन,’ छोराछोरीका अगाडि नरुने सजरुलाई आँसु लुकाउन गाह्रो परिरहेको थियो ।
उहाँका तीन छोरी छन् । जेठी छ वर्षकी, माइली पाँच र कान्छी चार वर्षकी भइन् ।
मजदुरी गरेर पढाउन र घर चलाउन गाह्रो
तीनै जनालाई राम्रोसँग पढाउने सजरुको योजना छ । पढाउने आँट बटुले पनि छोराछोरीले भने पढेका छैनन् ।
घर नजिकैको स्कुल जान्छन् । तर जाने आउने मात्रै हुन्छ ।
सजरुलाई छोरीहरुलाई राम्रो स्कुल पढाउने चाहाना छ ‘५० हजार रुँपैयाँ जम्मा भएको थियो, परिवार(श्रीमान्) बितेपछि त्यो पैसा त सक्किहाल्यो, अब कसरी गर्नु, मलाई त केही थाहा छैन,’ सजरुले भन्नुभयो ।
सजरुलाई बेलाबेलामा सासुससुराले तरकारी किनिदिन्छन् बिरामी परेका बेला सहयोग गर्छन ।
तर घरमूली नै नुहँदा सजरुलाई अरुको सहयोगले मात्र सधैभरी पुग्दैन भनेर मन पोलिरहन्छ ।
कलिलै उमेरमा विधवा हुनु अनि श्रीमानको मुख पनि देख्न नपाउनुको पीडाबाट माथि उठ्न सक्नुभएको छैन ।
पीडामा डुवेकी सजरुका भोलीका योजना छैनन् । भन्नुहुन्छ, ‘मजदुरी गर्ने ज्यान केही नहोस् ।’