कोरोनाविरुद्धको खोप भित्र्याउन निजी क्षेत्रलाई पनि अनुमति

कोरोनाविरुद्धको खोप भित्र्याउन निजी क्षेत्रलाई पनि अनुमति

काठमाडौँ, २ चैत । सरकारले विदेशबाट कोरोना भाइरसविरुद्धको खोप (भ्याक्सिन) भित्र्याउन निजी क्षेत्रलाई पनि अनुमति दिने भएको छ ।

पछिल्लो समय सरकारले दोस्रो चरणको १० लाख डोज खोप भित्र्याउन ढिलाइ गरिरहेको अवस्थामा औषधि व्यवस्था विभागले निजी क्षेत्रलाई पनि खोप आयात गर्न दिने जनाएको हो ।

विभागले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै उक्त खोपको प्रयोग तथा आयात गर्न अनुमति लिन इच्छुक उत्पादक, कम्पनी, आधिकारिक आयातकर्ता वा उत्पादकले तोकेको आधिकारिक बिक्रेतालाई आवेदन दन भनेको छ । सूचना जारी भएको मितिले ७ दिनभित्र औषधि वा खोपको आपतकालीन प्रयोगसम्बन्धी संहिता २०७७ को नियमभित्र रहेर आवश्यक कागजातसहित आवेदन गर्न आह्वान गरिएको छ ।

आवेदन दिन चाहनेले खोपको एक्स फ्याक्ट्री मूल्य, ढुवानी, भण्डारण, सम्बन्धित मुलुकको कर, सेवा शुल्कसमेत विश्लेषण गरी मुनाफा १० प्रतिशतभन्दा बढी नहुनेगरी विवरण पेश गर्नुपर्नेछ ।

हाल नेपालमा कोरोना खोप प्रयोगका लागि विभागले चीन र भारतका गरी दुई कम्पनीका उत्पादनलाई अनुमति दिएको छ । भारतको सेरम इनस्टिच्युटबाट उत्पादित कोभिशिल्ड र चीनको सिनोफार्मले उत्पादन गरेको खोप नेपालमा आम प्रयोगका लागि अनुमति दिइएको छ । निजी क्षेत्रबाट आयात गर्न चाहनेले यी दुई कम्पनीका खोप भित्र्याउन सक्नेछन् । यसका साथै विश्व स्वास्थ्य संगठनले अनुमति दिएका र सूचीकृत गरेका अन्य कम्पनीका खोप समेत आयात गर्न सक्ने सूचनामा जनाइएको छ ।

हालसम्म भारतले अनुदानमा दिएको १० लाख कोभिशिल्ड खोपसहित सरकारले करिब २३ लाख डोज खोप मात्र भित्र्याउन सकिएको छ । सेरम इनस्टिच्युटले नेपाललाइ २० लाख डाेज खाेप दिने भने पनि १० लाख डाेज मात्र उपलब्ध गराएकाे र बाँकी १० लाख डाेज तत्काल दिन नसक्ने बताएपछि निजी क्षेत्रलाइ खाेप भित्र्याउन अनुमति दिन लागिएकाे हाे ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment