एचडीयू जडान गर्ने सरकारी योजना अपूरै

अस्पताल भर्ना भएका ९० प्रतिशतलाई अक्सिजन दिनुपर्ने अवस्था रहेको चिकित्सक बताउँछन्, तर अक्सिजन चाहिने संक्रमितका लागि एचडीयू जडान गर्ने योजना राजधानीकै अस्पतालमा पूरा भएन

काठमाडौँ — प्रमुख अस्पतालहरूमा कोरोनाका जटिल बिरामी थपिन थालेपछि बेड अभाव हुन थालेको छ । अक्सिजन चाहिने बिरामी बढिरहेका छन् । तर अक्सिजन चाहिने संक्रमितलाई उपचार गर्न सकिने एचडीयू (हाई डिपेन्डेन्सी युनिट) जडान गर्ने सरकारी योजना भने अपूरै छ ।

राजधानीकै वीर, पाटन र त्रिवि शिक्षण अस्पतालमा सरकारको योजना पूरा भएको छैन । संक्रमित भएर अस्पताल भर्ना भएका ९० प्रतिशतभन्दा बढीलाई अक्सिजन दिनुपर्ने अवस्था आएको चिकित्सकहरू बताउँछन् ।

संक्रमितले आईसीयू पाउन छाडेपछि गत कात्तिक पहिलो साता सरकारले ६ हजार एचडीयू बनाउने घोषणा गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कात्तिक ६ को प्रेस बिफ्रिङमा काठमाडौं उपत्यकाको त्रिवि शिक्षण, पाटन र वीर अस्पतालमा एक सय बेडको एचडीयू व्यवस्था हुने बताएका थिए । एचडीयूका लागि ४ अर्ब २५ करोड २७ लाख २० हजार रुपैयाँ विनियोजन गरेर पठाइसकेको पनि उनको भनाइ थियो ।

पाटन अस्पतालका निर्देशक डा. रवि शाक्यले नयाँ एचडीयू थप नभएको बताए । ‘हाम्रोमा पहिला नै १० बेडको एचडीयू थियो, मन्त्रालयले बजेट दिन्छु थप गर्नु भनेको थियो,’ उनले भने, ‘कोरोना कम भएकाले केही गरेनौं । अब थप गर्ने विषयमा छलफल भइरहेको छ ।’ अस्पतालमा अहिले २१ वटा आईसीयू बेड छन् ।

सरकारीबाहेक निजी अस्पतालमा पनि सरकारले एचडीयू बनाउने भनेको थियो । एक सय एचडीयूको व्यवस्था गर्ने भनिएको त्रिवि शिक्षण अस्पतालमा ५० बेडमात्रै तयार छ । अस्पतालका कोभिड व्यवस्थापन समिति संयोजक एवं वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दासले थप ५० बेडको ठेक्का पाएका सप्लायर्समध्ये केही सामान दिन नसक्ने भन्दै पन्छिएको र केहीको मुद्दा परेकाले ढिलाइ भएको बताए । हाल कोभिडका लागि छुट्याइएका ५० बेडमा २/३ वटा बेडबाहेक सबै भरिएको उनले जानकारी दिए । वीर अस्पतालका कोभिड फोकल पर्सन डा. अच्युत कार्कीले एचडीयू बेडका लागि उपकरण र बजेट पाएपछि २५ बेड चलाइरहेको बताए । ‘संक्रमित बढेपछि हाल ननकोभिड वार्डमा भर्ना गर्न थालेका छौं,’ उनले भने ।

थापाथलीस्थित प्रसूति गृहमा जनशक्ति अभाव भएपछि जडान भएको एचडीयू सञ्चालनमा आउन सकेको छैन । एक साताभित्र जनशक्ति व्यवस्थापन गर्ने निर्देशक डा. संगीता मिश्राले बताइन् । बानेश्वरस्थित सिभिल अस्पतालमा २५ बेडको एचडीयूको उपकरण र बेड मन्त्रालयले खरिद गरेर उपलब्ध गराएको थियो । कोरोना संक्रमित कम भएपछि मनिटर लगाएका सामान जनरल बेडमा जडान गरिएको डा. दिनेशकुमार लम्सालले बताए ।

प्रदेशका अस्पतालमा पनि ५० बेडका दरले एचडीयू बनाउने सरकारी घोषणा थियो । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले देशभर कति एचडीयू बने भन्ने विवरण आइनसकेको बताए । तत्काललाई ८ सय बनाइसक्ने भने पनि त्यसलाई थपेर १ हजारसम्म पुर्‍याउने लक्ष्य रहेको उनको भनाइ छ । ‘प्रगतिका आधारमा पैसा पठाउने भनेका छौं । धेरैले काम अघि बढाइसकेका छन्,’ उनले भने । उनका अनुसार १ हजारमध्ये २ सय बेडचाहिँ निजी क्षेत्र तथा सरकारी क्षेत्रमा पहिले भएका बेडहरूको व्यवस्थापन गरेर अपग्रेड गर्ने योजना छ । लगभग ५० प्रतिशत काठमाडौंलाई केन्द्रित गरेर बनाइने उनले बताए ।

आईसीयू बेड भरिँदै

शुक्रबारसम्म देशभर १ सय ७३ जना आईसीयू र ५७ जना संक्रमित भेन्टिलेटरमा छन् । १ हजार १ सय ८० आईसीयू र ५ सय १२ वटा भेन्टिलेटरमात्रै उपलब्ध रहेको मन्त्रालयको तथ्यांकले देखाउँछ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बिरामी राख्ने ठाउँ न्यून रहेको अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा. अनुप बाँस्तोलाले बताए । ‘आईसीयू र भेन्टिलेटरका लागि फोन आइराख्छ, वार्डबाट आईसीयूमा बिरामी सार्ने स्थिति छ,’ उनले भने, ‘रिफर गर्न अरू अस्पतालमा पनि बेड छैन । हामी एकदमै डरलाग्दो अवस्थामा छौं ।’

नेपालगन्जस्थित भेरी अस्पतालमा १ सय ४२ बेड कोभिड–१९ का बिरामीका लागि छुट्याइएको छ । हाल सबै बेड भरिइसकेका छन् । अस्पतालका प्रमुख डा. प्रकाश थापाले १ सय ६३ जना उपचाररत रहेको बताए । १ सय ४२ बेडको आइसोलेसन वार्ड पनि बिरामीले भरिएका छन् । ४० वटै आईसीयू बेड र भेन्टिलेटर पनि खाली छैनन् । अक्सिजन चाहिने बिरामीलाई उपचारका लागि अन्य अस्पतालसँग समन्वय गरिरहेको डा. थापाले जानकारी दिए । यस्तै, अस्पतालमा १५ वटा भेन्टिलेटर रहेकामा ६ वटामा बिरामी भर्ना छन् । ‘हामीसँग ५० एचडीयू बेड छन्, ३६ बेडका लागि सरकारबाट सामग्री तथा बजेट प्राप्त भएको छ,’ उनले भने, ‘संक्रमितका लागि २ सय बेडसम्म पुर्‍याउने लक्ष्य छ ।’

बाँकेमा हरेक दिन ३ सयदेखि ४ सय बिरामी थपिइरहेकाले अवस्था नियन्त्रण बाहिर गइरहेको उनको भनाइ छ । भेरी अस्पतालले बिरामी थेग्न नसकेपछि कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा बेड थप्ने काम भइरहेको छ । भेरीमा गम्भीर प्रकृतिका बिरामी आए पनि राख्ने ठाउँ नहुने भएपछि शुक्रबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले मेडिकल कलेज कोहलपुरमा २ सय बेड सञ्चालन गर्ने निर्णय गरेको छ ।

वीरगन्जस्थित नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले ३४ वटा एचडीयू बेड सञ्चालनमा रहेको जनाए । ८० क्षमताको बेड एक साताभित्र थप्ने गरी काम अघि बढाएको उनको भनाइ छ । ‘१ सय ५० बेडको फुल फ्लेजको कोभिड एचडीयू र आईसीयू चलाउने प्रयास गरिराखेका छौं,’ उनले भने, ‘बिरामी एकदमै धेरै बढेका छन् । विभिन्न ठाउँबाट रिफर भएर आउँछन् ।’ ४२ बेड रहेकामा अस्पतालका ३२ बेड भरिएका छन् ।

सुदूरपश्चिम प्रदेशमा पनि बेडको अभाव देखिन थालेको छ । सेती प्रादेशिक अस्पतालअन्तर्गत ५० शय्याको कोरोना अस्पतालमा बिहीबार ३७ जना संक्रमित उपचाररत रहेकामा अधिकांशको अवस्था जटिल रहेको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए । कर्णालीमा भने एउटा पनि एचडीयू नरहेको मन्त्रालय स्रोतले बतायो ।

मन्त्रालयले थाल्यो विवरण संकलन

कोरोना संक्रमितको संख्या दैनिक २ हजार ५ सयभन्दा बढी हुन थालेपछि भने मन्त्रालयले एचडीयूको प्रगति संकलन थालेको छ । मन्त्रालय स्रोतका अनुसार काठमाडौं उपत्यकासहित सातै प्रदेशमा ५ सय ९ वटामात्रै एचडीयू बनेका छन् । प्रदेश १ मा १ सय ३१, प्रदेश २ मा ५४, वाग्मती प्रदेशमा १ सय ८६, गण्डकीमा २५, लुम्बिनीमा ९२, सुदूरपश्चिममा २१ वटा एचडीयू बनेको पाइएको हो ।

हरेक प्रदेशमा कम्तीमा २ सय बेडको एचडीयू बनाउने गरी मन्त्रालयले अस्पतालसमेत घोषणा गरेको थियो । उपत्यकाबाहिरका २१ अस्पतालमा २५/२५ बेडको एचडीयू हुने मन्त्रालयले घोषणा गरेको थियो । २५ बेडको एचडीयू संरचनाका लागि ३ करोड १२ लाख ७० हजार रुपैयाँ लाग्ने अनुमान गरेर बजेट उपलब्ध गराउने मन्त्रालयले निर्णय गरेको थियो । संक्रमितको संख्या बढेपछि तत्काल एचडीयू व्यवस्थापन गर्न निर्देशन दिइएको छ ।

कीर्तिपुरस्थित आयुर्वेद तालिम केन्द्रमा एचडीयूको अवस्था बुझ्न मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनीसहितको टोली चार दिनअघि कीर्तिपुर पुगेको थियो । उनीहरूले जनशक्ति व्यवस्थापन गरी तत्काल एचडीयू सञ्चालन गर्न निर्देशन दिएका छन् । त्यहाँ उपकरण ल्याए पनि तयार हुन बाँकी छ । ‘संक्रमित बढेपछि जतिसक्दो चाँडो काम गर्न अस्पतालहरूलाई निर्देशन दिइसकेका छौं,’ मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘धेरैलाई पैसासमेत पठाइसकेको छ । सबैले काम हुँदै छ भनेर जवाफ दिएका छन् ।’ मन्त्रालयले एचडीयू राख्ने योजनालाई प्रगतिका आधारमा मात्रै भुक्तानी दिने निर्णय गरेको उनले बताए । ‘एचडीयूमा बजेटको सुनिश्चितता गरेको चिठी पठाएका थियौं,’ उनले भने, ‘विगतमा बजेट फ्रिज भयो ।’ संक्रमित बढेपछि अस्पताल व्यवस्थापनले पनि एचडीयू राख्न चासो देखाएका छन् ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment